पहिले प्रतिस्पर्धी, अहिले सहयात्री

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ मंसिर ।
यसअघि सम्पन्न दुई वटा निर्वाचनमा उनीहरू प्रतिस्पर्धी थिए । एकले अर्कालाई पराजित गर्नका लागि सकेका सबै उपाय लगाए । आफूले जित्न एकले अर्काको निर्मम आलोचना मात्र गरेनन्, कमजोरीहरू खोतल्दै खुइल्याउने प्रयास नै गरे । तर यसअघिका उनै कडा प्रतिस्पर्धीहरू यतिबेला भने एकले अर्कालाई जिताउने अभियानका कमाण्डर बनेका छन् ।


सुर्खेतमा एमाले नेता नवराज रावत र माओवादी केन्द्रका नेता नरबहादुर विष्ट एकअर्काका प्रतिस्पर्धी थिए । यसअघि सम्पन्न दुई वटै संविधानसभाका निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ मा उनीहरूले आपसमा प्रतिस्पर्धा गरे । २०६४ को निर्वाचनमा माओवादी नेता विष्टले १७ हजार चार सय २९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नेता रावतले भने १० हजार आठ सय ९६ मत प्राप्त गरेका थिए ।
विष्ट र रावतको प्रतिस्पर्धा ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि दोहोरियो । तर त्यतिबेला दुवै जना पराजित हुन पुगे । नेपाली कांग्रेसका तप्तबहादुर विष्टले १४ हजार सात सय ५३ मत प्राप्ती गरी विजयी भए । लगातार दुई वटा निर्वाचनमा दुई फरक पार्टीबाट एक अर्कासँग प्रतिस्पर्धा गरेका रावत र विष्ट यतिबेला भने एकअर्काका सहयात्री बनेका छन् । यसअघि आफैले पराजित गरेका एमाले नेता रावतलाई जिताउन माओवादी नेता विष्ट हिजोआज दिनरात नभनी खटिएका छन् । यही मंसिर २१ गते हुन लागेको निर्वाचनमा रावत प्रतिनिधिसभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् । निर्वाचन प्रचार अभियानको कमाण्डर बनेका विष्ट पहिलाका आफ्ना प्रतिस्पर्धी रावतलाई जिताउन भन्दै कम्मर कसेर लागेका छन् ।
रावत र विष्टजस्तै एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेल र माओवादीका पोलिटब्यूरो सदस्य सीता नेपाली पनि यसअघिका निर्वाचनमा एकअर्काका प्रतिस्पर्धी थिए । २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट १६ हजार दुई सय ९७ मत प्राप्त गरी कँडेल विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपालीले १४ हजार चार सय ४१ मत प्राप्त गरेकी थिइन् । उनै सीता नेपाली यतिबेला प्रदेशसभा सदस्यतर्फ सुर्खेत क्षेत्र नं. २ (क) बाट उम्मेदवार बनेका कँडेललाई जिताउन भन्दै भोट माग्न व्यस्त छिन् । यसअघिको निर्वाचनमा एकले अर्कोलाई पराजित गर्न अनेक उपाय लगाएका कँडेल र नेपाली यसपाली भने सहयात्रीका रूपमा मतदाताको बीचमा पुगेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै विगतका चुनावमा प्रतिस्पर्धा गरेका जिल्लास्थित दुवै पार्टीका नेताहरू अहिले भने एकअर्काका सहयात्री बन्न पुगेका हुन् ।
यस्तै २०६४ को निर्वाचनमा विजयी एमाले नेतृ कमला शर्मा अहिले माओवादी नेता ठम्मरबहादुर विष्टलाई जिताउने अभियानमा होमिएकी छन् । २०७० को संविधानसभा निर्वाचनमा उनीहरूले आपसमा प्रतिस्पर्धा गरेका थिए । तर उक्त निर्वाचनमा कांग्रेस नेता पूर्णबहादुर खड्का विजयी भए । तर हिजोआज एमाले नेतृ शर्मा ०७० को निर्वाचनमा आफैसँग चुनावी प्रतिस्पर्धा गरेका माओवादी नेता विष्टको पक्षमा भोट मागिरहेकी छिन् । गत चुनावमा शर्मा र विष्ट सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट चुनावी प्रतिस्पर्धामा थिए । तर त्यतिबेला दुवै पराजित हुन पुगे । आपसमा प्रतिस्पर्धा गर्दा पराजित भएका शर्मा र विष्ट अहिले एउटै चुनाव चिन्हमा मत माग्न व्यस्त छन् । हिजो एकले अर्काको आलोचना गरेका यी दुई पात्रलाई अहिले भने प्रशंसा गर्न भ्याइनभ्याइ छ । संविधानसभाको निर्वाचनमा मात्र होइन, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गरेका एमाले र माओवादीका उम्मेदवारहरू पनि अहिले सँगसँगै एकले अर्काको पक्षमा मत मागिरहेका छन् ।
एमाले र माओवादी केन्द्रले चुनावी तालमेल
गरेपछि सुर्खेतमा माओवादी नेता नरबहादुर विष्ट उम्मेदवार बन्न पाएनन् । विष्ट आफू उम्मेदवार नभए पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता नवराज रावतको पक्षमा भोट माग्दै हिंडिरहेका छन् । उनी रावतका प्रस्तावकसमेत हुन् । ‘हिजो फरक पार्टी हुँदा प्रतिस्पर्धी थियौं, अब पार्टी नै एक हुने अवस्था आयो’ नेता विष्टले भने, ‘यसपाली म उम्मेदवार त छैन, तर एमालेबाट उम्मेदवार बनेका नवराजजीको पक्षमा मत मागिरहेको छु । उहाँको जित नै मेरो जित हुनेछ, अहिले हामी सहयात्री हौं ।’ एमाले उम्मेदवार यामलाल कँडेलको पक्षमा मत माग्दै हिँडेकी माओवादी नेतृ सीता नेपाली भन्छिन्, ‘विगतमा हामी प्रतिस्पर्धी नै थियौं, अहिले हामी एकै ठाउँमा छौं । पहिलाको विषय विर्सेर, हामीले भोलीको लागि सहयात्रा गरिरहेको अवस्था हो ।’ यसअघिका प्रतिस्पर्धीहरू नै यसपाली सहयात्री बनेर आँगनमा आउन थालेपछि मतदाताहरू पनि दङ्ग छन् ।

प्रकाशित मितिः   १८ मंसिर २०७४, सोमबार १६:३१