वीरेन्द्रनगरमा पार्किङ्गको समस्या

साझा बिसौनी संवाददाता
सुर्खेत, २ मंसिर ।
सवारी साधनको व्यवस्थित पार्किङ्ग नहुँदा वीरेन्द्रनगर मुख्य बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । आफैमा साँघुरो मुख्य बजारमा जथाभावी गरिने सवारी पार्किङ्गका कारण बजार क्षेत्र नै कुरूप बनेको हो । बीच सडकमै रोकिएका सवारी साधनका कारण दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

प्रदेश नम्बर ६ को सम्भावित राजधानीका रूपमा रहेको वीरेन्द्रनगरमा सवारी पार्किङ्ग मुख्य चुनौती बनेको छ । व्यवस्थित पार्किङ्गस्थलको अभाममा बीच बजार र सडकमै सवारी पार्किङ्ग हुने गरेका छन् । मुख्यबजार क्षेत्रमा रहेका बैंक तथा अन्य सर्वसाधारणको चहलपहल हुने सेवा प्रदायक संस्थाहरू रहेका कारण पनि भीडभाड बढी हुन्छ । तर बजार क्षेत्रमा एउटा पनि पार्किङ्गस्थल छैन । यसले पनि समस्या थपिएको हो ।
सवारीको चाप बढ्दै गएको र पैदल यात्रुलाईसमेत हिँड्न समस्या भएपछि दुर्घटनाको जोखिम बढ्दै गएको हो । वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा सञ्चालनमा रहेका होटेल, बैंक तथा वित्तीय संस्थाहरूसँग व्यवस्थित पार्किङ्ग स्थल छैन । सडकमा जथाभावी गरिने पार्किङ्गले गर्दा बजार साँघुरिदै गएको छ । सवारी साधन सडकमै पार्किङ्ग हुने गरेकाले पैदल हिँड्नसमेत कठिनाई हुने गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् । साँघुरो सडकले ट्राफिक व्यवस्थापनका लागि चुनौती बढ्दै गएको छ । अर्कोतर्फ यो प्रदेशकै ठूलो सीटी बसपार्कसमेत निर्माण सम्पन्न हुनसकेको छैन । जसले गर्दा चारपांग्रे ठूला सवारी साधनहरूसमेत सडक छेउछाउमा पार्किङ्ग गर्नुपर्ने बाध्यता छ ।
सुविधासम्पन्न सीटी बसपार्क निर्माण थालिएको करिब तीन वर्ष बित्नै लाग्दासमेत सञ्चालनमा आउन सकेको छैन । निर्माणधीन बसपार्कको काम समयमा सम्पन्न नहुँदा मुख्य बजार प्रवेश गर्ने मंगलगढीचौकस्थित अव्यवस्थित रूपमा सवारी साधन पार्किङ्ग गरिदैं आएको छ । वीरेन्द्रनगरमा क्षमता अनुसारको बसपार्कमा नहुँदा झनै अव्यवस्थित बन्दै गएको छ । समयमा नै बसपार्क निर्माण नहुँदा क्षमता भन्दा बढी बस पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले बताए । उनले सवारी साधनको चाप अनुसार व्यवस्थित बसपार्क नहुँदा असुरक्षित रूपमा पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । हाल बस व्यवसायीहरूले सडक छेउछाउमा सवारी साधन पार्किङ्ग गर्ने गरेका छन् ।
यस्तै जेब्राक्रस नहुँदा पैदल यात्रुहरू असुरक्षित बन्दै गएका छन् । दुर्घटना बढ्नुको प्रमुख कारण धेरै मानिसहरूको चहलपहल हुने व्यापारिक क्षेत्रमा जेब्राक्रस नराखिनु हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक नविन श्रेष्ठले बजारभित्रको ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला निकायसँग सहकार्य गरिने बताएका छन् । उनले प्रदेशकै नमुना सहरका रूपमा वीरेन्द्रनगरलाई बनाउने योजनाका साथ काम थालिनेसमेत दाबी गरे । हालैमात्र जिल्लामा आएका उनले वीरेन्द्रनगरमा पार्किङ्गको समस्या समाधानका लागि पहल थाल्ने जानकारी दिए । उनले दुर्घटना न्यूनीकरणका लागि सर्वसाधारणमा चाँप बढ्ने क्षेत्रमा ट्राफिक चेकजाँचलाईसमेत कडा पारिने बताए ।
दुर्घटना रोक्न प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने निरीक्षक श्रेष्ठको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगरमा नयाँ र पुराना गरी झण्डै २६ हजार सवारी साधन सञ्चालन हुँदै आएका छन् । पछिल्लो समयमा सुर्खेतमा सवारी दुर्घटना बढ्दै गएको प्रहरीको तथ्यांकले जनाएको छ । चालु आर्थिक वर्षको चार महिनामा विभिन्न दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । यस्तै राजस्वमासमेत वृद्धि भएको छ ।
ट्राफिक नियमको उलंघन गरेका सवारी साधनबाट करिब दुई लाख ७२ हजार ६ सय रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः   ३ मंसिर २०७४, आईतवार १४:२३