‘मैले कांग्रेसको झण्डा चोरेर धुरीमा राखेकी थिएँ’

देवी भट्टराई जिल्ला समन्वय समिति सुर्खेतका उपसंयोजक हुन् । वि.सं. २०३४ साउन १६ गते बुबा मोतिप्रसाद आचार्य र आमा पविसरा आचार्यको कोखबाट लेकवेशी नगरपालिकाको दशरथपुरमा उनको जन्म भएको हो । २०५० सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य भएर राजनीतिमा प्रवेश गरेकी उनी हाल नेपाल महिला संघ सुर्खेतको उपाध्यक्ष र अन्तरपार्टी महिला सन्जालको सदस्य पनि हुन् । भट्टराई स्थानीय तहको निर्वाचानमा जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचति भएकी हुन् । उपसंयोजक भट्टराइले आफ्नो बालापन हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः

भेरीको किनारमा बालुवामा खेलेर नदीमा पौडी खेल्थ्यौं । माया नै मायामा हुर्के । अचेल बाल्यकाल सम्झदा एउटा कथा जस्तै लाग्छ । मेरो बाल्यकाल धेरै वर्ष भेरीको किनारामा बित्यो । पौडी खेल्न बाल्यकालमा म धेरै पटक भेरीको किनारामा गएको छु । साथीहरूसँग खेल्दा निकै रमाइलो हुन्थ्यो । पौडी खेल्न बुबाआमाको आँखा छलिछलि भेरी नदीमा दैनिक जाने तालिका नै थियो हाम्रो । कहिले काहीं त दिनमा चारपटकसम्म पनि भेरीमा पौडी खेल्न पुग्थे ।
गाउँमा पहिले चिन्नो भन्ने पाइन्थ्यो । त्यो कुपिण्डो जस्तै हुन्थ्यो । कमरमा डोरीले बाधेर पौडी खेल्थ्यौं । जसले गर्दा पानीमा उतार्ने काम गर्दथ्यो । नदीमा पौडी खेल्ने र तातो बालुवामा खेल्दा शरिलमा फोका भएर घाउँ नै हुन्थ्यो । मलाई खेलकुदमा धेरै रुचि थियो । हाइजम्प, लङजम्प र भलिबल पनि खेल्थ्यौं । म पौडी खेल्दा पनि प्रथम हुन्थे । र अर्को दौडमा पनि । साथीहरू मध्ये म दौडमा प्रथम नै हुन्थे । कहीं कतै दौडमा भाग लिन जानुप¥यो भने गुरुहरू र साथीहरूले मेरो नाम लिनुहुन्थ्यो । बाल्यकाल म पौडी खेल्न र दौडमा सधै प्रथम हुने गर्थे । कहिले काहीं त मात्र सक्छु भनेर वास्ता गर्दैन्थे ।
एकपटक पौडी खेल्ने क्रकमा तितो घटना छ । अझै पनि त्यो ठाउँमा पुगे भने नरमाइलो लाग्छ । हामी पौडी खेल्दा वारीपारी गथ्यौं । त्यसदिन हामी तीन जना साथी थियौं । रामघाट र दशरथपुर जोड्ने पुल नजिकै पौडी खेल्दै थियौं । वारीबाट पारी जाने बेलामा एक जना साथीलाई भेरीले बगायो । हामी दुई जना पारी तरेर पछाडी हेर्दा साथीलाई देखेनौं । अझै पनि त्यो घटना सम्झदा मलाई नरमाइलो लाग्छ । म बुबाआमाको एक्लो छोरी मात्र थिएन्, हाम्रो सन्तान भरीमा नै एक्ली छोरी थिए । मेरो परिवारले छोरीको महŒव धेरै नै राख्थ्यो । मेरो दुई जना फुपु बित्नु भएपछि अंकलहरूका छोरीहरू पनि सानैमा बित्नु भएछ त्यसबेलामा । पछि बुबालाई मित लगाएपछि छोरी हुन्छिन् भने पछि बुबाले मित लगाउनु भएको रे ।
अहिले त हामी धेरै दिदीबहिनी छौं । त्यसबेलामा म एक्ली छोरी भएको कारण सबैले मलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँहरूको म आँखाको नानी थिए । त्यसकारण म सबैको मायाले पुलपुलेर बाल्यकाल बिताएका थिए । म पाँच वर्षको हुँदा बुबाले विद्यालय भर्ना गरिदिनु भएको हो । बुबा मलाई विद्यालय छोडेर घर आइपुग्नु भन्दा अघि नै म घर पुग्थे । मैले अमरज्योति माविबाट आफ्नो औपचारिक पढाइ सुरु गरेको हुँ । हाम्रो घर ठूलो थियो । तिन तलाको । विद्यालयमा पढाउने सरहरू पनि हामै्र घरमा बस्नुहुन्थ्यो । उहाँहरूले मलाई घरमा पनि पढाउने गर्नुहुन्थ्यो । मेरो बुबा एउटा सफल कृषक हुनुहुन्थ्यो । प्राय खेतबारीमा नै उहाँ व्यस्त हुनुहुन्थ्यो । आमाले घरको कामसँगै खेतबारीम पनि काम गर्नुहुन्थ्यो ।
