बाम एकताले निम्त्याएको आम एकता
विष्णुकुमार खड्का
संविधानसभाबाट संविधान जारी गरेर संघीय संरचना अनुरूपको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै संघीय र केन्द्रीय सरकारको गठनका लागि पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मुखैमा भएको यो चुनावी तालमेल र गठबन्धनको गाँठोले जनमतको आंकलन गर्ने र आशंका गर्ने आम नागरिकदेखि राजनीतिक विश्लेषकहरूलाई भ्याइ नभ्याइ भएको मात्र छैन साँच्चिकै राजनीतिक रङ्गमञ्च रोचक बनेको छ । नेपाली कांग्रेस र नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको सात दशक वेशी भएछ । विपी कोइरालाको नेतृत्वमा सङ्गठित नेपाली कांग्रेस र पुष्पलाल श्रेष्ठको नेतृत्वमा सङ्गठित नेपाल कम्युनिष्ट पार्टी अनेकन टुट फुट आरोह अवरोह पार गर्दै राणा शासनको अन्त्य, प्रजातान्त्रित अभ्यास, पञ्चायती शासनको अन्त्य, बहुदलीय प्रजातन्त्रको अभ्यास, राजाको प्रत्यक्ष शासन, शाह वंशीय शासन व्यवस्थाको अन्त्य गर्दै सशस्त्र संघर्ष र लोकतान्त्रिक अभ्यास दुवैको अनुभव र अनुभूति सहित संविधानसभामार्फत् संविधान जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय र केन्द्रीय सरकार गठन गर्दै विकास र समृद्धिको मार्गचित्र कोर्ने कार्यभार सहित फेरि एकपटक पुष्पकमल दाहाल र केपी ओली नेतृत्वका दुई ठूला जनाधार भएका वामशक्तिको फ्यूजन गर्ने गरी एउटा कम्युनिष्ट केन्द्र बनाउने ध्याउन्नमा छन् । अर्कोतिर लोकतान्त्रिक जनमतको नेतृत्व गर्ने नेपाली कांग्रेस पनि वाम एकताले निम्त्याएका चुनौती चिर्न लोकतान्त्रिक एकताको नेतृत्व गर्दै चुनावी मैदानमा होमिएको छ ।
वाम एकतालाई वामपन्थी र गैर वामपन्थी राजनीतिक दल र विश्लेषकहरूले आ–आफ्नै रूपमा अथ्र्याएका र आशंका गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनदेखि पार्टी एकता सम्मको घोषणाले अन्य कम जनमत र संगठन भएका बामशक्तिलाई समेत अनेक कोणबाट सोच्न बाध्य बनाएको छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति लगायत मधेशवादी दलहरू पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न लोकतान्त्रिक गठबन्धन र मधेशवादी गठबन्धन बनाएर आ–आफ्नो पकड कायम गर्न उद्धत देखिन्छन् । जब एमाले र माओवादी केन्द्रको बीचमा बाम एकता निश्कर्षमा पुग्दै थियो जीवनभर वामपन्थी राजनीति गरेर छुट्टै नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराई समेत उक्त गठबन्धनमा जोडिन आइपुगे । यसले उनको विचलन भएको बामपन्थी मोह ह्वात्तै उचालिएको थियो तर चुनावी तालमेलमा भागवण्डा नमिलेपछि एकाएक उनी लोकतान्त्रिक कित्ताको गठबन्धनमा जोडिन पुग्दा उनको राजनीतिक आदर्श नांगीन पुग्यो । बृहत वामपन्थी एकताको अभियानमा जुटेका एमाले–माके गठबन्धनको गाँठो पनि राजमोसम्म सीमित भयो भने बृहत लोकतान्त्रिक गठबन्धनको तयारी गरेको नेपाली कांग्रेसले पनि मधेशवादी दललाई समेट्न सकेन । यसरी बनेका गठबन्धनको गाँठा समेत कसिलो बन्न सकिरहेका छैनन भने चुनावी तालमेलको सवाल विशुद्ध बामपन्थी या लोकतान्त्रिक मात्रमा सीमित देखिदैंन ।
