विद्यार्थीको हातमा कुचो

studentसाझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
जन उच्च मावि वीरेन्द्रनगरका विद्यार्थीहरूले वीरेन्द्रनगर बजारमा सरसफाइ गरेका छन् । उनीहरूले शनिवार मुख्य बजार क्षेत्रमा रहेको फोहोर सफा गरेका हुन् ।
कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थीहरू शनिवार भने हातमा कुचो, बेल्चा र दाँती लिएर सडकमा उत्रिए । सडक र नालामा रहेको फोहोर सफा गरे । त्यतिमात्र होइन, उनीहरूले स्थानीय बासिन्दालाई जथाभावी फोहोर नगर्न आग्रह गरे ।
सुर्खेत उद्योग वाणिज्य संघको पहलमा विद्यार्थीहरू हातमा कुचो लिएर बजारको सरसफाइमा निस्किएका हुन् । केही महिना पहिलादेखि हरेक हप्ताको शनिवार बजार क्षेत्रमा सरसफाइ गर्ने गरिएको छ । यही अभियानमा विद्यार्थीहरूले साथ दिएका हुन् । ‘वीरेन्द्रनगर हाम्रो, स्वच्छ सफा राम्रो’ भन्ने नाराका साथ ८ महिनादेखि निरन्तर हरेक शनिवार बजार सरसफाइ गर्ने अभियान सञ्चालन भइरहेको छ । कक्षा १० मा पढ्ने करिब दुई सय ५० विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक कर्मचारी, उद्योग वाणिज्य संघका पदाधिकारी र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा सरसफाइ गरिएको हो । पिपलचौतारा नजिकै रहेको राम मन्दिरको मुख्य गेट अगाडिबाट सुरु भएको सरसफाइ अभियान वीरेन्द्रचौक, नेताचौक, बीच बजार हुँदै मंगलगढीचौकमा पुगेर समापन भएको हो ।
पिपलचौतारदेखि वीरेन्द्रचौकसम्मका नालामा लामो समयदेखि जम्मा भएको फोहोरको डंगुर निकाल्नुका साथै बजार क्षेत्र आसपासमा थुप्रिएका फोहोर पनि विद्यार्थीहरूले पूर्णरूपमा सफा गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघको संयोजन तथा नेतृत्वमा गत असोज ९ गतेदेखि सुरु भएको सरसफाइ अभियान अन्तर्गत जेठ महिनाको पहिलो शनिवारको सरसफाइको आयोजना गर्ने पहिलो सामुदायिक विद्यालय जन उच्च माविले गरेको हो । विद्यार्थीहरूलाई किताब ज्ञानका साथै सामाजिक कार्यमा प्रेरित गर्नका लागि सरसफाइको नेतृत्व आफूहरूले लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए । सरसफाइ अभियानमा नियमित रूपमा सहभागी हुँदै आएका वडा नागरिक मञ्चका संयोजक माधव भट्टराई विद्यार्थीको कामबाट आफू खुशी भएको बताउँछन् ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:५४