‘टार्गेट’ मा शिक्षक र आमा समूह

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ मंसिर ।
निर्वाचनको दिन नजिकिदैं गर्दा उम्मेदवारले शिक्षक र आमा समूहलाई मुख्य टार्गेट (लक्षित) बनाउँदै आफ्नो पक्षमा मत खसाल्ने प्रयास गरेका छन् । मौन अवधिका कारण सोमवार रातीबाट निर्वाचनको प्रचार र खुला रूपमा भेला गर्न नपाएपछि उम्मेदवारले शिक्षक र आमा समूहलाई मुख्य टार्गेट बनाएका हुन् । यतिबेला दलका नेता, कार्यकर्ता र स्वयम् उम्मेदवारहरू नै स्थानीय शिक्षक र आमा समूहका अगुवालाई रिझाउन व्यस्त छन् ।


शिक्षक र आमा समूहलाई रिझाउन सकेमा आफ्नो पक्षमा मत खस्ने आंकलन दलहरूको छ । अधिकांश गाउँमा स्थानीय शिक्षक र आमा समूहले नै मतदातालाई होल्ड गरेकाले उनीहरूमाथि नजर परेको दलहरूको भनाइ छ । गाउँमा शिक्षक र आमा समूहको नेतृत्वले भनेको मतदाताले सहज रूपमा स्वीकार गर्ने भएकाले पनि उम्मेदवारको टार्गेटमा उनीहरू परेका हुन् । खुला प्रचार र सभा गर्न नपाएपछि जिल्लाका सबै उम्मेदवार र दलका नेताहरू मंगलवार दिनभर आन्तरिक भेटघाटमा व्यस्त रहे । यो अवधिमा उम्मेदवारले आफू निकटका शिक्षकलाई टोल र घरदैलोमा परिचालन गरिरहेका छन् । यस्तै गाउँका आमा समूहका अगुवालाई भेट्दै उम्मेदवारहरूले आफ्नो पक्षमा मत खसाल्ने प्रयास जारी राखेका छन् ।
‘गाउँमा शिक्षकको प्रभाव बढी हुन्छ, उम्मेदवारलाई भन्दा स्थानीय शिक्षकलाई जनताले बढी विश्वास गर्छन्’ एमाले सुर्खेतका नेता कविन्द्रकुमार केसी भन्छन्, ‘शिक्षकको आग्रह अधिकांशले मान्छन्, शिक्षकले नै गाउँका मतदाता होल्ड गरेका हुन्छन् । त्यसकारण पनि उम्मेदवारको नजर शिक्षकमाथि परेको हुनसक्छ, शिक्षक र आमा समूहलाई मात्र रिझाउन सकेमा कम्तिमा पाँच प्रतिशत मत तान्न सकिन्छ ।’ शिक्षक र आमा समूहका अगुवा नै गाउँका नेता भएकाले पनि सबैको ध्यान त्यसतर्फ गएको उनको भनाइ छ । दलहरूले मौन अवधिमा गाउँका शिक्षकलाई नै आफ्नो पक्षमा मत तान्नका लागि आन्तरिक रूपमा खटाएका छन् । अर्कोतर्फ आमा समूहका अगुवाहरू पनि उम्मेदवारको पक्षमा सक्रिय भएका छन् ।
वीरेन्द्रनगर–१३ मा रहेको फूलवारी आमा समूहका पदाधिकारीहरूलाई भेट्न मुख्य दलका कार्यकर्ताहरू पटक–पटक पुगे । आफ्नो उम्मेदवारको पक्षमा मत दिन आग्रह गर्दै पुगेका दल र तिनका कार्यकर्ताले आमा समूहलाई विभिन्न आश्वासन पनि दिन भ्याए । आमा समूहका अगुवा रत्नकली सारुले भनिन्, ‘पहिले त कसैले पनि वास्ता गरेनन्, अहिले चुनाव आएपछि नेताहरूको लर्को नै लागेको छ । सबैले भोट हाल्दिनु भनेका छन्, हामी समूहमा धेरै महिलाहरू भएकाले पनि धेरैको आँखा हाम्रो समूहमा परेको छ ।’ स्थानीय महिलाहरूले भने गाउँमा खानेपानी र सडक कालोपत्रे गरिदिने उम्मेदवारलाई मत दिने निर्णय गरेका छन् । तर जिल्लाका उम्मेदवार र दलले आ–आफ्नो पक्षमा मत माग्ने प्रयास छोडेका छैनन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बराहताल गाउँपालिकामा रहेको सिर्जनशील आमा समूहका अगुवालाई पनि मंगलवार दिनभर भ्याइनभ्याइ भयो । उम्मेदवारका स्थानीय प्रतिनिधिहरूले मत आफ्नो पक्षमा पार्न निकै कसरत गरे ।
अखिल नेपाल महिला संघ
(क्रान्तिकारी) का नेतृ हरिमाया शर्मा भन्छिन्, ‘गाउँमा बलियो संगठन भनेकै आमा समूह र महिला समूह हुन्, महिला अगुवा भएको स्थानमा महिला मतदाता प्रभावित हुन सक्छन् । यही कारण पनि उम्मेदवारको नजर यतातर्फ परेको होला, तर अहिलेको अवस्थामा कसैले भन्दैमा समूहका सबै महिलाले मत दिन्छन् भन्ने छैन ।’ गाउँका शिक्षक, आमा समूह, मुखिया र धामीको भनाइ मतदाताले सहज रूपमा स्वीकार गर्ने भएकाले पनि उम्मेदवार र दलहरू उनीहरूमाथि केन्द्रित भएको हुनसक्ने उनको भनाइ छ । प्रतिनिधि सभाका दुई र प्रदेशसभाका चार क्षेत्र रहेको सुर्खेतमा उम्मेदवार र तिनका समर्थकले आन्तरिक रूपमा भेटघाट जारी राखेका छन् । जिल्लाका ग्रामीण क्षेत्रका पुरुष रोजगारीका लागि बाहिर भएका कारण यसपाली महिला मतदाताको संख्या बढी छ । महिलाको मत तान्नका लागि उम्मेदवारले आमा समूहमाथि नजर लगाएका छन् ।
जिल्लामा अहिले पनि दलका स्थानीय कमिटीहरू शिक्षकले नै धानेका छन् । यस्तै आमा समूहका अगुवाहरू पनि दलका स्थानीय कमिटीमा आवद्ध रहेका छन् । गाउँ र टोलमा दुःख सुखमा स्थानीय शिक्षक र आमा समूहले नै साथ दिने गरेका छन् । यसकारण पनि उनीहरूको आग्रहलाई मतदाताले अस्वीकार गर्ने अवस्था छैन ।
यही मनोभावना बुझेका यहाँका उम्मेदवार र दलका कार्यकर्ताहरू मौन अवधिको समयमा शिक्षक र आमा समूहका अगुवालाई प्रभावित बनाएर मत तान्ने रणनीतिमा जुटेका छन् । उम्मेदवार र दलका नेताहरूले व्यक्तिगत रूपमा भेटेर तथा टेलिफोन गर्दै शिक्षक र महिला अगुवाहरूलाई आफूलाई सहयोग गर्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मितिः   २० मंसिर २०७४, बुधबार १५:५०