एमयूमा गणित विषय थप

सुर्खेत, २ पुस ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयले यसै शैक्षिकसत्रदेखि थप विषयमा पनि अध्यापन गराउने भएको छ । स्नातक तहमा शिक्षा, मानविकी, व्यवस्थापन, इन्जिनियरि, विज्ञान लगायतका संकाय सञ्चालन गरेको विश्व–विद्यालयले स्नाकोत्तर तहमा शिक्षा संकाय अन्तर्गत गणित विषय थप गरेको हो ।


गणित तथा शिक्षा विषयका विषय समितिका अध्यक्ष जसवीर रोकाका अनुसार कोर्ष निर्माण अन्तिम चरणमा पुगेकाले यही शैक्षिकसत्रदेखि गणित विषयमा अध्ययन हुने बताए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले प्रदेश नम्बर ६ का विद्यार्थीहरूले अध्ययनका लागि बाहिर जानुपर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयलाई शैक्षिक प्राज्ञिक रूपमा स्तरीय बनाइने भन्दै उनले प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्न गोष्ठी, सेमिनार र कार्यशालाहरू भइरहेको बताए । गणित शिक्षाको स्नातकोत्तर तहमा अध्ययन, अध्यापन र अनुसन्धानले यस क्षेत्रमा दक्ष र स्तरीय जनशक्ति उत्पादनमा कोशेढुङ्गा हुने विश्वास उनले व्यक्त गरे ।
निमित्त रजिष्ट्रार एवम् अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक गणेशबहादुर कार्कीले विश्वविद्यालयलाई एक उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सरोकारवालाहरू जिम्मेवारीबोधका साथ लाग्नुपर्ने बताए । अन्य विश्वविद्यालयका भन्दा बढी प्रयोगात्मक शिक्षा प्रणालीमा नयाँ पाठ्यक्रम निर्माण भएकाले गणित विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीका लागि अवसर भएको बताए । गणित विषयका पाठयक्रम निर्माण विज्ञसमेत रहेका त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका गणित शिक्षाका प्राध्यापक प्रा.डा. हरिप्रसाद उपाध्यायले युगानुकूल सिकाइमैत्री र आवश्यकतामा आधारित पाठ्यक्रम निर्माण गरिएको बताए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका गणित शिक्षाका उपप्राध्यापक बेदप्रसाद ढकालले आजको सूचना प्रविधिको उपयोग गरेर पढ्न सकिने र सिकाइ सुनिश्चित गर्ने आधुनिक शिक्षण विधिको प्रयोग गरेर अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मितिः   ३ पुष २०७४, सोमबार १३:२१