‘देउता’को शरणमा उम्मेदवार
साझा बिसौनी संवाददाता
जुम्ला, ९ मंसिर ।
चन्दननाथ नगरपालिका वडा नम्बर १० निवासी लक्ष्मी देवकोटाको घरमा कांग्रेसका कार्यकर्ताहरू मत माग्न पुगे । साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटाको परिवारले पनि आइतबार हुने निर्वाचनमा मत दिने सहमति जनाए ।
तर उक्त सहमतिमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । अन्ततः उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घण्ट छुन लगाए । देवकोटा परिवारले उक्त घण्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए । आफूले पुज्ने देउताको घण्ट छोएपछि यो परिवारका सदस्यहरूले वाचा अनुसार नै अब मतदान गर्ने भएका छन् । घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लो पटक स्थानीय चुनावमा पनि घण्ट छुन लगाएका थिए, त्यसबेला पनि हामीले आफ्नो वाचा अनुसार नै भोट दियौं । यसपाली पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँबाँया गर्दैनौं ।’
मौन अवधि सुरु भएपछि आन्तरिक प्रचारमा रहेका यहाँका दल र तिनका उम्मेदवारले मतदातालाई देउताको कसम खुवाएर मत दिने बाचा गराएका हुन् । जुम्ला लगायत कर्णालीका जिल्लामा स्थानीय बासिन्दा आफ्नो कूल देउतामा विश्वास गर्दछन् । स्थानीयले देउतालाई साँक्षी राखेर खाएको कसम र गरिएको वाचाअनुसार नै काम गर्ने भएकाले पनि दलहरूले यो उपाय अपनाएका हुन् । यहाँका मतदातालाई उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचनको अघिल्लो दिनसम्म देउताको कसम खुवाउँदै मत माग्न व्यस्त देखिए । ग्रामीण क्षेत्रमा मात्र होइन, सदरमुकाम र नगरभित्रका मतदातालाईसमेत दलहरूले घरमै पुगेर देउताको कसम खुवाएका छन् । देउताको कसम खाँदै मत दिने वाचा गरेका मतदातालेसमेत वाचा अनुसार नै मत दिने विश्वास दलहरूलाई दिलाएका छन् । बाचा अनुसार काम नगर्दा देउता रिसाउने र अनर्थ हुने भन्दै वाचा अनुसारको काम पूरा गर्ने स्थानीय बासिन्दा बताउँछन् ।
‘भोट त एउटालाई दिनैपर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’ चन्दननाथ– ८ निवासी हरिकला शाहीले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं । तर माओवादीका मान्छेले घण्ट छुवाएका छन्, अब वाचा गरिसकेपछि धोका दिनु त भएन ।’ उनले आफ्नो टोलका अधिकांशलाई नेताहरूले देउता सांक्षी राखेर भोट मागेकोसमेत जानकारी दिइन् । उनले भनिन्, ‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ । त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरुले पनि त्यही गर्ने सल्लाह गरेका छन् ।’ यसअघि पनि आफूहरूलाई स्थानीय तहको निर्वाचनमा दलहरूले घण्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन् । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका ग्रामीण क्षेत्रका मतदातालाई रिझाउन उम्मेदवार र तिनका कार्यकर्ताहरूले विभिन्न उपायहरू अपनाउने गरेका छन् । यसपालीको निर्वाचनमा जुम्लामा अधिकांश उम्मेदवार र दलहरूले आफ्नो पक्षमा मत खसाल्न मतदातालाई घरमै पुगेर उनीहरूले पुज्ने कूल देउताको कसम नै खुवाएका हुन् ।
आज आइतवार हुने निर्वाचन अन्तर्गत जुम्लामा वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभाको एउटा र प्रदेशसभाका दुईवटा क्षेत्र रहेको जुम्लामा मौन अवधिको फाइदा उठाउँदै दलहरूले मतदातालाई आकर्षित गरेका हुन् । घरदैलो अभियानमा रहेका दलका कार्यकर्ता र उम्मेदवारले घरमुलीलाई घण्ट छुवाउने गरेका छन् । घरमुलीको सल्लाहमा परिवारका अन्य सदस्यहरूले मत खसाल्ने भएकाले पनि दलहरूले घरमुलीलाई नै देउता साँक्षी राखेर बाचा खुवाउने गरेका हुन् ।
यस्तै उम्मेदवारहरू अन्तिम समयमा आएर स्थानीय धामी, झाँक्री र गाउँका अगुवाहरूको शरणमा पुगेका छन् । भोट बैंकको रूपमा रहेका धामी र गाउँका अगुवालाई प्रभावित बनाउँदै चुनाव जित्ने रणनीतिमा यहाँका उम्मेदवारहरू लागेका छन् । स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आफूहरूले यसपाली पनि मतदातालाई रिझाउन देउता साँक्षी राखेर मत मागेको एमालेका एक कार्यकर्ताले बताए ।
साझा बिसौनी संवाददाता ।