मतदाता परिचयपत्र बाँडिदैं
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ मंसिर ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मंगलवारबाट मतदाता परिचयपत्र वितरण गरिने भएको छ । स्थानीय तहको निर्वाचन पश्चात् जिल्ला निर्वाचन कार्यालयले गरेको मतदाता नामावली संकलनबाट थपिएका नयाँ मतदाताका लागि परिचयपत्र वितरण गर्न लागिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सुनिता थापाका अनुसार आज (मंगलवार) र भोलि (बुधवार) नयाँ मतदाताका लागि परिचयपत्र वितरण गरिनेछ । स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गरेका मतदाताले भने नयाँ परिचयपत्र पाउने छैनन् । पुराना मतदातालाई निर्वाचन आयोगले पुरानै मतपत्रमार्फत् नै मताधिकार प्रयोग गर्ने अधिकार दिएको छ ।
यस्तै मतदाता नामावलीमा नाम भएका तर परिचयपत्र नभएका वा हराएको खण्डमा त्यस्ता मतदाताले नेपाल सरकारद्वारा मान्यता दिइएका परिचयपत्र वा नेपाली नागरिकतालाई आधार मानेर मत खसाल्न पाउने छन् । स्थानीय तहको निर्वाचन पश्चात् जिल्लामा २० हजार एक सय ७७ जना नयाँ मतदाता थपिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वयम् मतदाता नै आएर मतदान केन्द्रबाट परिचयपत्र लिन आग्रह गरेको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएको सुर्खेतमा दुई सय ६३ वटा मतदान केन्द्र तोकिएको छ ।
मतदान केन्द्रमा मंगलवारबाटै काम थाल्ने गरी कर्मचारी व्यवस्थापन गरिएको छ । आयोगद्वारा तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न जिल्लाका सबै मतदान केन्द्रहरूमा कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार मात्रै जिल्लाका दुई सय ६३ मतदान केन्द्रहरूमा निर्वाचनका लागि आवश्यक सामाग्रीसहित कर्मचारी खटाएको हो । कार्यालयले सदरमुकामदेखि टाढाका मतदान केन्द्रमा आइतवार नै कर्मचारी खटाएको थियो भने बाँकी मतदान केन्द्रमा सोमतवार साँझसम्म आवश्यक कर्मचारी पुगिसकेका छन् । दुई सय ६३ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृतसहित दुई हजार भन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।
निर्वाचनका लागि आवश्यक सामग्रीसहितको निर्वाचन टोली सोमवार जिल्लाका सबै मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता नामावली, छेकावार, रवर म्याट, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरू हस्तान्तरण गरी जिम्मेवारी तोकिएको छ । जिल्लाका सबै मतदान केन्द्र र स्थलहरूमा आवश्यक सुरक्षाकर्मी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र लगायत म्यादीसमेत प्रयोग गरेर निर्वाचनको लागी शान्ती सुरक्षाको व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।