मतदानबारे नागरिक अनभिज्ञ

सुर्खेत, १० मंसिर ।
मंसिर महिनाको चिसो । हातमा तसला र बालुवा । पिठ्यूँमा बदामको बोरा, बोरामाथि दाउरा । घरबाट बदाम व्यापार गर्न एकाबिहानै निस्केकी वीरेन्द्रनगर–१ का मनिसरा पहराइ मगर साँझ परेपछि मात्रै घर पुग्छिन् । बिहान उठेदेखि उनको दैनिकी वीरेन्द्रनगरस्थित घण्टाघरको दक्षिण गेट अगाडि बित्छ, जहाँ जीविकोपार्जनका लागि उनले मौसमी व्यापार गर्दै आएकी छिन् । मौसम अनुसार उनले मकै पोलेर, बदाम भुटेर र स्याऊ–सुन्तला बेचेर दिन बिताउँछिन् । हिजोआज भने बदाम नै उनको प्रमुख व्यापार बनेको छ ।


गाउँ–सहर जताततै निर्वाचनको रौनकले छोपिसक्दा पनि बदाम व्यापारलाई आम्दानीको प्रमुख स्रोत बनाएकी मनिसरालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले छोएको छैन । निर्वाचन आउन नौ दिन मात्रै बाँकी रहँदासम्म मनिसरासँग भोट माग्न कोही उम्मेदवार पुगेका छैनन् । ‘प्रचार–प्रसार गर्न नेताहरू आएका थिए, भन्ने सुनेकी छु’ उनले भनिन्, ‘बिहान उठेदेखि यतै ठीक्कै हुन्छ । कहाँ कतिबेला भाषण सुन्न जाने हो । फुर्सदै छन्, यहाँ मसँग भोट माग्न कोही आएका छैनन् ।’
उम्मेदवारहरू भोट माग्न नआए पनि निर्वाचनमा भोट हाल्ने सोच उनको छ । तर प्रतिनिधिसभा र प्रदेशसभामा कस्तो मतपत्रमा कसलाई भोट दिने भन्ने बारेमा भने उनी अनभिज्ञ छिन् । ‘पञ्चायतदेखि भोट हाल्दै आएकी छु । मैले के सिक्नुप¥यो र ? चिन्ह नछुने गरी छाप लगाउने त होला’ उनी भोट हाल्ने तरिकाबारे अनुमान लगाउँछिन् । तर यस पटकको निर्वाचनमा मतदान गर्ने तरिका उनले सोचेजस्तो सजिलो भने छैन ।
बराहताल गाउँपालिकाका ५३ वर्षीय मनबहादुर सार्कीलाई पनि आसन्न निर्वाचनमा कसरी मत हाल्ने भन्ने बारेमा जानकारी छैन् । ‘अस्तिको चुनाव (स्थानीय तहको) जस्तै त होला’ उनले भने, ‘विकास गर्ने नेतालाई आँखा बुझेरै छाँप लगाउने हो ।’ यद्यपि यस पटकको निर्वाचनमा कति वटा मतपत्र छन् र कुन मतपत्रमा कतिवटा छाप लगाउनुपर्ने हो भन्नेबारे उनलाई जानकारी नै छैन । वीरेन्द्रनगरको घण्टाघरस्थित सडक छेउमा बसेर जुत्ता सिलाउँदै आएका उनलाई न मतदानबारे थाहा छ न आजसम्म कसैले सिकाएका छन् ।
मतदान गर्ने तरिकाबारे जानकारी नभएका मनिसरा र मनबहादुर त उदाहरण मात्रै हुन् । जिल्ला निर्वाचन कार्यालयबाट स्थानीय तहमा नमुना मतदानबारे शिविर सञ्चालन गरे पनि सबै मतदातालाई समेट्न सकेको छैन । प्रचार–प्रसारलाई तीव्र पारेका दलहरूदेखि मतदाता शिक्षा दिने अभियान थालेका अभियानकर्ता समेतलाई आफूले भेट्न नपाएको उनले बताए ।