स्थानीय निर्वाचनबाट आफ्नो जनमत सर्वेक्षण गरेका प्रमुख दलहरूलाई आफ्ना आकांक्षी नेता व्यवस्थापन गर्न र निर्वाचन जित्ने महŒवाकांक्षमा केन्द्रित भएकाले गठबन्धनको गाँठो कसिलो बनाउनमा कम ध्यान दिएको पाइन्छ । खास गरिकन बाम एकताले उठान गरेको नेपालको राजनीतिक ध्रुवीकरण मूलतः बामपन्थी गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेशवादी गठबन्धन गरी तिन प्रकृतिका एकतामा समेटिएको छ । कतिपय साना राजनीतिक दलहरू ठूला राजनीतिक दलमा विलय भएका छन् भने कतिपय यो निर्वाचनमा अस्तित्वको परीक्षणमा रहेका छन् । निर्वाचनलाई उपयोग मात्र गर्ने र निर्वाचनलाई बहिष्कार गर्ने केही बामपन्थी शक्तिहरूहरूको जनमत पनि प्रभावित हुने देखिन्छ । यसरी हेर्दा बाम एकताको उभारले आम एकतालाई मलजल नै गरेको छ । यसको सकारात्मक राजनीतिक प्रभाव देखिने आंकलन गर्न सकिन्छ ।
जसरी विद्यार्थीका लागि सिक्नु र परीक्षामा उत्तीर्ण हुनु एक अर्काका परिपूरक हुन् त्यसरी नै राजनीतिक दल र राजनीतिकर्मीका लागि पनि सेवा भाव हुनु र निर्वाचनमा विजयको अपेक्षा हुनु परिपुरक परिघटना नै हुन् । चुनाव अनेकन आशंका र आंकलनका बीचबाट अनिवार्य रूपमा निर्धारित मितिमा हुने प्रायः निश्चित नै भयो । चुनावको परिणाम आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी नराख्ने गरी होमिएका दुई ठूला तर विपरित गठबन्धनहरूका नेतादेखि कार्यकर्ता र सामान्य मतदाताहरू समेत अनेकन आंकलनका अंकगणितहरू औंल्याउन अभ्यस्त देखिन्छन । दुई तिहाइको अंक गणितीय आंकलन गरेर एउटा वृहत कम्युनिष्ट केन्द्र बनाउने महŒवाकांक्षी सपनासहित चुनावमा होमिएको बामपन्थी गठबन्धनले समेत स्थानीयस्तरमा गठबन्धनकै नेताबाट चुनावी चुनौती सामना गर्नुपरेको छ भने बामपन्थी गठबन्धनलाई निस्तेज पार्ने गरी बनेको लोकतान्त्रिक गठबन्धन समेत त्यो चुनौतीबाट अछुतो रहन सकेन । यस परिघटनाले मूलतः दुईवटा आशंका र आंकलनलाई मलजल गरेको देखिन्छ । एउटा मतदाताको मनस्थिति अर्को चुनावी परिणाम । जब गठबन्धनका सहयात्री दल र तिनका नेताहरू एकमना एकताका साथ चुनावी मैदानमा होमिन्छन् त्यसको स्वाभाविक परिणाम अपेक्षा गरे अनुरूप नै हुनसक्छ तर जब गठबन्धन देखावटी रूपमा मात्र देखिने र नेता कार्यकर्ताहरू मतदाता समक्ष पुग्दा फरक मनोदशा र मनोविज्ञान लिएर पुग्छन् अनि त्यसको स्वाभाविक परिणाम उल्टिन पुग्छ । त्यसकारण अहिलेको चुनावमा दुवै गठबन्धनले समान प्रकृतिको समस्या झेल्नुपरेको हुँदा कुन गठबन्धनले कति मात्रामा उक्त समस्या झेल्नुपर्ने हो र कति सहज रूपमा न्यूनीकरण गर्ने हो त्यसले मात्र परिणामको आँकलन गर्न सकिने हुन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुन प्रदेश या संघका कुन गठबन्धनको पल्ला भारी छ भन्ने सामान्य आंकलनको आधार भर्खरै मात्र सम्पन्न भएको स्थानीय तहको निर्वाचन बनेको छ । स्थानीय तहको निर्वाचनको अंकगणितलाई आधार बनाउँदा अधिकांश स्थानमा बाम गठबन्धनले सहजै जीत हाँसिल गर्ने देखिन्छ तर उक्त गठबन्धनले आफ्नो मत सुरक्षित गर्नसक्ने कि नसक्ने, मतदानको प्रक्रियामा हुने गठबन्धनका उमेदवार र चुनाव चिन्हमा सही मतदान गराउन सक्ने कि नसक्ने, गठबन्धनको कारण उत्पन्न भएका टिकट वितरणमा भएका असन्तुष्टिहरूलाई व्यवस्थापन गर्नसक्ने कि नसक्ने, जनाधार भएको दल र उम्मेदवारले टिकट पाए कि