मतदान केन्द्रमा खटिए कर्मचारी

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ मंसिर ।
बिहीवार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । दोस्रो चरण अन्तर्गत सुर्खेतमा हुन लागेको निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन भएसँगै तयारी पूरा भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन सामग्रीसहित जिल्लाका सबै मतदानस्थल र केन्द्रमा आइतवारदेखि कर्मचारी खटिएका छन् ।
चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका सामग्रीहरू लिएर कर्मचारीलाई मतदान केन्द्रतर्फ पठाइएको मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले बताए । निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक तालिमसमेत दिएर खटाइएको उनले बताए । कर्मचारीले मतदाता परिचयपत्रसमेत लिएर गाउँ पसेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुनिता थापाले पूर्वको सिम्ता गाउँपालिका, पश्चिमको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा आज सोमवार कर्मचारी खटाइएको बताइन् ।
जिल्लाका दुर्गम र सदरमुकारदेखि टाढा पर्ने मतदान केन्द्रमा कर्मचारी परिचालन गरिएको हो । मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतले १९ गतेदेखि परिचयपत्र वितरणको काम थाल्ने बताइएको छ । स्थानीय तहको निर्वाचन पश्चात् जिल्ला निर्वाचन कार्यालले गरेको मतदाता संकलनबाट २० हजार एक सय ७७ जना मतदाता थपिएका हुन् । थपिएका मतदाताका लागि मंगलबार र बुधवार (दुई दिन) परिचयपत्र वितरण गरिनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वयम् मतदाता नै आएर मतदान केन्द्रबाट परिचयपत्र लिन आग्रह गरेको हो ।
नौ वटा स्थानीय तह रहेको सुर्खेतमा दुई सय ६३ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि दुई सय ६३ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृतसहित दुई हजार भन्दा बढी कर्मचारी परिचनलन गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सबै मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएकाले मतदान स्थलहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि सुर्खेतमा करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सूचनाको हिसाबले दुर्गम मानिने पश्चिमका सबै मतदान केन्द्रमा आवश्यक संयन्त्र अपनाइएको प्रहरी प्रमुख उमाप्रसाद चतर्वेदीले बताए । जिल्लामा २० वटा मतदान केन्द्रहरू अति संवेदनशील मानिएका छन् भने ५२ मतदान केन्द्र संवेदनशील रहेका छन् । यस्तै प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरे । उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न कुनै कसुर बाँकी नराख्ने उल्लेख गरे । सुर्खेतमा दुई लाख चार हजार पाँच सय ७७ मतदाता रहेका छन् ।

प्रकाशित मितिः   १८ मंसिर २०७४, सोमबार १६:२५