दुई हजार कर्मचारी परिचालन हुँदै
सुर्खेत, १२ मंसिर ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचना नजिकिदैं गर्दा जिल्लामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्लामा रहेका उप–सचिव, नायव सुब्बा, अधिकृत र खरिदारलाई निर्वाचनका लागि खटाइएको हो ।
निर्वाचन कार्यालय सुर्खेतको समन्वयमा जिल्लामा कार्यरत कर्मचारीहरूको विवरणका आधारमा जिम्मेवारी बाँडफाँड गरिएको बताइएको छ । निर्वाचन आयोगको कर्मचारी व्यवस्थापन ऐनअनुसार मतदान केन्द्र र स्थलको जिम्मेवारी बाँडफाँड गरेको हो । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनौट गोलाप्रथाबाट गरिएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारी व्यवस्थापन पारदर्शी नभएको भन्दै कर्मचारी टे«ड युनियनहरूको गुनासो बढेकाले गोलाप्रथामार्फत् मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको हो ।
मुख्य निर्वाचन अधिकृत किरण सिवाकोटी, सहायक निर्वाचन अधिकृत मोहनसागर बस्याल, प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको रोहवरमा गोलाप्रथा गरिएको थियो । सोही गोलाप्रथाका आधारमा मतदान अधिकृत र सहायक मतदान अधिकृत चयन गरिएको हो । दुई सय ६३ मतदान केन्द्र रहेको सुर्खेतमा एक÷एक जना अधिकृत र सहायक मतदान अधिकृत छनौट गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिइको छ । यस्तै निर्वाचनका लागि आवश्यक परेको खण्डमा परिचालन गर्ने गरी १२ जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । जसअनुसार जिल्लामा कार्यरत पाँच सय २६ जना अधिकृत खटाइएको छ । सो मध्ये जन माध्यामिक विद्यालय वीरेन्द्रनगरलाई नमुना मतदानस्थलका रूपमा लिइएको छ । तीन मतदान केन्द्र रहेको जनमाविमा सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान स्थलको सुरक्षाका लागिसमेत महिला सुरक्षाकर्मी मात्रै परिचालन गर्नेबारे छलफल भइरहेको बताइएको छ । ‘निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न महिलाहरू नै खटाइने छ । मूख्य निर्वाचन अधिकृत सिवाकोटीले भने, ‘मतदान अधिकृतदेखि सुरक्षाकोसमेत उहाँहरूलाई जिम्मेवारी दिइनेछ ।’ उक्त केन्द्र महिलाहरू मात्रै राखेर सञ्चालन गर्ने योजना अनुसार कर्मचारी परिचालन गरिएको छ । उक्त मतदान स्थलमा आवश्यक पर्ने पहिलो घेराको सुरक्षामा सम्पूर्ण महिला सुरक्षाकर्मीहरू परिचालन गरिने बताइएको छ ।
विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको मुख्य
निर्वाचन अधिकृत सिवाकोटीले बताए । जिल्लाका कूल एक सय ३६ मतदानस्थलमा हुने सो निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवकसमेत गरी दुई हजार भन्दा बढी कर्मचारी परिचालन गरिने बताइएको छ । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई लाख चार हजार पाँच सय ७५ मतदाता छन् । निर्वाचनमा विभिन्न ११ राजनीतिक दलहरूबाट ५९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन् । जिल्लाका कूल मतदानस्थल मध्ये २० अतिसंवेदनशील, ७५ संवेदनशील मतदानस्थलका रूपमा लिइएको छ । उक्त निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा दुई जना निर्वाचित हुनेछन् भने प्रदेशसभा सदस्यका लागि चार जना निर्वाचित हुनेछन् ।
साझा बिसौनी संवाददाता ।