‘एक माना चामल दिएर विद्यालय भर्ना भएँ’
नन्दलाल शर्मा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हुन् । शर्मा वि.सं. २०३२ वैशाख १५ गते बुबा ज्योतिखर जैशी र आमा धनसरा जैशीको कोखबाट तत्कालीन साल्म गाविस हालको छेडाघाट नगरपालिकामा जन्मिएका हुन् । सानैदेखि समाजसेवामा रुचि भएका शर्मा विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरे । राजनीतिमा नै आफूलाई समर्पित गरेका शर्माले आफ्नो बाल्यकालको सम्झाना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
दौरा–सुरुवालमा सजिएर प्रधानमन्त्री भएको बाल्यकालको सम्झना अझै पनि छ । कक्षा २ मा पढ्ने बेलामा विद्यालयमा एउटा चेतनामूलक नाटक खेल्ने बेलामा सरले मलाई ‘तिमी प्रधानमन्त्रीको भूमिकामा खेल’ भन्नुभयो । समाज निर्माणको लागि जनताको बीचमा रहेर भाषण गर्नुपर्ने थियो । सबै सरले सिकाउनुभयो ।
मेरो जन्म किसान परिवारमा भएको हो । मेरो बुबाआमा खेतीकिसानी गर्नुहुन्थ्यो । हामी तीन भाइ र तीन बहिनी गरेर ६ भाइबहिनी हौं । घरमा आर्थिक अवस्था धेरै कमजोर थियो । म ५÷६ वर्षको हुँदादेखि नै गोठालो जान थालेको हुँ । सानै उमेरदेखि विद्यालय जान भने पाइन । म आठ वर्ष पुग्ने बेलासम्म विद्यालय गएको थिइनँ । एक पटक गाइगोठालो जाने क्रममा विद्यालय नजिक पुगें । त्यहाँ पढाइ भइरहेको थियो । सरहरूले विद्यार्थीहरूलाई लय मिलाएर क, ख, ग भन्दै पढाउँदै थिए । मैले तीन÷चार दिनसम्म लगातार विद्यालय नजिक गएर त्यो दृश्य हेरिरहन्थें । त्यसले मलाई खुब लोभ्यायो । म पनि यसरी नै पढ्न पाएको भए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसरी हेर्ने क्रममा एक दिन मलाई इन्द्र ज्योति प्राविका शिक्षक डिल्ली थापाले देख्नुभयो र तिमी पनि पढ्न आउ भनेर सल्लाह दिनुभयो । मैले पढ्नको लागि के–के गर्नुपर्छ भनेर उहाँलाई सोधें । त्यसबेलामा कक्षा एकमा नाम लेखाउन पैसा चाहिँदैनथ्यो । उहाँले तिमी भोलिदेखि गाईं गोठालो होइन विद्यालय आऊ म तिम्रो घरमा पनि कुरा गर्छु भन्नुभयो । मैले विद्यालयमा भर्ना हुनका लागि एक रूपैयाँ आफै जोहो गरें र घरबाट एक माना चामल लिएर विद्यालय गएँ । त्यसबेलामा देवीदेउतालाई एक रूपैयाँको डलर पैसा चढाउने चलन थियो । मैले देउतालाई चढाएको एक रूपैयाँ लिएर कक्षा एक मा भर्ना भएको हुँ ।
त्यसभन्दा अगाडी विद्यालय जानुपर्छ भन्ने पनि थाहा थिएन । घरको अवस्था त्यति राम्रो नभएकोले घरबाट पनि जा भनेर नभन्नु भएको होला । त्यसपछि मैले घरको काम बिहान र साँझ गर्ने गरें । त्यसरी समय मिलाएर विद्यालय पढ्न जान्थें । कक्षा दुईमा म दोस्रो भए । पढाइप्रति लगाव धेरै नै थियो । कक्षा तीनमा प्रथम भएँ । त्यसपछि म प्रथम भइरहें । कक्षा पाँचसम्म पढ्दा त विद्यालय पुग्न घरदेखि त्यस्तै एक÷डेढ घण्टा समय लाग्थ्यो । ६ कक्षादेखि पढ्न उतै बस्ने गरी जानुपर्ने बाध्यता आयो । घरबाट सबै खर्च लिएर जानुपर्ने । घरको अवस्था कमजोर थियो । तर पनि पढ्ने ईच्छा धेरै नै थियो । बस्ने ठाउँको समस्या थियो । पहिला गोठको तल्लो तलामा गाईभैंसी बाँध्ने र माथिलो तलामा मानिसहरू बस्ने गर्थे । जनप्रिय माविका शिक्षक गोठमा बस्ने व्यवस्था गरेर मैले त्यहाँ कक्षा आठसम्म पढें । घरमा एक हप्तापछि आउँथ्यौं । खाना खर्च एक हप्ताको लागि लिएर फेरि पढ्न जान्थ्यो । त्यसबेलामा रातीमा पढ्न धेरै नै समस्या थियो । बत्ती नभएर रातीको समयमा पढ्न पाइदैंन्थ्यो । मट्टितेल नपाएने भएको कारण आगो बालेर त्यसैको उज्यालोमा पढ्थ्यौं । मट्टितेल भएको समयमा टुक्की बालेर पढ्थ्यौं ।
