शुभकामना

नारायणविक्रम जिसी
हाम्रो देशमा आज फेरि अर्को महासंग्राम हुँदैछ । त्यसमा सयौं नेपालीहरू होमिदै छन् । जनताका ठेकेदारहरू अहोरात्र लागिरहेका छन् । ठेक्का सकार गर्नका लागि घटाघटमा जनता माझ गएर अहो ! त्यही संस्कृति, संस्कार अनि अनुहार त्यही, राजनीतिक विश्लेषण अनि चियागफ त्यही एवम् त्यसै वरिपरि आसेपासेहरू लागिरहेका छन् । दाउ खोज्ने नाउँमा आज जुन समाजले आफ्ना नैतिक मूल्य मान्यतालाई बिर्सिसक्यो र जुन समाजले आफूले आफूलाई पनि बिर्सिसक्यो उनीहरूलाई शुभकामना दिन हामी उत्ताउलिएका छौं अनि हतारमा पनि छौं । हामी हाम्रा दुवै हात सहृदयी भावले जोल्ठाएर र उसले देखोस् वा नदेखोस् सोझो कार्यकर्ता एवम् म पनि त तिम्रै पार्टीको हो भन्दै हरूवा कुकुर झै तिनै कुकर्मी एवम् भाँडहरू दुष्टहरूलाई गर्वसाथ नमस्कार गर्छौं दश दाह्रा ङिच्याउँदै जोड जोडले चिच्याउँछौं, यसपालिको चुनावमा यहाँलाई सफलता मिलोस् अग्रीम शुभकामना ।
जीत सुनिश्चित छ अहिले हामी एकताबद्ध भएका छौं, झण्डा सँगै बनाएका छौं जनता हाम्रा पक्षमा छन् । होइन यसपाली गाह्रो होला जस्तो पो छ ? तर पवित्र यो चुनावले तपाईलाई झन् झन् भलो हुँदै जाओस्, कालोबजारीहरूको चोरहरूको, ढग अनि धुर्तहरूको उछित्तो पल्टदै रहोस् । हामी जस्ता निम्न मध्यमवर्गीय अनि निमुखा जनताको सधैं बिल्लिबाठ हुँदै जाओस् । कहले भू–कम्पका नाममा कहिले बाढीपीडितका नाममा अनि तपाईलाई भोट माग्न सजिलो भइरहोस् । सधैं झैं सोझासाझा इमान्दार कामदारहरूको भर्सेले पुरोस् न्याय सत्य र मानवताको उठीबास होस् । ढाँटहरू बेइमानहरू कामचोरहरूको सधैं प्रगति भइरहोस् एकपछि अर्को भाग्य उदय भइरहोस् । हाम्रो अञ्जुली भरीभरीको शुभकामना छ । घुस्याहाहरूलाई चोरहरूलाई अनि देशलाई टुक्र्याउने फटाहहरूलाई बन्दना छ । नमस्कार छ । फेरि पनि शुभकामना छ ।
आजको शुभ बिहानी शुभसाइत हेर्नोस् भ्रष्ट व्यक्तिहरू हो तिमीहरूलाई देखेर सिंगो प्रकृति हाँसिरहेको छ । यहाँ भएका सम्पूर्ण हरिया रुख विरुवा अनि सुगन्धित फूलहरूले यहाँहरूलाई स्वागत एवम् शुभकामना चढाएका छन् । ए समाजका कलंकहरू हो । कान खोलेर सुन । पट्टाइ लाग्ने गरी कागहरू अनि चील पनि तिम्रो प्रत्येक्ष भलो चिताइरहेका छन् । गुणगान गाइरहेका छन्, तिमीहरूले गरेका कृति उपासनालाई पखेटा अिन चुच्चोले ओसारिरहेका छन् । तिमीहरू समाजका ठेकेदार हौ जिम्मेवार पनि छौ । राष्ट्रिय आयको हिस्सेदार पनि छौ । हामी जनता तिम्रो सिनु हौं तिमीहरू ब्याँसो हौं, स्याल अनि गिद्ध हौ । आजको यस पवित्र दिनमा जोड जोडले कराउँछु जय होस् !!
स्यालहरूको छली कपटीहरूको जय होस् । स्यालहरूको, ब्याँसोहरूको, लुच्चाहरूको, चुच्चा, अनि छुच्चाहरूको जय होस् । जय होस् गिद्धहरूको, लिखाको बोसो थुत्नेहरूको, घुस्याहाहरूको, भुस्याहाहरूको सहरबजारमा दौडिने सिंहदारबार अनि आजभोलि गाउँघरमा दौडिनेहरूको जय होस् । ठूला ढालहरूलाई र बुद्धिका आलूहरूलाई ? सम्पूर्ण जुकाहरूलाई जो वर्ष वर्ष जनताले हराउँदा मन नपराउँदा अनि चाकडीकै भरमा ‘टिकट’ लिएर पुनः गाउँघरमा ढल्किने कहिले हलो समात्ने कहिले बिजुली नभएको ठाउँमा बिजुलीको पोलमा समाएर सेल्फी हान्ने कहिले संवेदाहीन एवम् हृदयहीनहरूलाई वडा शुभकामना ।
हाम्रो । अनि सम्प्ूर्ण कुरौटे भरौटे लवस्तराहरूलाई शुभकामना छ । फेसिर प्रेमका इमानको र नैतिकताको छाप पार्न खोज्दै छन् । कस्ता मरनच्याँसे हुतिहारा र सोझा हुन हाम्रो सहकर्मीहरू जो अझै चाकडी चुक्ली र चिप्ल्याइ नसिकाएर धोका, ढगी र कालो व्यापार नसिकाएर तथा घुस खाँदै संस्थाहरूको र सरकारी कार्यालयहरूको हिसाव हिनामिना गर्ने र पैसा कमाउने पाठ नपढाएर साहित्य सिकाउँछन्, विज्ञान, अनुसन्धान अनि अनुशासन सिकाउँछन् अनि यस्तो पवित्र दिनमा आफ्नो सम्पूर्ण जिम्मेवारी बिर्सेर आफ्नो होइन अर्काको झोला बोकेर शुभकामना बाँड्न हिँड्छन् ।
हाम्रा नसा नसामा सलबलाउने रगतभन्दा अध्ययन र लेख्नेमा लागेर अनि पार्टीको झण्डा बोकेर जीवन बर्बाद गर्दैछौं त्यसले ए जाली फटाहरू हो । हाम्रो समाजमा रहेको एक दुई असल गुणलाई एक दुई इमानका बीऊलाई एक दुई सतित्वलाई पनि एक ठाउँमा थुपारेर सल्काइ दिऔं यसपूण्य पर्वमा र आकाश थर्काउँदै एकै चोटी फलार्को उक्लौं जोड जोडले आँखाभरी भरी अनि अञ्जुलीभरीको शुभकामना छ । देशका मतियारहरूलाई शुभकामना शुभकामना जीतको शुभकामना ।

प्रकाशित मितिः   १६ मंसिर २०७४, शनिबार १५:३५