प्रतिक्षालय निर्माण गरिने

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय समितिले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति प्रतिक्षालय निर्माण गर्ने भएको छ । मदन आश्रित २३ औं स्मृति दिवसको अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा मदन–आश्रित स्मृति प्रतिक्षालय निर्माण गरिने भएको हो । सङ्गठनका अध्यक्ष तेजविक्रम बस्नेतको अध्यक्षतामा शनिवार बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
उक्त प्रतिक्षालयको शिलान्यास जेठ ३ गते बिहान ७ बजे मध्यपश्चिमाञ्चल केन्द्रीय क्याम्पसमा गर्ने र त्यसको लगत्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय भवन निर्माण स्थल कुइनेपानी क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सचिव विष्णुकुमार खड्काले जानकारी दिए । उक्त प्रतिक्षालय निर्माणका लागि सङ्गठनका अध्यक्ष तेजविक्रम बस्नेतको अध्यक्षतामा एक समिति गठन गरिएको छ भने सो को आर्थिक सङ्कलन अभियान पनि सुरुवात भइसकेको छ ।
सङ्गठनको उक्त पूर्ण बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयलले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि तत्काल पाँच करोड निकासा गर्ने गरी २३ करोड बराबरको बजेट बिनियोजन गर्ने निर्णयको स्वागत समेत गरेको छ ।