कहिलेकाहीं साथीहरूबीच रमाइलो हुन्थ्यो । काफल खान लेकमा जान्थ्यौं । गाइगोठालो जाँदा खेल्थ्यौं । चाडपर्वको बेलामा धेरै नै रमाइलो लाग्थ्यो । बाल्यकालमा मैले दूई वटा चुनौतीलाई समाना गरेको छु । एक पटक काफल खान जाँदा रुख जरैबाट ढलेर झण्डै ज्यान गएन । काफलको बोटमा दुई जना साथी काफल खाँदै थियौं एक्कासी रुख जरैदेखि ढल्यौं । साथीलाई खुट्टामा धेरै चोट लाग्यो । मलाई केही भएन । एक पटक खोलामा गाइगोठाला गएर फर्किदा खोलाले बगायो । गाईगोरु तार्ने बेलामा चिप्लेर खोलामा बगें । पछि साथीहरूले बचाए । त्यसबेलामा त धेरै चोट लागेको थियो ।
मेरो सानैदेखिको रुचि समाजसेवा गर्ने थियो । कसैलाई सयोग गर्नुपर्छ भन्ने भावनाको थियो । विभिन्न चेतनामूलक नाटक खेल्ने, आइपरेको समयमा छिमेकमा सहयोग गर्न तत्तपर हुने गथें । म प्राय सबैसँग घुलमिल हुने गथें । तर सयमलाई व्यवस्थापन गर्न मेरो घरको परिस्थितिले सिकाएको थियो । धेरै अभाव र दुःखदायी थियो बाल्यकाल । घरको काम नगरेसम्म हुँदैन्थ्यो । घरको काम सकेर मात्र पढाइलाई समय दिनुपर्ने हुन्थ्यो । म सानैदेखि घरहरू बनाउने, नाम्लो, दाम्लो बनाउने, डोको बुन्ने गर्थें । म १५ वर्षको हुँदा सानो भान्सा घर बनाएको सम्झना छ । घरको लम्बाइ र चौडाइ राम्रोसँग नमिलेको सम्झना आउँछ ।
समाजिक काममा रुचि भएको कारणले मैले मेरो माइलो बुबाई पञ्चायतकालमा वडा अध्यक्षमा जिताएको छु । म त्यसबेलामा १२ वर्षको थिएँ । गाउँमा सबैलाई चुनाव लागेको थियो । मलाई समाजसेवा प्रति रुचि बढ्दै गएको थियो । चुनावमा उम्मेदवारी दिने दिन म पनि त्यहीं गएको थिएँ । मैले माइला बुबालाई हजुर पनि उम्मेदवारी दिनु भनेर भनें । उहाँले मलाई केही थाहा छैन कसरी दिने म दिन्न भन्नुभयो । पछि मैले धेरै कर गरेपछि उहाँले वडा अध्यक्षमा उम्मेदवारी दिनुभयो । हाम्रो सात नम्बरबाट तीन÷चार जनाले वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको
थियो । सहमतिमा आउन भनेर निर्वाचन समितिले उम्मेदवारहरूलाई केही समय छलफल गर्न दिएको थियो । अरुले माइलो बुबालाई एक्कासी कसरी दिनुभयो भनेर सोधे । उहाँले मलाई केही थाहा छैन यही नन्देले दिनु भनेर दिएको भन्नुभयो । मलाई त्यहाँ सबै जनाले किन दिन लगाएको भने सोध्नुभयो । मैले ‘उहाँ यो गाउँको ज्योतिष र समाजसेवी पनि हुनुहुन्छ । उहाँले समाजको लागि केही गर्न सक्नुहुन्छ भनेर मैले दिन लगाएको’ भनें । अर्को उम्मेदवार सेते खड्का हुुनुहुन्थ्यो । उहाँले ‘बाबुले भनेको कुरा ठीक छ, मैलै हजुरलाई सर्मथन गरें’ भनेर उम्मेदवारी फिर्ता लिनुभयो । त्यसपछि अरुले पनि उम्मेदवारी फिर्ता लिए र माइलाबुबा वडा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो । त्यसपछि मलाई झन् समाजसेवाप्रति रुचि बढ्दै गयो ।
वि.सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरे । अनेरास्ववियुको सदस्य हुँदै पार्टीका विभिन्न सगठनमा आवद्ध भएँ । पार्टीका स्थानीय तहका विभिन्न तहको जिम्मेवारी लिदैं गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ को अध्यक्षमा निर्वाचित भएँ । बाल्यकालमा धेरै चुनौतीहरूलाई समाना गरें । त्यसकारण पनि होला मैले राजनीतिमा पनि चुनौतीहरूलाई समाना गर्दै सबैको साथ र सहयोगले सफल भएको छु ।
साझा बिसौनी संवाददाता ।