बग्यो दहीखोला बजार

2साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
दैलेख र कालिकोटको सीमानामा रहेको दहीखोलामा पहिरोसँगै आएको बाढीले बजार नै बगाएको छ । भीषण वर्षासँगै पहाडबाट झरेको पहिरोले स्थानीय दहीखोला बजार बगरमा परिणत भएको हो । शुक्रवार साँझ एकाएक असिना पानी बर्सिएपछि दहीखोलामा बाढी आएको थियो । खहरेखोलामा आएको बाढीले बजार बगाउनुको साथै एक जनाको ज्यानसमेत लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिरो र बाढीले बजारमा रहेका दैलेखतर्फका आठ वटा र कालिकोटतर्फका सात वटा घर बगेका छन् । यस्तै पहिरोमा पुरिएर ३५ वर्षीया गीता थापा मगरको ज्यान गएको छ । उनको शव शनिवार सुरक्षाकर्मीले निकालेका हुन् । बजारमा पसेको बाढीसँगै अर्का एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार दैलेख सिंहासैन–९ का रंग विक बाढीसँगै बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।
अत्याधिक वर्षाका कारण बजार भन्दा माथि रहेको लेकबाट झरेको पहिरो र दहीखोलामा आएको बाढीले हेर्दाहेर्दै बजार नै बगाएको हो । बाढीका कारण अहिले बजार बगर बनेको छ । बजारमा व्यवसाय गर्दै आएका स्थानीय व्यापारी गोकर्ण रावतले पहाडबाट खसेको पहिरोसँगै खोलामा आएको बाढी बजारमा पसेको जानकारी दिए । उनले भने, ‘साँझ एकाएक ठूलो पानी प¥यो, माथि लेकबाट झरेको पहिरोले दहीखोला बौलायो । भाग्यले बजारका धेरै जना भाग्न सफल भयौं, तर हामीले हेर्दाहेर्दै बजार बाढीसँगै बग्यो ।’ पहिरोमा छोरी गुमाएकी धनादेवी थापाले भनिन्,‘साँझपख माथि लेकमा पहिरोको ठूलो आवाज आयो, हामी घरबाट निस्केर भाग्यौं । हामीले हेर्दाहेर्दै दैवले छोरी गीतालाई लग्यो, चाहेर पनि बचाउन सकेनौं ।’ बजार नै बगेपछि स्थानीय बासिन्दा विचल्लीमा परेका छन् । सडकमा काम गर्नका लागि पुगेका मजदुर र स्थानीय बासिन्दा गरी एक सय भन्दा बढीले भागेर ज्यान बचाएका छन् । उनीहरू अहिले अलपत्र परेका छन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोका कारण कर्णाली राजमार्गको अधिकांश भागमा सडक पुरिएको छ । जसका कारण शुक्रवारबाट कर्णाली राजमार्गमा यातायात सेवा ठप्प भएको छ । सडकको पहिरो हटाउन थप केही दिन समय लाग्ने प्रहरीको भनाइ छ । यातायात अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लाका लागि छुटेका र जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका दर्जनौं सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि उद्धारमा पनि कठिनाइ भएको छ । मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले एक्कासी आएको बाढी र पहिरोले करोडौंको भौतिक क्षति पुगेको बताए । साँझको समय भएकाले बजार बगेको भए पनि मानिसहरू भाग्न सफल भएको उनले जानकारी दिए । ‘रातको समय भएको भए ठूलो मानवीय क्षति हुने रहेछ’ डीआईजी नेपालले भने, ‘बजारका घरहरू बगेका छन्, हालसम्म
एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी र उद्धारको काम भइरहेको छ ।’ क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कालिकोट र दैलेखबाट प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेका छन् । घटनास्थल पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले खोला सानो भए पनि पहाडबाट ठूलो पहिरो खसेका कारण बजार नै बगेको जानकारी दिए । उनका अनुसार बजारका अधिकांश घरहरू बगेका छन् भने केही घरहरू पहिरोमा पुरिएका छन् । पहिरोमा पुरिएका घरहरूको उत्खनन् गर्ने काम भइरहेको उनको भनाइ छ । यस्तै पहिरोले कर्णाली नदी आधा मिटरसम्म थुनिएको स्थानीयले बताए । यस्तै बाढीले दुई वटा ट्याक्टर र एउटा मोटरसाइकल बगाएको छ । दहीखोलामा आएको बाढीले कर्णाली राजमार्ग सञ्चालनमा आएपछि स्थापित भएको उक्त बजार बगाएको हो । बजार बगेपछि करोडौंको नोक्सान भएको स्थानीयले बताएका छन् । यता प्रहरीले भने क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । अग्लो पहाडबाट झरेको पहिरोसँगै दहीखोलामा आएको बाढीले बजारका केही घरहरू बगाएर कर्णाली नदीमा मिसाएको छ भने केही घरहरू पहिरोमा पुरिएका छन् । उद्धारको काम जारी रहेकाले क्षतिको पूर्ण
विवरण आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:५९