अवैध रूपमा ओसारिन्छन् बालबालिका

डिलप्रसाद शर्मा
सुर्खेत, ११ मंसिर ।
घटना–१
गतवर्षको कार्तिक अन्तिम साता प्रहरीले डोल्पाबाट काठमाडौं लैजाँदै गरिएका २८ जना बालबालिकाको उद्धार ग¥यो । ती बालबालिकालाई बौद्ध शिक्षा दिने भन्दै विना कागजात अवैध रूपमा नेपाल जोनाङ्ग बौद्धिष्ट इन्ष्टिच्युट फरफिङ काठमाडौं लैजान लागिएको थियो ।
घटना–२

अवैध रूपमा काठमाडौं लैजाँदै गरिएका कालिकोट र मुगुका आठ जना बालबालिका विभिन्न समयमा प्रहरीले उद्धार ग¥यो । उनीहरूलाई पनि पढाइदिने प्रलोभनमा लैजान लागिएको थियो । यद्यपि समयमै सूचना पाएपछि प्रहरीले उद्धार गर्न सफल भयो ।
उल्लेखित दुई घटना अभिभावकलाई प्रलोभनमा पारी अवैध रूपमा बालबालिका ओसार–पसार हुने गरेको प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । प्रदेश नं. ६ बाट विभिन्न समयमा विभिन्न व्यक्ति र संस्थाहरूले यसरी अवैध रूपमा बालबालिका ओसार–पसार गर्ने गरेको पाइएको छ । जसले गर्दा पछिल्लो समयमा ६ नम्बर प्रदेशमा बालबालिका स्थानान्तरण बढ्दै गएको छ । अभिभावक र संरक्षक हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्य एवम् पालन–पोषणको प्रलोभनमा पारी बालबालिका स्थानान्तरण हुने गरेका छन् ।
किन हुन्छ ओसार–पसार ?
उद्धार गरिएका बालबालिकाहरूको तथ्यांक हेर्दा प्रदेश नं. ६ को कर्णाली क्षेत्रबाट बालबालिका बढी अवैध रूपमा ओसार–पसार हुने गरेको पाइएको छ । गरिबी र अशिक्षाको फाइदा उठाउँदै अभिभावकलाई प्रलोभनमा पारी बालबालिका काठमाडौं पु¥याउने गरिएको छ । यसरी अवैध रूपमा लगिएका बालबालिकालाई विभिन्न उद्योगमा श्रमिकको रूपमा प्रयोग गर्नेदेखि बेचबिखनसमेत हुने गरेको बताइएको छ ।
गरिबी र अशिक्षाले पिरोलिएको कर्णाली क्षेत्रका बालबालिका असुरक्षित बन्दै गएको जिल्ला बालकल्याण समिति सुर्खेतले जनाएको छ । अभिभावकविहीन, सडक बालबालिका मात्रै नभइ आमाबुबा भएका बालबालिकालाई प्रलोभनमा पारी बाह्य जिल्ला लिने क्रम बढ्दो रहेको बताइएको छ । खुलेआम बालबालिका स्थानान्तरण गरिनुले सडक बालबालिका बेचबिखनमा पर्ने जोखिम बढेको जिल्ला बालकल्याण समितिका बालसंरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले बताए । ‘जिल्लामा सडक बालबालिका संख्या बढ्दै गएको छ’ उनले भने, ‘सडक बालबालिका वीरेन्द्रनगरका होटेल, पसलहरूमासमेत श्रम गर्न बाध्य छन् । उनीहरू समेत प्रलोभन र भ्रममा पर्न सक्छन् । जसले गर्दा स्थानान्तरण हुने ठूलो जोखिम छ ।’ उनका अनुसार जिल्लामा दुई हजार बालबालिका अभिभावकविहीन छन् ।
जोखिम बढ्दो
सरकारले बालअधिकार संरक्षणका लागि बनेका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा बालबालिका माथि जोखिम बढ्दै गएको सम्वद्धहरूले बताएका छन् । अभिभावकविहीन बनेका र सडक बालबालिकालाई संरक्षण दिन नसक्दा पनि बालबालिका बेचबिखनको जोखिम बढेको हो । ‘सात÷आठ जना सडक बालबालिका राख्नसमेत समस्या छ’ आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले भनिन्, ‘बालबालिकाका सवालमा सरकार नै जिम्मेवार छैन ।’ पछिल्लो समयमा बालअधिकार संरक्षणको चुनौती बन्दै गएको उनले बताइन् । अभिभावक र संरक्षणको अभावमा रहेका सडक बालबालिका विभिन्न कुलतमासमेत फस्दै गएका छन् । कुलतमा फसेका बालबालिकाका लागि पुनस्र्थापना केन्द्र नहुँदा सडक बालबालिकाका उद्धार हुन सकेको छैन । देखासिखीका कारण सडकमा बस्दै आएका बालबालिकालाईसमेत पुनस्र्थापित गर्न समस्या हुने गरेको निर्देशक शाहीले बताइन् । निःशुल्क पढाइदिने प्रलोभनमा बालबालिका काठमाडौं लगिए पनि श्रममा लगाउनेदेखि बेचबिखनसमेत हुने गरेको जनाइएको छ ।
बालगृहको अभाव
उद्धार गरिएका बालबालिकालाई राख्नका लागि यस क्षेत्रमा बालगृह नै छैन । प्रदेशबाट बालबालिका बाहिरी जिल्लामा लिनुपर्ने समस्या समाधानका लागि प्रदेश तहकै बालगृह सञ्चालन गरिनुपर्ने सरोकारवालाको माग छ । ६ नम्बर प्रदेशको प्रस्तावित राजधानीका रूपमा रहेको सुर्खेतमा बालबालिका संरक्षणको अवस्था कमजोर रहेको पुनस्र्थापना केन्द्र स्थापना गर्न माग गरिएको हो ।
राज्य सञ्चालनका लागि आवश्यक पर्ने दक्ष युवा जनशक्ति उत्पादन गर्न सडक बालबालिकालाई समेत उच्च शिक्षादेखि आधारभूत आवश्यकता सरकारले जिम्मेवारी लिने गरी बालगृह सञ्चालन गर्नुपर्ने जिल्ला युवा सञ्जाल सुर्खेतका सदस्य सिर्जना जिसीले बताइन् । शिक्षा तथा पालन पोषणको प्रलोभनमा पर्ने बालबालिकाका लागि प्रदेश तहमा आवश्यक कानुन बनाइनुपर्ने उनको भनाइ छ । प्रदेशस्तरमा बालगृह सञ्चालनमा आए हिमाली जिल्लाबाट राजधानी काठमाडौं नै बालबालिका स्थान्तरण हुनुपर्ने समस्या अन्त्य हुने विश्वास लिइएको छ ।

प्रकाशित मितिः   १२ मंसिर २०७४, मंगलवार १५:१५