चुनावको मुखैमा दल–बदल तीव्र

डिलप्रसाद शर्मा
सुर्खेत, ९ मंसिर ।
केही दिन पहिले संघीय समाजवादी फोरम नेपालका नेता दिपलाल दमाइ (दिलिप) नेपाली कांग्रेसमा प्रवेश गरे । सुर्खेत क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका दमाइ निर्वाचनको मुखैमा आएर पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
गत बिहीवार नेकपा मसाल सुर्खेतका प्रवक्ता बालकृष्ण सुनार नेकपा एमालेमा प्रवेश गरे । वीरेन्द्रनगरमा भएको चुनावी आमसभाबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनारलाई पार्टी प्रवेश गराए । जनमोर्चा सुर्खेतका पूर्वअध्यक्षसमेत रहेका सुनारसँगै कार्यकर्तालेसमेत वाम गठबन्धमा प्रवेश गरेका छन् ।


शनिवार मात्रै निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवार गणेशबहादुर शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । प्रेस विज्ञप्ती जारी गर्दै उनले वाम गठबन्धनबाट क्षेत्र नम्बर २ का उम्मेदवार विन्दमान विष्टलाई समर्थन गर्ने बताएका छन् ।
दिलिप, बालकृष्ण र गणेश प्रतिनिधि पात्र मात्रै हुन् । चुनावको मिति नजिकिएसँगै चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारहरू दल–बदल गराउन सक्रिय देखिएका छन् । चुनावको मुखैमा कार्यकर्ता तथा मतदाता एउटाबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन १० दिन बाँकी रहँदा सुर्खेतका टोल–टोलमा छलफल तथा सभा गरी पार्टी प्रवेश गराउने होड नै चलेको छ । निर्वाचन प्रचारमा होमिएका दलहरूले आफ्नो वर्चस्व कायम गर्न र सर्वसाधारणलाई आकर्षित गर्न पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिएका छन् ।
चुनावी अभियान लिएर गाउँ पुगेका उम्मेदवारले विपक्षी दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएर मत बढाउने प्रयासमा देखिएका छन् । हाल लोकतान्त्रिक र वाम गठबन्धनका सभामा पार्टी प्रवेशको लहर चलेको छ । चुनाव नजिकिइरहँदा दुवै गठबन्धनका उम्मेदवार मतदाता तान्न अन्य दलका कार्यकर्ता प्रवेश गराउने होडबाजीमा छन् ।
राजनीतिक दल र उम्मेदवारहरूले सडक, विद्यालय निर्माण लगायत विकासका योजना सुनाइरहेका छन् । नेपाली कांग्रेस, एमाले–माओवादी केन्द्रको वाम गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीले प्रचारलाई तीव्रता दिएका छन् । ‘चुनाव प्रचारमा व्यस्त छौं । घरदैलो र सभा–सम्मेलन गरिरहेका छौं,’ नेपाली कांग्रेसका एक नेताले भने, ‘पार्टी प्रवेशको लहर पनि चलाएका छौं ।’ जिल्लामा नेपाली कांग्रेस र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
‘हेभीवेट’ र नयाँ अनुहार निर्वाचनको प्रतिष्पर्धामा छन् । स्थानीय तहलाई आंकलन गर्दा जिल्लालाई गढ ठान्ने कांग्रेसका लागि वाम गठबन्धन चुनौती बनेको छ । जिल्लास्थित नेता तथा उम्मेदवारहरूले जनमत आफ्नो पोल्टामा पार्न चुनावी अभियानलाई तीव्र पारेका छन् । ‘अगुवा कार्यकर्तालाई प्रशिक्षणका काम भइरहेको छ । त्यससँगै प्रचार–प्रसार पनि जारी राखेका छौं,’ नेकपा एमाले सचिव मोहनकुमार बडुवालले भने, ‘विभिन्न पार्टी छाडेर आउनेलाई स्वागत गरिरहेका छौं । पार्टीमा अन्य पार्टीबाट आउनेकोसमेत प्रभाव बढ्दो छ ।’
जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ (क) मा ४४ हजार तीन सय ४७ मतदाता रहेका छन्, भने (ख) मा ५७ हजार दुई सय ९० मतदाता रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २
(क) मा ५६ हजार दुई सय ६२ मतदाता छन् भने ४६ हजार ६ सय ४३ जना मतदाता निर्वाचन क्षेत्र नम्बर २ (ख) मा छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाताको संख्या दुई लाख चार हजार पाँच सय ७५ रहेको छ । राजनीतिक दलहरूले पार्टी छोडेका र निस्क्रिय रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने प्रयासमा लागेका छन् ।

प्रकाशित मितिः   १० मंसिर २०७४, आईतवार १६:५९