निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै दलहरू

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ मंसिर ।
दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको माहोल तात्तिएको छ । दलहरूका बीचमा चुनाव प्रचारको होडबाजी छ । भडकिलो प्रचारसँगै उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । महँगो प्रचार अभियानसँगै आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन् ।

वीरेन्द्रनगर बजार क्षेत्रमा बाजासहितको प्रचार जारी छ । उम्मेदवार गाडीका लावालस्कर लिएर प्रचारमा निस्किरहेका छन् । जसका कारण निर्वाचन आयोगलाई चुनाव स्वच्छ र मर्यादित बनाउने चुनौती थपिएको छ । निर्वाचन आचारसंहिताले सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना र निजी घरजग्गा लगायतका स्थानमा पर्चा टाँस्न रोक लगाएको छ । तर जिल्लामा भने दलहरूले आचारसंहिताको खिल्ली नै उडाएका छन् ।
निर्वाचन आचारसंहिता विपरित राजनीतिक दल र उम्मेदवारहरूले सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरूमा यत्रतत्र पर्चा टाँसिरहेका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रचारका चुनाव चिन्ह अंकित ब्यानर । पर्चाहरू चौक–चौकमा टाँसिएका छन् । स्थानीय वीरेन्द्रचौक, मंगलगढीचौक, बुद्धपथ, घण्टाघर चौकका खम्बाहरूमा प्रचार सामग्री राखिएका छन् । यतिमात्रै होइन्, जिल्लामा रहेका सरकारी कार्यालयका पर्खालमासमेत पर्चा र पम्प्लेटहरू टाँसेको पाइएको छ । सरकारी कार्यालयका पर्खाल, सार्वजनिक संरचना, चौक र पाटीपौवामा खुलेआम पर्चा टाँसेरै निर्वाचन आचारसंहिता उल्लंघन भए पनि चुनावी प्रतिस्पर्धामा रहेका दलहरूले भने आचारसंहिता उल्लंघन नभएको दाबी गर्दै आएका छन् ।
उनीहरूले विपक्षी दलहरूले प्रचार सामग्री हटाए आफ्नो पनि हटाउने अडान लिएका छन् ।
निर्वाचन आयोगले सुक्ष्म र बृहत रूपमा निर्वाचन आचारसंहिता अनुगमनकर्ता परिचालन गरेको बताएको छ । जिल्लामा छिटफुट आचारसंहिता उल्लंघन भए पनि लिखित उजुरी भने नपरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ‘लिखित रूपमा उजुरी आएको छैन्,’ निर्वाचन अधिकृत मोहनसागर बस्यालले भने, ‘सूचना पाएको ठाउँमा हामीले तत्काल रोक लगाएका छौं ।’ जिल्लामा निर्वाचन आचारसंहिता कार्यान्वयन बारे निर्वाचन आयोगले केन्द्रिय अनुगमन टोली खटाएको उनले बताए । टोली आचारसंहिता पालना भए, नभएको सम्बन्धमा अनुगमन गरी उल्लंघन भएको आशंका भएमा निर्वाचन कार्यालय तथा स्थानीय प्रहरीको समन्वय तथा सहयोगमा आवश्यक छानविन गर्नसक्ने अधिकार समितिलाई दिइएको छ ।
त्यस्तै अनुगमन समितिले कसैले आचारसंहिता उल्लंघन गरेको पाएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउनेछन् । आचारसंहिता उल्लंघन घटनाको अनुगमन गरी प्रमुख निर्वाचन अधिकृत, स्थानीय प्रशासन र सुरक्षा अधिकारीसँग छलफल गरिरहेको बताइएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति नारायण कोइरालाले चुनावी प्रचार–प्रसारमा निर्वाचन आचारसंहिता उल्लंघन नभएको दावी गरे । ‘पर्चा, पम्पिलेट ब्ल्याक इन ह्वाइटमा छापेका छौं’ उनले भने, ‘खासै आचारसंहिता उल्लंघन भएको छैन । चुनावी अभियानमा बाटोघाटोमा पर्ने सार्वजनिक स्थलहरूमा टाँसिएको भए पनि तत्काल हटाउन निर्देशन दिएका छौं ।’
आचारसंहिताबारे पूर्णरूपमा कार्यकर्ता, उम्मेदवार र दलका प्रमुखहरूलाई जानकारी गराएकाले निर्वाचन विरोधी गतिविधि वाम गठबन्धनबाट नभएको दावी नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालको छ । ‘वाम गठबन्धनका उम्मेदवारदेखि कार्यकर्तासम्म निर्वाचन
आचारसंहिताबारे जानकार छन् ।’ उनले भने, ‘बरु प्रतिस्पर्धी दलहरूबाट गाउँमा डोजर हान्ने र बत्तीका पोल वितरण गर्ने गतिविधि ग्रामीण क्षेत्रमा व्यापक भएका छन् । हामी आचारसंहिताबारे सचेत छौं ।’ नेपाली कांग्रेसलाई लक्षित गर्दै उनले सत्तासिन पार्टी संयन्त्रमार्फत् नै निर्वाचन आचारसंहिता उल्लंघन भएको आरोप लगाए ।
निर्वाचन आचार संहिता २०७४ को परिच्छेद–२ (झ) अनुसार ‘निर्वाचन सम्बन्धी प्रचार–प्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना, कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन नहुने र निजी घरजग्गामा जग्गाधनीको स्वीकृति नलिइ राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न वा गराउन नहुने,’ उल्लेख छ । तर जिल्लामा यसको पालना हुन सकेको छैन ।

प्रकाशित मितिः   १६ मंसिर २०७४, शनिबार १५:३८