पाएनन् आदि अनेकन कारणले मत प्रभावित हुने सम्भावना भने छ । त्यसै गरी लोकतान्त्रिक गठबन्धन र मधेशीवादी गठबन्धनले आफ्नो पकड बलियो भएको क्षेत्रमा जनपक्षीय उमेदवार बनाउन सके कि सकेनन्, बाम गठबन्धनभित्रका असन्तुष्टिको राजनीतिक फाइदा उठाउन सके कि सकेनन, आफ्ना राजनीतिक मुद्दाहरू मतदाताहरूलाई बुझाउन सके कि सकेनन् आदि कारणले चुनावी नतिजा प्रभावित हुने देखिन्छ । गठबन्धनभित्र नअटाएका राजनीतिक दलहरू जस्तै नेमकिपा, विवेकशील साझा आदि दलहरूले थ्रेस होल्डको सामना गर्नुपर्ने चुनौतीलाई चिर्न पनि कहिँ न कहिँ कतै न कतै यिनी ठूला गठबन्धनको सहारा लिनुपर्ने देखिन्छ नत्र राजनीतिक भविष्य समेत अन्यौलमा पर्ने खतरा उनीहरू समक्ष छ । यसरी हेर्दा चुनावी मैदानमा होमिएका सबै राजनीतिक दल र गठबन्धनका घटक दलहरूलाई यो चुनावी चटारो साँच्चिकै फलामे चिउरा सावित भएको छ ।
बामपन्थी गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेशवादी गठबन्धन सारमा विचार, कार्यदिशा र कार्यक्रम मिल्नेसङ्गको राजनीतिक र प्राकृतिक गठबन्धन हो । यसले मूलतः नेपाली राजनीतिका दुई धार र त्रिकोणात्मक शक्ति सन्तुलनलाई आंकलन गरेको छ । बामपन्थी र लोकतान्त्रिक धारमा सङ्गठित नेपाली राजनीतिक धारहरूका लागि आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जनमत संग्रह जस्तै बनेको छ । यो निर्वाचन दुवै धारको लागि अग्नि परिक्षा मात्र हुनेछैन आन्तरिक र बाह्य शक्ति केन्द्रहरूको लागि समेत चासोको विषय बन्नेछ । मुलुक भरी लोकतान्त्रिक र बामपन्थी गठबन्धन बीच नै चुनावी प्रतिष्पर्धा हुने भए पनि मधेशको भूगोलमा भने त्रिपक्षीय प्रतिष्पर्धा हुने प्रायः निश्चित नै छ । यो चुनावी परिणामले राजनीतिक मुद्धाहरूलाई समेत किनारा लगाउनेछ । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्थाको अझै आश गरेको राप्रपा र सशस्त्र विद्रोहमार्फत् कम्युनिष्ट राज्य सत्ता स्थापनाको अझै सम्भावना देखेको नेपाल कम्युनिष्ट पार्टी (विप्लब) सम्मका निम्ती समेत यो चुनाव जनमत सर्वेक्षण हुनेछ । विकास र समृद्धिका आ–आफ्नो मोडेल बोकेर घर दैलो पुगेका लोकतान्त्रिक र बामपन्थी गठबन्धनका निम्ती त यो निर्वाचन महाभारत नै हुने भो । त्यसै गरी मधेशी जनताको मुक्तिको भजन गाउने मधेसबादी राजनीतिक दलहरूको निम्ती पनि यो निर्वाचन मधेशमै अग्नि परीक्षा हुनेछ । बामपन्थी गठबन्धनलाई उत्तर र लोकतान्त्रिक र मधेशवादी गठबन्धनलाई दक्षिणको आशीर्वाद प्राप्त भएको अनुमान गर्नेहरूलाई समेत नेपालमै दुई ठूला मुलुकहरूको राजनीतिक व्यवस्थाको समेत नाडी छामिनेछ । सबैभन्दा प्रमुख कुरा संविधानसभाद्वारा जारी भएको नेपालको संविधान २०७२ को सफल कार्यान्वन, राजनीतिक परिपक्वता, आवधिक स्थायी सरकार र विकास र समृद्धिको गोरेटोमा मुलुक लम्किने सम्भावना यो निर्वाचनको परिणाम जसको पक्षमा परे पनि अनिवार्य नै छ ।
यसको लागि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जन अदालतको कठघरामा गठबन्धनका गठिला राजनीतिक दलहरू र तिनका प्रतिनिधिहरू उभिएका छन् । जन अदालतको फैसलामा नै गठबन्धन र गैर–गठबन्धनमा रहेका राजनीतिक दलहरू र मुलुकको समग्र भविष्य प्रतिक्षारत छ ।
साझा बिसौनी संवाददाता ।