बिहानको मिरमिरे उज्यालोसँगै आफ्नो दैनिकी व्यापार–व्यवसाय सुरु गर्ने मनिसरा र मनबहादुर जस्ता थुपै्र मतदाताले मतदान कसरी गर्ने भन्ने बारेमा जानकारी छैन् । विगतका निर्वाचनलाई सम्झेरै मतदान गर्ने योजना बनाएका अधिकांश मतदाताबाट आसन्न निर्वाचनमा बदर मत बढ्ने आंकलन गर्न सकिन्छ । प्रौढ शिक्षा लिएकालाई मात्रै होइन्, शिक्षित युवायुवतीसमेत नमुना मतदानकै बेलामा निकै अलमलिने गरेका छन् । कति मतपत्रमा कति भोट हाल्ने भन्ने बारेमा अधिकांश उच्चशिक्षा अध्ययन गर्दै आएका युवायुवतीहरूलाई समेत जानकारी छैन् ।
आइतवार जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा भएको नमुना मतदानमा
सहभागी ४४ जना उच्च शिक्षा अध्ययनरत युवायुवतीहरूमध्ये अधिकांशले नमुना मतपत्र बदर गरे । नमुना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर, जान्ने–बुझ्नेले नै मत बदर गरेको पाइएको छ । तालिम समन्वयकर्ता चौहानसिंह रानाका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तीन मतपत्रमा चार छाप लगाउनुपर्ने हुन्छ । तर, नमुना मतदानमा समानुपातिक मतपत्रमा एउटै चिन्हमा मात्रै छाप लगाइएको पाइएको छ । यस्तै, प्रतिनिधिसभा अन्तर्गत एउटा मतपत्रमा ल्याप्चे लगाइएको उनले बताए ।
‘बदर मत रोक्न चुनौती बनेको छ’ उनले भने, ‘झण्झटिलो मतपत्र भएकाले पनि शिक्षित वर्गबाटै बदर हुने सम्भावना बढी छ ।’ मतदाताले मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छ÷छैन, कस्तो मतपत्र प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि हो भन्ने बारेमा अलमल कायमै रहेको बताए । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवारका लागि भोट खसाल्न राखिएका छुट्टाछुट्टै रङका मतपेटिकामध्ये कुन मतपत्र कहाँ खसाल्ने भनेर मतदाता अल्मलिएको देखियो । कसरी मत संकेत गर्ने र मतपत्र पट्याउने भनेर अल्मलिएका सहभागी पनि भेटिए ।
उक्त नमुना मतदानका क्रममा प्रतिनिधिसभातर्फ कूल खसेको ४४ मतमध्ये दुई मत, प्रदेशसभातर्फ ६ मत र सबैभन्दा धेरै समानुपातिकतर्फ नौ मत बदर भएको थियो । कुनैमा ल्याप्चे लगाइएको, कुनैमा ६ ठाउँमासम्म स्वस्तिक छाप लगाइएको थियो । स्थानीय तहका बेला सात छाप लगाउनु पर्ने भनेर सिकाइएकाले पनि त्यसैगरी भोट खसाल्नुपर्ने धेरैको बुझाइ छ । सोही अनुसार ५÷६ ठाउँमा छाप लगाइदिनसक्ने भएकाले पनि बदर मत रोक्न चुनौती बनेको जिल्ला निर्वाचन अधिकारी सुनिता थापाले बताइन् ।
निर्वाचन आयोगले समयमै मतदाता शिक्षा गाउँगाउँमा पु¥याउन नसक्दा जिल्लाका मतदातामा मतदान प्रक्रियाबारे अन्योल देखिएको हो । निर्वाचन कार्यालयबाट खटाइएका स्वयम्सेवकले काम गरे÷नगरेको बुझ्नलाई निरन्तर निगरानी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन शिक्षाको अभावले स्थानीय निर्वाचनमा हजारौं मतपत्र बदर भएका थिए ।

प्रकाशित मितिः   ११ मंसिर २०७४, सोमबार १४:३६