कर्णालीवासीलाई सडककै चिन्ता

साझा बिसौनी संवाददाता
कालिकोट, ८ मंसिर ।
खाँडाचक्र नगरपालिका निवासी ५६ वर्षीय तेजबहादुर विष्टसँग धेरै आकांक्षा छैनन् । निर्वाचन नजिकिदैं जाँदा आफूकहाँ भोट माग्न आउने सबै उम्मेदवारलाई उनी भन्छन्, ‘पहिला घोषणापत्र देखाउ, सडकका योजना के–के छन् ? कर्णाली राजमार्ग सुधार गर्ने योजना रहेछ भने मात्र, म भोट दिउँला ।’ तर उनको यो प्रश्नको उत्तर जिल्लाका कुनै उम्मेदवार र दलसँग छैन ।


जीवनका अधिकांश वर्षहरू भारी बोकेर पैदल हिँडेका विष्टले यसपाली भोट माग्न आउने उम्मेदवारलाई एउटै प्रश्न तेस्र्याउँदै आएका छन् । बल्लतल्ल सञ्चालनमा आएको कर्णाली राजमार्गको दयनीय अवस्था र यात्रामा भोग्नु परेको सास्तीका कारण उनी यसपाली आफ्नो भोटलाई राजमार्ग सुधारको योजनासँग साट्ने तयारीमा छन् । उनी भन्छन्, ‘नेताहरूले धेरै आश्वासन दिएका छन्, सिंहदरबारको अधिकार आँगनमै ल्याउने सपना पनि बाँडेका छन् । तर त्यो सिंहदरबारले हाम्रो ज्यान जोगिँदैन, कर्णाली राजमार्गलाई सुधार गरिदिए पुग्छ ।’
सुर्खेत हिँडेका जुम्ला सिंजाका बलबहादुर रावत दिनभर लगाएर मान्म आइपुगे । सडकको अवस्था सही भएको भए उनी एकैदिनमा सुर्खेत पुग्ने थिए । तर कर्णाली राजमार्गको विभिन्न ठाउँमा जाम भएपछि उनी आधा बाटोमै बास बस्नुपर्ने अवस्था आयो । ‘नेताहरूले भोट माग्न गाउँमा ठूलाठूला योजना बाँडेका छन्, बाटोको हालत यस्तो छ’ उनले आफ्नो पीडा पोख्दै भने, ‘पहिला गाडी नहुँदा हिँडेर जान्थ्यौं, अहिले गाडी चड्दा पनि सुख छैन । साँघुरो सडकमा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता छ, यसपाली पनि कोही नेताले राजमार्ग सुधार्ने योजना नै ल्याएनन् ।’ कर्णालीका कुनै उम्मेदवारले यो राजमार्गको स्तरोन्नति गर्ने योजना समावेश नगरेको भन्दै उनले भोट दिनुको कुनै अर्थ नहुने बताए ।
कर्णालीको भाग्यरेखा मानिने यो राजमार्गको अवस्था जीर्ण छ । पहिरो र बाढीका कारण भत्किएको सडक सुधार गरिएको छैन । साँघुरो भएका कारण दोहोरो सवारी सञ्चालन हुने अवस्था छैन । अधिकांश स्थानमा खाल्डाखुल्डी र हिलोका कारण घण्टौंसम्म सवारी जाम हुने गरेका छन् । साँघुरो सडकका कारण यो राजमार्गमा हालसम्म धेरै नागरिकले अकालमै ज्यान गुमाइसकेका छन् । सवारी दुर्घटनाका कारण मृत्युमार्गको उपनाम पाएको यो राजमार्ग सुधारका लागि कर्णालीका राजनीतिक दल र उम्मेदवारले प्राथमिकता नदिएपछि कर्णालीवासी निराश छन् । यसपाली घरमा भोट माग्न आउने उम्मेदवारलाई यहाँका मतदाताहरू एउटै प्रश्न सोध्छन्, ‘कर्णाली राजमार्गको सुधार कहिले हुन्छ ?’
कालिकोटका उम्मेदवारले मतदातालाई विभिन्न आश्वासनहरू बाँडिरहेका छन् । तर यो राजमार्ग सुधारका लागि उनीहरूसँग कुनै ठोस योजना भने छैन । यहाँका उम्मेदवारले आफ्ना घोषणापत्रमा ग्रामिण सडकलाई प्राथमिकतामा राखेका छन् । तर कर्णालीलाई अन्य क्षेत्रसँग जोड्न एकमात्र कर्णाली राजमार्गलाई उपेक्षा गरिएको भन्दै मतदाताहरू रुष्ट छन् । उनीहरूले
उम्मेदवारलाई ग्रामीण सडकसँगै यो राजमार्गको स्तरोन्नति हुनुपर्ने माग राख्न थालेका छन् । कालिकोट लालुकी ५२ वर्षीया गौमाया शाहीले गाडी देखेको एक दशक मात्रै वितेको छ । तर उनलाई अहिले पनि गाडी चड्न डर लाग्छ । बारम्बार कर्णाली राजमार्गमा भइरहने सवारी दुर्घटनाका कारण उनी यात्रा गर्न डराउँछिन् । सदरमुकाम मान्ममा किनमेल गर्न आएकी उनले भनिन् ‘सिंहदरबार गाउँमै आयो रे, अब राजधानी पनि यतै बनाउने हो भन्छन् । तर हामीलाई त्यो सिंहदरबार भन्दा पहिला यो सडक महŒवपूर्ण छ, जसले सडक दुर्घटना नहुने गरी सुधार्छ त्यसैलाई भोट दिने हो ।’
कालिकोट पिली निवासी लक्ष्मी विष्ट भन्छिन्, ‘आजसम्म पाँच पटक भोट हालिसकें, कसैले केही काम गरेनन् । न गाउँमा बाटो पुगेको छ, न त बिजुली । यसपाली दुःख गरेर भोट हाल्न गइन्न, काम नलाग्ने भोट हालेर के गर्नु ?’ उनले पनि यसपाली जिल्लाका उम्मेदवारले बाँडेका आश्वासनलाई विश्वास गरेकी छैनन् । उनले भनिन्, ‘नेताले जितेर गए, हाम्रा दिन उस्तै छन् । कसका कुरालाई विश्वास गर्नु ? कसैले पनि भनेको वचन पुरा गरेनन् ।’ कालिकोटवासीको मात्रै होइन, कर्णाली राजमार्गको स्तरोन्नतीको मुद्दा यतिबेला कर्णालीवासीको साझा माग नै बनेको छ । मतदाताको मुख्य मागका रूपमा कर्णाली राजमार्गको सुधार रहे पनि उम्मेदवार र राजनीतिक दलहरूले स्थानीय गाउँ र टोलको मत तान्ने गरी एजेण्डाहरू लिएर प्रचारमा जुटेका छन् । मतदाता फकाउन दल र तीनका उम्मेदवार व्यस्त रहेका बेला यहाँका बासिन्दा भने कर्णाली राजमार्गको सुधार र गाउँमा सडक विस्तारको एजेण्डा बोकेका उम्मेदवार खोजिरहेका छन् ।

प्रकाशित मितिः   ९ मंसिर २०७४, शनिबार १६:५२