छब्बीस वर्षदेखि चुनावी नारा बनेको सडकको विजोग
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ मंसिर ।
पञ्चपुरी ४ का ६९ वर्षीय पदम सुनारलाई अहिले पनि सम्झना छ, २०४८ को आम निर्वाचनको बेला भोट माग्दै आएका सबैजसो उम्मेदवारहरूले भनेका थिए, ‘बड्डिचौरदेखि गुटु जोड्ने बाटो पक्की बनाउँछौं, त्यसलाई डोटीसम्म जोड्छौं ।’
उक्त चुनावमा दुई वटा मात्रै निर्वाचन क्षेत्र रहेको सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट १६ हजार दुई सय ७४ मत प्राप्त गरी नेपाली कांग्रेसका शिवराज जोशी विजयी भए । त्यस लगत्तै २०४९ सालमा उनी यातायात सहायक मन्त्री समेत भए । त्यतिबेला पदम सुनारलाई लाग्यो, ‘आफूले दिएको मत सदुपयोग हुनेभयो, बड्डिचौर–गुटु सडक बन्नेभयो ।’ तर २६ वर्ष बितिसके उक्त सडकको अवस्था अहिले पनि कन्तविजोग छ । सडक कालोपत्रे हुने त परको कुरा सामान्य खाल्डाखुल्डी समेत अहिलेसम्म पुरिएका छैनन् । ‘सडक बनाउँछौं भनेर भोट माग्ने नेता नै यातायात मन्त्री भए तर सडक जस्ताको त्यस्तै छ’ सुनारले भने, ‘केही दिनअघि दम बढेर उपचारका लागि गाडी चढेर वीरेन्द्रनगर गएँ, झण्डै परान गएन बाटोमै ।’ यो सडकमा गाडी चढेर यात्रा गर्नु भनेको सुविधाभन्दा सास्ती हुने गरेको उनको अनुभव छ ।
उनै शिवराज जोशी त्यसपछि २०५१ र २०५६ मा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भए । त्यति मात्र होइन २०५५ मा जनसंख्या तथा वातावरण राज्यमन्त्री र २०५७ मा सूचना तथा सञ्चार राज्यमन्त्री समेत भए । तर चुनावअघि प्रतिबद्धता गरे अनुसार न सडक सुधार गर्न पहल गरे न विद्युतीकरण । पटक–पटक निर्वाचित भएर पनि आफ्नो क्षेत्रका लागि कुनै काम नगरेको भन्दै असन्तुष्ट बनेका मतदाताले २०६४ को संविधानसभा निर्वाचनमा भने जोशीलाई पराजय चखाए । सुनार भन्छन्, ‘पटक–पटक अवसर पाउँदा पनि काम नगर्नेलाई जनताले नै सजाए दिए ।’
कुरा शिवराज जोशीको मात्रै पनि होइन । तीन पटक निर्वाचित जोशी चौथो पटक पराजित हुँदा २०६४ मा नेकपा माओवादीका नरबहादुर विष्ट निर्वाचित भए । उनको चुनावी एजेण्डाको प्राथमिकतामा पनि सोही सडक थियो । जसलाई कालोपत्रे गर्ने भनिएको थियो । उनले आफू सांसद रहँदासम्म सडक कालोपत्रे गराउन सकेनन् २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए । ०७० मा विजयी नेपाली कांग्रेसका तप्तबहादुर विष्टको चुनावी नारामा पनि बड्डिचौर–गुटु सडक कालोपत्रे गर्ने योजना छुटेन । तर चार वर्ष बितिसक्दा पनि सडकको न स्तरोन्नती गरियो न कालोपत्रे ।
२०४८ यताका हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारको चुनावी नारा बन्ने गरेको बड्डिचौर–गुटु सडकको अवस्था अहिले पनि विजोगपूर्ण छ । पश्चिम सुर्खेतलाई जोड्ने प्रमुख सडक भएर पनि सधैं बेवास्ताको शिकार हुँदै आएको छ । जसको कारण त्यस क्षेत्रका
नागरिकले झण्डै तीन दशकदेखि सास्ती व्यहोर्दै आएका छन् । डोटीसहित पश्चिम सुर्खेतलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख सडक मानिएको बड्डिचौर–गुटु–बेनीघाट सडक वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छ । सडक घाम लागे धुलाम्मे र पानी परे हिलाम्य हुन्छ । अनगिन्ती खाल्डाखुल्डी छन् । कतिपय स्थानमा सडक निकै साँघुरो छ । सवारीसाधन सञ्चालन हुँदा उड्ने धुलोले सडक आसपासका घरभरि धुलो भरिन्छ । पश्चिम सुर्खेतका तीन वटा स्थानीय तहका नागरिकले आफ्नो जीवनस्तर उकास्ने पूर्वाधारको रूपमा लिएको उक्त सडक २६ वर्षदेखि केवल चुनावी नारा मात्रै बन्दै आएको छ ।
सडकको नाममा हरेक वर्ष बजेट विनियोजन हुने गरे पनि केही खाल्डाखुल्डी पुर्दैमा बजेट सकिने गरेको स्थानीय जगदिश महतराले बताए । ‘न सरकारी निकायले यो सडकलाई हे¥यो न यहाँका जनप्रतिनिधिले केही गरे’ महतराले भने, ‘यो सडक चुनावी नारा मात्रै बन्ने गरेको छ । काम भने कहिल्यै भएन, कसैले गरेनन् ।’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्मुखमै आइपुग्दा उम्मेदवारहरू मतदाता रिझाउन विकास निर्माणका आश्वासन बाँडिरहेका छन् । यसपटक पनि हरेक उम्मेदवारको प्राथकिताबाट छुटेको छैन उक्त सडक । सबैजसो उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धतामा प्राथमिकताका साथ बड्डिचौर–गुटु–बेनिघाट सडकलाई समावेश गरेका छन् । तर पदम र जगदिश भने जोसुकैले जिते पनि यो केवल चुनावी आश्वासनमै सीमिति हुनेमा विश्वस्त देखिन्छन् । ‘एउटाले मात्र होइन अहिलेसम्म निर्वाचित सबैले नारा मात्रै बनाए अब पनि त्यही हुने त होला’ उनीहरू दुवैको भनाइ यस्तो छ ।
साझा बिसौनी संवाददाता ।