‘स्थिर सरकार र विकासका लागि वाम एकता’

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कसैले ढाल्न नसक्ने सरकार बनाउने दाबी गरेका छन् । बिहीवार सुर्खेतको वीरेन्द्रनगरमा भएको वाम गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा कसैले ढाल्न नसक्ने स्थिर सरकार बन्ने दाबी गरेका हुन् ।

 

प्रत्येक ६÷६ महिनामा सरकार फेरिने नियतिको अन्त्य गर्न र मुलुकलाई स्थिर सरकार दिएर समृद्ध बनाउने उद्देश्यसहित नेकपा एमाले र माओवादीको गठबन्धन कायम गरिएको उनको भनाइ छ । निर्वाचन लगत्तै दुई पार्टीबीच एकता हुने भन्दै ओलीले त्यसपछि बन्ने सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताए । ‘निर्वाचनपछि हाम्रै नेतृत्वमा स्थिर सरकार बन्छ र त्यसले मुलुकमा समृद्धि ल्याउँछ’ ओलीले भने ।
वलीले देश विकास हुन नसक्नुका कारण अस्थिर राजनीति भएको बताएका छन् । विगतको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न संविधान कार्यान्वयन महŒवपूर्ण रहेको भन्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट स्थिर नेतृत्व गर्ने विकल्पका रूपमा वाम एकता उभिएको बताए । ‘देशमा स्थिरता ल्याउन माओवादी केन्द्र र एमाले एक भएका छौं’ उनले भने, ‘विकास र समृद्धिका लागि वाम एकता बाहेक अन्य विकल्प छैन् ।’ उनले देशको समृद्धिका पक्षमा काम गर्ने भएकाले वाम गठबन्धनको सरकार आवश्यक रहेको जिकिर गरे । भ्रष्टाचार, स्वच्छता, पारदर्शीताले देश विकास हुने भन्दै उनले आसन्न निर्वाचनबाट बाम गठबन्धको सरकारलाई कसैले पनि ढाल्न वा ढलाउन नसक्ने जिकिर गरे ।
माओवादी र एमालेबीचको गठबन्धनलाई छिटै एकता गर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका वलीले चुनावमा जित्नका लागि मात्रै तालमेल नभइ देश बनाउनका लागि एकता भएको बताए । ‘चुनावका कारण पार्टी एकता हुन सकेन उनले भने, प्रचण्ड जी लचक हुनुभो, यसमा उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ माओवादी र एमालेबीच औपचारिक रूपमा पार्टी एकताका लागि अन्तिम तयारी भएको भन्दै उनले निर्धक्कसँग वाम गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे । नेपाली कांग्रेसले वाम गठबन्धनले लोकतान्त्रिक खतरामा पुग्यो भन्नु गलत भएको उनले बताए । ‘साइनबोर्ड मात्रै बाँकी रहने भो भनेरै धेरै डराएका छन् । उनले भने, ‘हामी कसैलाई डराउन एक भएका होइनौं । देशमा विकास, समृद्धि र शान्ति स्थापना गर्न एक भएका छौं भन्ने सबैले बुझ्नु जरुरी छ ।’
उनले मुलुकको विकास र आफ्ना सन्ततिहरूको सुन्दर भविष्य चाहने हरेक नेपालीले वाम गठबन्धनका उम्मेदवारलाई जिताउने जिकिरसमेत गरे । कम्युनिष्टको नेतृत्वमा सरकार बनेपछि लोकतन्त्र खतरामा पर्छ भन्नु भ्रम मात्रै भएको उनले स्पष्ट परो । नेपाली कांग्रेसका नेताहरूले कम्युनिष्ट सरकार बनेपछि लोकतन्त्र खतरामा पर्ने भनेर भ्रम छरिरहेको भन्दै ओलीले त्यस्तो भ्रममा नपर्न आग्रह गरे । ‘जसले लोकतन्त्र प्राप्तीका लागि लड्यो उनीहरूबाटै लोकतन्त्र खतरामा कसरी पर्छ ?’ ओलीले प्रश्न गरे । ज्योतिषीले प्रधानमन्त्री बनाइ दिनेहरूलाई जनताको वास्ता नहुने भएकाले जनताको साथ पाएर सकार बनाउने वाम गठबन्धनलाई भोट दिन ओलीले नागरिकसँग आग्रह गरे ।
सभामा सहभागी नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले वाम एकतालाई कसैले रोक्न नसक्ने दाबी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर सरकार बनाउने दाबी गरे । उनले मुलुकलाई सही मार्गमा हिँडाउन वामपन्थी दलहरूले निर्वाचन जित्नैपर्ने बताए । निर्वाचनमा वाम गठबनधनले दुई तिहाइ बहुमत ल्याउने बताउँदै बादलले चुनावपछि वामपन्थी सरकार बन्न कसैले नरोक्ने बताए । उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका आधारहरू तयार भइसकेको बताउँदै औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको जनाए ।
सभामा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावली, पोलिटब्यूरो सदस्य यामलाल कँडेल लगायतका नेताहरूले सम्वोधन गरेका थिए । सुर्खेतमा आमसभा गर्नुअघि ओली र बादलले दैलेखमा आयोजित दुई छुट्टाछुट्टै आमसभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित मितिः   ८ मंसिर २०७४, शुक्रबार १४:३८