गोप्य मतदानको अधिकारबाट वञ्चित

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ मंसिर ।
नागरिकले गोप्य मतदानबाट आफूले रोजेको प्रतिनिधि चुन्न पाउने अधिकार हो, निर्वाचन । तर दृष्टिविहीन भएका नागरिकहरू भने गोप्य मतदानको अधिकारबाट वञ्चित हुँदै आएका छन् । कुनै पनि निर्वाचनमा उनीहरूले गोप्य मतदानको अधिकार उपयोग गर्न पाएका छैनन् । जसले गर्दा आफ्नो मत दुरूपयोग हुनेमा उनीहरू सधैं चिन्तित छन् ।


वीरेन्द्रनगरकी सोमना खड्का यसपटकको निर्वाचनमा मतदान गर्न आतुर छिन् । तर उनलाई आफ्नो मत दुरूपयोग हुने हो कि भन्ने चिन्ताले सताइरहेको छ । ‘विश्वास गरेकै व्यक्तिले पनि आफूले भनेकै पार्टी र उम्मेदवारलाई मत दियो भनेर ढुक्क बस्न सक्ने वातावरण छैन्’ उनले भनिन्, ‘गोप्य रूपमा मतदान गर्ने अधिकारबाट दृष्टिविहीनहरू बञ्चित छन् ।’ खड्का आफूहरू गोप्य मतदान गर्न पाउने अधिकारबाट आजसम्म सधैं वञ्चित हुँदै आएको बताउँछिन् । ‘चुनाव आएको छ, मत हाल्न आतुर छौं’, उनले भनिन्, ‘तर हामीले रोजेको प्रतिनिधिले मत पाउँछ भन्नेमा आशा गरेका छैनौं । हामी आफै मत हाल्न सक्दैनौं अरुको विश्वास नै हुँदैन ।’
यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल तात्तिएको छ । जिल्लामा राजनीतिक दल र उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन आयोगद्वारा मतदान केन्द्रमा खटाइ स्वयम्सेवकहरूले नमुना मतदाता शिक्षालाई समेत तीव्रता दिएका छन् । गोप्य रूपमा हुने निर्वाचनमा बदर मत घटाउन सदरमुकामदेखि ग्रामीण स्तरसम्म थालिएका अभियान खासै प्रभावकारी हुन नसकेको आमनागरिकको गुनासो छ । विगतका निर्वाचन भन्दा फरक मतपत्र भएकाले बदर मत बढ्ने चिन्ता निर्वाचन आयोगलाई छ । निर्वाचन शिक्षामा समेत सहभागी भएका सर्वसाधारणहरू आफ्नो मत सदुपयोग गर्न उत्साहजनक रूपमा नमुना मतदानमा सहभागी छन् । तर दृष्टिविहीनको समस्याप्रति भने सम्बन्धित निकायले कुनै चासो दिएको देखिदैंन । उनीहरू अघिल्ला निर्वाचनमा जस्तै यसपटक पनि आफ्नो मतको दुरूपयोग हुने होकी भन्ने चिन्तामै छन् ।
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता वा अरु कुनै कारणवश आफैं मत संकेत गर्न नसक्ने भइ मत संकेत गर्ने काममा सहयोग पु¥याउन आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान अनुमति मागेमा वा मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा इच्छाअनुसार निजको मतपत्रमा मत संकेत गरिदिनसक्ने कानुनमा उल्लेख छ । एकाघरको सदस्यलेसमेत दृष्ट्रिविहीनको पक्षमा मतदान गर्छ भन्ने बारेमा आफू विश्वस्त नभएको सोमना बताउँछिन् ।
स्थानीय तहको निर्वाचनमा अरुकै सहायतले मतदान गरेकी खड्काले राज्यले दृष्टिविहीन नागरिकलाई सम्बोधन गर्न नसकेको बताईन् । मतदाता शिक्षादेखि मताधिकारबाट समेत दृष्टिविहीन वञ्चित भएका छन् । जिल्ला नेत्रहीन संघका सचिवसमेत रहेकी खड्काले निर्वाचन आयोगले दृष्टिविहीनका लागि ब्रेललिपीमार्फत् वा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । ‘आममतादातालाई त निर्वाचनमा मत बदर हुने चिन्ता कायमै छ’ उनले भनिन्, ‘विगतदेखि हामी गोप्य रूपमै भोट हाल्ने अधिकार सदुपयोग गर्न चाहान्छौं । वाहानाबाजीमा हाम्रो अधिकार खोस्ने काम नहोस् ।’
निर्वाचन आयोगले दृष्टिविहीनका लागि विद्युतीय मतदान व्यवस्था नमिलाउँदा खड्का जस्ता थुप्रै दृष्टिविहीन आफ्नो मतको दुरूपयोग हुने होकी भन्ने चिन्तामा छन् । ‘इलेक्ट्रोनिक भोटिङ्ग सिस्टम’ बाट भोट खसाल्ने व्यवस्था नगर्दा मनले चाहेको उम्मेदवारलाई भोट दिन नपाएको गुनासो दृष्टिविहीनको छ । निर्वाचन आयोगले विद्युतीय मतदानबारे छलफल गरे पनि प्राविधिक कारणले सम्भव नभएको जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले बताइन् । आम नागरिकलाई मताधिकारबाट वञ्चित गर्ने ध्येय नभएको उनले बताइन् । ब्रेललिपीदेखि विद्युतीय मतदान आयोगकै लागि चुनौती भएको उनको भनाइ छ । शिक्षा पाउनबाट वञ्चित दृष्टिविहीनका परिवारलाई नै लगेर हाल्दासमेत मत बदर हुने सम्भावना हुने गरेको उच्च अदालत बार एशोसियशनका अध्यक्ष उत्तम आचार्यले बताए । ‘शिक्षित परिवारका सदस्यहरूले त बुझ्लान् तर दृष्टिविहीनका पनि अशिक्षित परिवारले अहिलेको मत पत्रमा मत खसाल्न सक्छन् जस्तो मलाई लाग्दैन ।’ विगतको निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी भएका अध्यक्ष आचार्यले भने, ‘अहिलेको मतपत्र स्थानीय तहको निर्वाचन जस्तो सहज नभइ केही गाह्रो छ ।’
जिल्ला नेत्रहीन संघको तथ्यांकअनुसार सुर्खेतमा एक हजार पाँच सय ८१ जना दृष्टिविहीन छन् । जसअनुसार झण्डै पाँच सय दृष्टिविहीन प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मताधिकार प्रयोग गर्दैछन् ।

प्रकाशित मितिः   १७ मंसिर २०७४, आईतवार १६:१९