कार्यकर्तामा ‘छट्पटी’

साझा बिसौनी संवाददाता
जुम्ला, ११ मंसिर ।
जुम्लाको खलंगास्थित स्नोल्याण्ड होटलमा सोमवार बिहान समर्थक र कार्यकर्ताहरूको भीड थियो । जुम्लाको प्रदेशसभा (क) बाट वाम गठबन्धनका उम्मेदवार नरेश भण्डारी उनीहरूले प्रस्तुत गरेका ‘रिपोर्ट’ सुनिरहेका थिए । केही कार्यकर्ताले चुनाव जितिसकेको दाबी पेश गरिरहेका थिए, केहीले भने आन्तरिक घात भएकाले अहिले नै भन्न नसकिने बताइरहेका थिए ।


कार्यकर्ताहरूले खसेको मतका आधारमा आफ्ना उम्मेदवारले पाएको मत हिसाब जोडिरहँदा उम्मेदवार भण्डारी भने मौन थिए । कार्यकर्तामा मत परिणाम नआउँदा छट्पटी थियो । मतगणना सुरु नभएका कारण कसले जित्छ भन्ने जिज्ञासा समर्थकहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो । पहिलो चरण अन्तर्गत आइतवार सम्पन्न निर्वाचनपछि जुम्लामा सोमवार दिनभर उम्मेदवार र कार्यकर्ताहरू आन्तरिक समीक्षा गर्नमा व्यस्त देखिए । सडक, चौक, चिया पसल र दोबाटोमा मानिसहरू मतपरिणामबारे आ–आफ्ना दाबी पेश गरिरहेका थिए ।
निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु नभएका कारण मतदातामा मात्र होइन, स्वयम् उम्मेदवार र कार्यकर्ताहरूमा यतिबेला छट्पटी सुरु भएको छ । यही मंसिर २१ गतेपछि मात्र मतगणना हुने भएपछि सम्भावित मतपरिणामबारे जानकारी लिन यहाँका सर्वसाधारणसमेत आतुर छन् । तर अन्तिम मतपरिणाम थाहा पाउन यहाँका मतदाताले करिब दुई साता कुर्नुपर्ने छ ।
यसकारण पनि यहाँका उम्मेदवार, राजनीतिक दल र सर्वसाधारण चौक र चिया पसलमा सम्भावित मतपरिणामबारे आंकलन गरिरहेका छन् । कार्यकर्ता र समर्थकको बीचमा रिपोर्ट सुन्दै गरेका उम्मेदवार भण्डारीले भने, ‘मत परिणामबारे चासो राख्नु स्वभाविक हो, कसको पक्षमा नतिजा आउँछ त्यो त कुर्नेपर्ने भो । तर कार्यकर्ता र मतदातामा नतिजा जान्न छट्पटी देखिएको छ, उनीहरूले यसबारेमा चासो राखिरहेका छन् ।’
खलंगा बजारमा पार्टीका समर्थकहरूसँग कांग्रेस नेता कार्मा बुढा चुनावी समीक्षा गरिरहेका थिए । कांग्रेस कार्यकर्ताहरू पनि स्थानीय तहअनुसार आफ्नो पक्षमा खसेको सम्भावित मतको हिसाब जोडिरहेका थिए । केहीले हिसाब जोडेर वाम गठबन्धनभन्दा बढी देखाउँथे । केही कार्यकर्ताले भने कम मत आएको आंकलन गर्दै टिपोट गरिरहेका थिए । उनीहरूमा पनि निर्वाचनको नतिजा जान्ने हतारो देखिन्थ्यो । त्यत्तिकैमा कार्यकर्तालाई आश्वस्त पार्न नेता कार्मा बुढाले प्रयास गरे । उनी भन्दै थिए, ‘अहिले नै निराश हुनुपर्ने अवस्था छैन, केही दिन त कुरौं न साथीहरू । अब अहिले नै हतार गरेर के गर्नु ? आखिर जनताको मत त बाकसमा थुनिएको छ ।’ मतगणना ढिला हुने भएपछि आफूहरूलाई पनि अत्यास लागेको बुढाले सुनाए । उनले भने, ‘भोट हालेर सकियो, मतगणना सुरु गरेको भए हुने थियो । नतिजा एउटाको पक्षमा आउने नै छ, तर हामीलाई कुराएर छट्पटीमा राखे ।’
मतदाता र कार्यकर्ताले सम्भावित परिणामको बारेमा आपसमा छलफल गरिरहँदा यहाँका उम्मेदवारलाई पनि कार्यकर्ताको तथ्यांक सुन्न भ्याइनभ्याइ छ । आफ्नो पक्षमा खसेको मतको बारेमा उनीहरूले कार्यकर्ताहरूसँग जानकारी लिइरहेका छन् । प्रतिनिधिसभाका लागि कांग्रेसबाट उम्मेदवार बनेका देवेन्द्रबहादुर शाही खलंगा बजारमा भेटिए । उनी पनि आफ्ना समर्थकहरूको कुरा सुन्दै आफूलाई सम्हाल्ने प्रयास गर्दै थिए । वाम गठबन्धनसँग भिडेका उनलाई मतपरिणाम आफ्नो पक्षमा आउने वा नआउने भन्ने कौतुहलताले च्यापेको देखिन्थ्यो । उनी बजारमा भेटिने जोकोही सँग कसले जित्ला भन्ने प्रश्न गरिरहेका थिए । ‘चुनाव हो, जितहार त भईहाल्ला’ उनले भने, ‘तर मतपरिणाम थाहा पाउन धेरै कुर्नुपर्ने भयो, यसले त हामीलाई छट्पटी नै बनाउने भयो । सबैले नतिजा के हुन्छ भनेर सोध्न थाले, अहिले नै के भनेर जवाफ दिनु ?’
एमाले र माओवादीको गठबन्धन भएका कारण वाम गठबन्धनको पक्षमा नतिजा आउने आंकलन सर्वसाधारणले गरिरहेका छन् । तर वाम गठबन्धनभित्र पनि नतिजा सार्वजनिक नहुन्जेल कार्यकर्ताहरू ढुक्क छैनन् । बरु उनीहरूले मत गणना सुरु नहुँदै अन्तर्घात भएको बहस चर्काउन थालेका छन् । माओवादी र एमालेका कार्यकर्ताहरू छुट्टाछुट्टै र संयुक्तरूपमा बसेर समीक्षा गर्न थालेका छन् । माओवादीको उम्मेदवार भएको स्थानमा एमालेले र एमालेको उम्मेदवार भएको स्थानमा माओवादीले अन्र्तघात गरेको आरोप लगाउन सुरु भएको छ । अर्कोतर्फ कांग्रेस कार्यकर्ताहरू पनि पार्टीभित्रै अन्तर्घात भएको सुनाउन थालेका छन् ।

प्रकाशित मितिः   १२ मंसिर २०७४, मंगलवार १५:१४