दुई हजार बालबालिका अभिभावकविहीन

डिलप्रसाद शर्मा
सुर्खेत, ६ मंसिर ।
जिल्लामा बालबालिकामाथि जोखिम बढ्दै गएको छ । जिल्ला बालकल्याण समिति सुर्खेतद्वारा सार्वजनिक तथ्यांक अनुसार बालबालिका माथि हिंसा, दुव्र्यवहार लगायतका अन्य जोखिम बढ्दै गएको पाइएको हो । जिल्लाका करिब दुई हजार बालबालिका अभिभावकविहीन बनेको बताइएको छ ।


जिल्ला बालकल्याण समितिको प्रतिवेदन २०७४ अनुसार सुर्खेतमा ८८ हजार ४३ जना बालक र ८६ हजार पाँच सय ५८ जना बालिका गरी एक लाख ७४ हजार ६ सय एक जना बालबालिका रहेका छन् । जसमध्ये आर्थिक वर्ष २०७३÷०७४ मा तीन जना बालबालिका घरेलु हिंसाबाट पीडित भएको तथ्यांकमा उल्लेख छ । यस्तै ४४ जना बालबालिका बालश्रम गर्न बाध्य रहेका छन् भने, २६ जना बालिकामाथि जबरजस्ती करणी भएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी १८ जना बहुविवाह र दुई जना बालबालिका बेचविखन तथा ओसार–पसार गरिएको जनाइएको छ । प्रतिवेदन अनुसार सुर्खेतमा ८७ जना लागू औषध तथा दुव्र्यसनीको प्रयोग गर्दै आएका छन् भने, दुई जना एचआईभी संक्रमित छन् । तीन दशमलब २० प्रतिशत बालबालिका कुपोषित छन् । समितिको प्रतिवेदनमा रहेको उक्त तथ्यांकलाई हेर्ने हो भने जिल्लामा बालबालिकामाथि हिंसा बढ्दै गएको छ । जसले गर्दा बालबालिकाहरू असुरक्षित बन्दै गएको पाइएको छ ।
जिल्ला बालकल्याण समिति सुर्खेतका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले अभिभावक गैरजिम्मेवार बन्दा बालबालिका असुरक्षित बन्दै गएको बताए । कमजोर आर्थिक अवस्थाका कारण अभिभावकले समेत वास्ता नगर्ने गरेको पाइएको उनले बताए । ‘थोरै पैशा कमाएर लिएपछि घरपरिवार खुशी हुन्छन्’ उनी भन्छन्, ‘पढ्ने उमेरमा सन्तानले फोहोर संकलन गर्दै छ भन्ने बारेमा आमाबुबा नै जानकार छैनन् ।’ जिल्लामा करिब दुई हजार बालबालिका अभिभावकविहीन रहेको उनले उल्लेख गरे । अभिभावकविहीन भएका बालबालिकाहरूलाई समाजमा स्थापित गर्न गाह्रो हुने उनको भनाइ छ । संरक्षणकोे अभावका कारण बालबालिका दिन प्रतिदिन कुलतमा फस्दै गएको अधिकृत आचार्यले बताए ।
बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालयलाई भयरहित वातावरणमा पठन–पाठन गर्दै आएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । उनले बालमैत्री शिक्षाको अवधारण अनुसार शिक्षा प्रदान गर्न नसकिएको बताए । जनचेतनाको अभावका कारण पनि बालबालिकाहरू असुरक्षित बन्दै गएको जिशिअ शाहको भनाइ छ । जिल्ला बालकल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बालबालिका क्षेत्रमा गम्भीर भएर लाग्नुपर्ने बताए । महिला हिंसा नै बालहिंसाको जग भएको भन्दै उनले महिला हिंसा न्यूनीकरणतर्फ सबै एकजुट हुनुपर्ने बताए ।
केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति डम्बरबहादुर रोकायका अनुसार प्रत्येक वर्ष झण्डै एक हजार दुई सय बालिकाहरू बेचबिखन हुने गरेका छन् । विभिन्न जिल्लाबाट बालबालिकाहरू भारत लगिने पाइए पनि फिर्ता भने नहुने गरेको उनले बताए । उनले करिब एक सय जनाको मात्रै प्रहरीले रिपोर्टिङ गर्ने गरेको बताए । मुलुकका ४४ जिल्लामा पाँच सय ७७ बाल गृहमा १६ हजार चार सय बालबालिका बस्दै आएको छन् । बाल गृहमा रहेका बालबालिकाहरू मध्ये ६० प्रतिशत बालबालिकाका बुबाआमा नभएको पाइएको उनले बताए ।
बुधवार वीरेन्द्रनगरमा आयोजित स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा बाल संरक्षण कार्य र निर्वाचनमा बालबालिकाको प्रयोग तथा विद्यालय शान्ति क्षेत्र बारे अभिमूखीकरणका सहभागीहरूले बालअधिकार संरक्षण र संवद्र्धनका लागि एकल प्रयासबाटै सम्भव नहुने बताएका छन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७४, बिहीबार १५:४९