मतदान अधिकृतहरूलाई प्रशिक्षण

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ मंसिर ।
जिल्लाभर निर्वाचन केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई दिने प्रशिक्षण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वय र जिल्ला निर्वाचन कार्यालयको आयोजनामा प्रशिक्षण भएको हो ।

बिहीवारदेखि सुरु भएको प्रशिक्षणमा दुई सय ६३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी पाँच सय २६ जना सहभागी छन् । कार्यक्रममा मतदान केन्द्रको व्यवस्थापन, मतदान अधिकृतको काम, कतव्र्य र अधिकारका बारेमा प्रशिक्षण दिइनेछ । निर्वाचन कार्यालयले जिल्लामा रहेका उपसचिव, नायव सुब्बा, अधिकृत र खरिदारलाई मतदान केन्द्रको मुख्य जिम्मेवारी दिएको छ ।
यहि मंसिर १२ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी तीव्र पारिएको मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटीले बताए । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख चार हजार पाँच सय ७५ मतदाता छन् ।
जिल्लाका कूल मतदानस्थल मध्ये २० अतिसंवेदनशील, ७५ संवेदनशील मतदानस्थलका रूपमा लिइएको छ । जिल्लाका एक सय ३६ मतदानस्थलमा हुने सो निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवकसमेत गरी दुई हजार भन्दा बढी कर्मचारी परिचालन गरिने बताइएको छ । प्रशिक्षण आज (शुक्रवार) सम्पन्न हुँदैछ ।

प्रकाशित मितिः   १५ मंसिर २०७४, शुक्रबार १२:१३