म सानैदेखि खान र लगाउनमा सोखिन थिए । म बिहानको समयमा खाना पकाउने गर्थे । घाँसदाउरा, मेलापात जाने काम भने मैले गर्नु परेन । विद्यालको ड्रेस मेडी लगाउन खुब मन लाग्थ्यो । खानामा दुध मन पथ्र्यो । आमाले दुध भाडामा राख्नु हुन्थ्यो र धेरै हुन्थ्यो दुध जति खाएका पनि हुन्थ्यो । म अलि बदमास पनि थिए । साथीहरूसँग मिलेर गाउँमा काँक्रा र अमिलो धेरै चोरियो । घरमा पनि थिए, तर साथीहरू मिलेर चोरेको अमिलो छुट्टै मिठो लाग्थ्यो । घरमम कहिले काहीं बुबाआमाले थाहा पाएर गालि गर्नुहुन्थ्यो । कहिले काहीं त भनेको नमान्दा पिटाइ पनि खाइयो । म तिन कक्षा पढ्ने बेलामा नेपाली कांग्रेसको झण्डा मेरो तिन तला घरको धुरीमा राखेको थियो । त्यो झण्डा मैले वीरेन्द्रनगर मामाको घर आउँदा एउटा कार्यक्रमबाट चोरेर लिएको थिएँ ।
त्यसबेलामा मलाई राजनीतिको बारेमा केही थाहा थिएन् । तर झण्डा चोरेर घरको धुरीमा राखें । चार तारे रातो झण्डा धेरै मन परेर घरमा ल्याएर राखेको थिएँ । बुबाले मलाई हेर्दे मेरो छोरी भविष्यमा ठूलै मान्छे बन्छे भनेर भन्नुभएको थियो । मलाई कांग्रेसको झण्डा धेरै मन परेकोले झण्डा हेर्न म पार्टीको कार्यक्रममा भागेर जान्थे । कार्यक्रममा कति धेरै झण्डाहरू हुन्थे । कार्यक्रममा अरु मान्छेहरूले हुटिङ गर्थे भने म झण्डा हेरिरहन्थे । म सानो छँदा भाइ गुमाउनुप¥यो । हामी तीन भाइबहिनी मात्र हो । दाइले एमालेको झण्डा ल्याएर अर्को धुरीमा राख्नुहुन्थ्यो । हाम्रो घरको धुरीमा एमाले र कांग्रेसका झण्डा फरफराउँथे । पछि अलि ठूलो हुँदै गएपछि बल्ल पार्टीको झण्डा रहेछ भनेर थाहा पाएँ ।
मैले १४ वर्षका उमेरमा नै विवाह गरें । त्यसबेलामा कक्षा सातमा पढ्दै थिएँ । पाँच कक्षासम्म अमरज्योति माविमा पढेपछि म मामाको घरमा गएर पढें । मेरो श्रीमान् (कृष्णप्रसाद भट्टराई ) अंकलको साथी हुनुहुन्थ्यो । उहाँले केटो लायकको छ छोरीलाई सुखमा राख्न सक्छ भनेर उहाँले मेरो विवाह गरिदिनुभएको थियो । उमेर सानै थियो । सबैको मायामा हुर्केकी म एक्कासी घर आउँदा फरक अनुभव भयो । घरमा सासुससुरा हुनुहुन्थेन । माइतीको र घरको रितिरिवाज संस्कृति फरक थियो । त्यसमाथि म केटाकेटी । मलाई सिकाउने अरु कोही हुनुुहुन्थेन । केही समयसम्म त गाह्रो नै भयो । तर मेरो श्रीमान्ले मलाई सधैं साथ दिइरहनुभयो ।
उहाँकै साथले म अहिले यो स्थानमा छु । म १५ वर्षमा त आमा बनिसकेको थिएँ । त्यतिबेलामा मैले ६ महिनाको छोरालाई काखमा राखेर पार्टीको कार्यक्रममा गएको थिएँ । १७ वर्षको हुँदा म दुई छोराछोरीको आमा भइसकेको थिएँ । त्यसबेलामा नेपाली कांग्रेसका देवकुमारी पाण्डे, जानकी सिंह, नन्दा गिरी महिला संघमा हुनुहुन्थ्यो । म उहाँहरूसँगै पार्टीको काममा जाने गर्थे । म २०५० सालमा नेपाली कांग्रेसको सक्रिय सदस्य भएर राजनीतिमा प्रवेश गरेको हुँ । नेपाल महिला संघको सदस्य, दलितपीडित महिला कल्याणको सदस्य भएर पनि काम गरे । अहिले म नेपाल महिला संघ सुर्खेतको उपाध्यक्ष, अन्तरपार्टी महिला सञ्जालको सदस्य पनि छु । अझै पनि बाल्यकाल सम्झदा फेरि त्यही बाल्यकालमा फर्कन मन लाग्छ । यदी म बाल्यकालमा फर्कन सकेको भएँ, धेरै पढ्थे होला जस्तो लाग्छ । अहिलेका बालबालिकालाई सुरक्षित भविष्य गराउन बुबाआमाले आफ्ना छोराछोरी के गर्छन्, कहाँ जान्छन् भनेर चासो राख्न जरुरी छ । उनीहरूको भावना र रुचि अनुसार गर्नुपर्छ र छोराछोरीले पनि आफ्ना कर्तव्य भुल्नु हुँदैन ।

प्रकाशित मितिः   १८ मंसिर २०७४, सोमबार १६:२३