मतदान गर्न गाउँ फर्कदैं सर्वसाधारण

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ मंसिर ।
भगवतीमाइ गाउँपालिका–३ दैलेखकी ज्वाला रेग्मी मंगलवार बिहानै सुर्खेतबाट दैलेखतर्फ हिँडिन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत रेग्मी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भोट हाल्नका लागि गृहजिल्ला हिँडेकी हुन् । पहिलो पटक हुन लागेको यो निर्वाचनमा मतदान गर्न उनी निकै उत्साही देखिन्छिन् । ‘वर्षौपछि हुन लागेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ जान लागेकी हुँ’ उनले भनिन् ।


भगवतीमाई–२ का १९ वर्षीय माधव शर्मा पनि भोट हाल्नकै लागि भनेर मंगलवार नै सुर्खेतबाट दैलेखतर्फ लागे । उनी पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछन् । पहिलो पटक मतदान गर्न पाउने भएपछि उत्साही बनेका शर्मा भन्छन् ‘म पहिलो पटक मतदान गर्दैछु, त्यसकारण पनि निकै उत्साहित छु । त्यसमाथि आफूले रोजेको व्यक्तिलाई जिताउन मेरो एक मत पनि महŒवपूर्ण हुनसक्छ । त्यसैले गाउँ पुगेर मतदान गर्दैछु ।’ आफ्नो एक भोटकै कारण पनि आफूले रोजेको व्यक्तिको जीत र हारमा निर्णायक भूमिका हुनसक्ने भएकाले भोट हाल्नकै लागि सुर्खेतबाट दैलेख जान लागेको उनले बताए ।
ज्वाला र माधव मात्रै होइन उनीहरूसँगै करिब दुई सय नागरिक भोट हाल्नकै लागि मंगलवार बिहान चार वटा बस रिजर्ब गरेर सुर्खेतबाट दैलेखतर्फ जाँदै गर्दा भेटिए । व्यापार तथा अध्ययनका लागि सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका दैलेखका नागरिक मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्नका लागि गाउँ फर्किएका हुन् । यसरी बस रिजर्ब गरेर मतदानकै लागि गाउँ फर्किनेहरूमध्ये कतिपयका आफन्त नै उम्मेदवार छन् भने कतिपय आफ्नो गाउँ ठाउँको विकास गर्नसक्ने व्यक्तिलाई जिताउनुपर्छ
भनेरै भोट हाल्न जान लागेको बताउँदै थिए । माधव भन्छन्, ‘प्रतिनिधि असल भएन भने गाउँको विकास पनि हुँदैन त्यसैले राम्रो प्रतिनिधि छनौट गर्नका लागि पनि हामीले मतदान गर्नु जरुरी छ । तब मात्रै गाउँको विकास हुन्छ ।’ निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा सुर्खेत स्थायी घर भइ जिल्लादेखि बाहिर रहेका मतदाताहरू सुर्खेत फर्कदैछन् भने सुर्खेतलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ । पेसा, व्यवसाय र अध्ययनको शिलशिलामा सहरमा छिरेका मतदाताहरू आफ्नो नामावली रहेको गाउँटोलमा फर्कन थालेका हुन् । सुर्खेतमा रहँदै आएका दैलेख तथा सुर्खेतकै ग्रामीण क्षेत्रका नागगरिकहरू यतिबेला धमाधम गाउँ फर्कदै छन् ।

प्रकाशित मितिः   २० मंसिर २०७४, बुधबार १५:४८