नेतृत्वमा महिला आएपछि ठडियो नयाँ भवन
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ मंसिर ।
वीरेन्द्रनगरस्थित वडा नम्बर १ मा रहेको कृष्ण सामुदायिक वन उपभोक्ता समूहले आफ्नो नयाँ भवन निर्माण गरेको छ । समूह स्थापना भएको करिब २२ वर्षपछि समूहले आन्तरिक आम्दानीबाट सो भवन निर्माण गरेको हो । करिब २२ लाख रूपैयाँमा निर्माण भएको भवनको शनिवार उद्घाटन गरिएको हो ।
यसअघि यो उपभोक्ता समूहको नेतृत्वमा पुरुषहरू थिए । पुरुषहरू हुँदा समूहको रकम हिनामिना भएको घटनासमेत बाहिर आएको थियो । तर पछिल्लो समय यो वन समूहको नेतृत्वमा महिलाहरूको बाहुल्यता छ । हाल यो समूहको प्रमुख पदमा महिलाहरू छन् । महिलाहरू नेतृत्वमा रहेकै बेलामा यो समूहले २२ लाखको लागतमा नमुना भवन निर्माण गर्न सफल भएको हो । भूकम्प प्रतिरोधि एक तले यो भवनमा पाँच वटा कोठा रहेका छन् । उक्त भवनको जिल्ला वन अधिकृत हेमराज विष्टले उद्घाटन गरे ।
यसअघि भाडामा बस्दै आएको यो उपभोक्ता समूह अब आफ्नै घरबाट सञ्चालन हुने भएको छ । भवन निर्माण भएपछि उपभोक्ताहरू खुशी भएका छन् । स्थानीय समाजसेवी तथा वन समूहका पूर्व पदाधिकारीहरूले वर्तमान कार्यसमिति महिलाहरूको नेतृत्वमा रहेका कारण भवन निर्माण सम्भव भएको बताए । भवन उद्घाटन गर्दै जिल्ला वन अधिकृत हेमराज विष्टले भने, ‘जिल्लामा धेरै सामुदायिक वन छन्, तर महिलाहरूले नेतृत्व गरेका समूहले नमुना काम गरेका छन् । यो समूहले नयाँ सन्देश दिएको छ, अब अन्य समूहले यहाँबाट सिकुन् ।’ वन संरणमा उपभोक्ता समूहको भूमिका महŒवपूर्ण हुने भन्दै उनले नयाँ भवन निर्माणसँगै समूहको आम्दानीमा पनि वृद्धि हुने बताए । भवन निर्माण गरेर यो समूहले आर्थिक पारदर्शीताको नमुना पेश गरेको बताए ।
यस्तै समूहका अध्यक्ष खगिसरा गिरीले आफूहरूले ठूलो मेहनत गरेर भवन बनाउन सफल भएको बताइन् । उनले भनिन्, ‘हिजो कटेरोमा थियौं, आज आफ्नै भवन बनेको छ । हामीले रातदिन नभनी यो भवन बनेको हो, अब यसमा थप तला थप्ने योजनामा छौं ।’ अलिअलि गर्दै जम्मा भएको रकमले भवन निर्माण भएको उनको भनाइ छ । समूहका उपाध्यक्ष भावना घर्तीले महिलाले केही गर्न सक्दैनन् भन्ने आरोपलाई आफूहरूले चिरेको बताइन् । भवन उद्घाटनको अवसरमा सोही वडाका अध्यक्ष गंगाराम सुनार, वीरेन्द्रनगर इलाका वन कार्यालयका शेरबहादुर रोकाय, सामुदायिक वन उपाभोक्ता समूहका पूर्व अध्यक्ष चन्द्रप्रसाद थानी, स्थानीय दलका प्रतिनिधि र टोल समूहका पदाधिकारीहरू सहभागी थिए ।
साझा बिसौनी संवाददाता ।