मतदाता भन्छन्ः ‘झुठा आश्वासनले आजित भइसक्यौं’

सुर्खेत, १४ मंसिर ।
लेखफर्सा, सुर्खेतका रामसिंह थापालाई लाग्छ, नेताहरूको काम भनेको भोट माग्ने हो, यसका लागि जनताको आँखामा छारो हाल्ने काम मात्र गर्छन् । उनी भन्छन्, ‘चुनाव आउँदा भिजेको बिरालो जस्तो बनेर नानाथरी प्रतिबद्धता लिएर आउँछन् । चुनाव सकिएपछि को नेता, को जनता कसैको वास्ता हुँदैन ।’
यस्तै वीरेन्द्रनगर–८ का शिव भण्डारीलाई पनि चुनावको समयमा उम्मेदवारहरूले दिने आश्वासन पूरा हुनेमा कत्ति पनि विश्वास छैन । उनी भन्छन्, ‘चुनावमा नेताहरू जनतासँग भोट माग्न आउँछन् उही आश्वासन मात्र दिएर जान्छन् । अहिलेसम्म को नेताले राम्रो काम गरेको छन् र ? हामी जनतालाई त यी नेताहरूले चाहिने बेलाको भाडो मात्र बनाउने हुन् ।’
वीरेन्द्रनगर–४ सुर्खेतका राजु हमालको मत पनि रामसिंह थापा र शिव भण्डारीको जस्तै छ । ‘जनताको मत पाउन र आफूले जित्ने लोभमा अहिले त विभिन्न प्रतिबद्धता र घोषणा पत्र लिएर आउँछन् । चुनाव जितेपछि नेता कहाँ छन् भन्नेसम्म जनतालाई थाहा हुँदैन’ हमालले भने । विगतका विभिन्न चुनावका उम्मेदवारहरूले पनि अनेक आश्वासन दिएर पूरा नगरेकोमा उनको गुनासो छ । भन्छन्, ‘यस अघिको स्थानीय तहको चुनावमा पनि हामीले भोट दिएर जिताएका नेताहरू पद र कुर्सीमा पुगेपछि जनतालाई बिर्सिसके । पहिले हात जोडेर भोट माग्ने नेता अहिले भेट्दा बोल्न सकेत छोडिसके । अनि कसरी गर्छन् यस्ता नेताले जनतासँग गरेको प्रतिबद्धता पूरा ?’
उल्लेखित तीन नागरिकको मतले के देखाउँछ भने उम्मेदवारहरूले मतदाताबाट विश्वास गुमाउँदै गएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैंछ । उम्मेदवारहरू चुनावी प्रचारका लागि टोल–टोलसम्म पुगेका छन् । चुनावी घोषणापत्र र सार्वजनिक कार्यक्रममार्फत् विकास र समृद्धिका आश्वासन बाँड्दै भोट मागिरहेका छन् । विगतमा जस्तै यसपटक पनि उम्मेदवारहरूले सडक, पुल, विद्युत, खानेपानी, सिँचाइ, सञ्चार लगायतका पूर्वाधार निर्माण नै आफ्नो प्राथमिकतामा पर्ने भन्दै मतदाताको मत जित्ने प्रयासमा छन् । हरेक निर्वाचनमा उम्मेदवारहरूका यस्तै आश्वासन सुन्दै आइरहेका मतदाताहरूलाई यसपटकका उम्मेदवारहरूका प्रतिबद्धता पूरा हुनेमा पनि विश्वास छैन । बरु उनीहरू भन्छन्, ‘चुनाव त केवल नेताहरूलाई कुर्सीमा पु¥याउने बाटो मात्रै भएको छ, उनीहरूका झुठा आश्वासनले हामी आजित भइसक्यौं ।’
रामसिंह थापाले भने, ‘लेखफर्साको कुरा गर्ने हो भने यसअघिको चुनावमा गाउँमा खानेपानी र बिजुली ल्याइदिन्छौं सबै नेताले भनेकै हुन् अब अर्को चुनाव आइसक्यो खै त कसैको मुख नै देखिदैंन । फेरि अबको चुनावमा भोट माग्न उही पुरानो आश्वासन दिन आउने हुन् ।’ वीरेन्द्रनगर–११ का टीका पोखरेललाई पनि चुनावमा दिएका आश्वासपछि पूरा हुनेमा कत्ति पनि विश्वास छैन । ‘पहिले कहिले नेताहरूले आफूले गरेको प्रतिबद्धता पुरा गरेका थिए र अबको चुनावमा गर्ने हुन् ?’
वीरेन्द्रनगर–१४ का टोपबहादुर हमालले पनि विगत लामो समयदेखि निर्वाचनमा भोट हाल्दै आएका छन् । हरेक निर्वाचनमा उम्मेदवारहरूले चिल्ला कुरा गरे पनि जितिसकेपछि भने आफ्ना प्रतिबद्धता नै भुल्ने गरेको अनुभव उनीसँग छ । नेताका पूरा नहुने आश्वासले आजित भइसकेको उनी बताउँछन् । ‘२०१८ सालदेखि नेताहरूको
आश्वासन सुन्दै आएका छौ, खै कसैले केही काम गरेनन् । अबको चुनावमा पनि नेताहरू आश्वासन नै दिने हुन्’ उनी भन्छन्, ‘चुनाव हुँदासम्म अनुहार देखाउन आउने हुन् चुनावपछि नेता कहाँ छन् भन्दै खोज्न जानुपर्छ । उनीहरूले गरेको प्रतिबद्धता पूरा गर्दैनन् ।’
चुनावको समयमा दिइने आश्वासनप्रति आम नागरिकको विश्वास नभए पनि उम्मेदवारहरू भने अल्पकालीन र दीर्घकालीन योजनाको नाम दिएर विभिन्न आश्वासन बाँड्दै मतदाता फकाउन प्रयासरत छन् ।

प्रकाशित मितिः   १५ मंसिर २०७४, शुक्रबार १२:१६