भाषा जोगाउन प्रशिक्षण

साझा बिसौनी संवाददाता
दैलेख, जेठ १ ।
दैलेखमा मगरढुट मातृभाषा बचावटका लागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा नेपाल मगर संघ दैलेखको आयोजनामा दैलेखका मगरबस्तीका मगरहरूका लागि दैलेख सदरमुकाममा मगरढुट मातृभाषा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो ।
नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य गणेश सलामी मगरको प्रमुख आतिथ्यता तथा वर्तमान केन्द्रीय सदस्य खगेन्द्र पुन मगरको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । तालिममा २० जना प्रशिक्षक प्रशिक्षार्थीको सहभागिता रहको छ भने तालिम ८ दिनसम्म सञ्चालन हुनेछ । मगरभाषाको प्रशिक्षण सर्वजीत थापामगरले दिनेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश सलामीले आमाको कोखबाट सिक्ने भाषा नै मातृभाषा भएकोले भाषा सिक्न जरुरी रहेको बताए ।