फलफूल वितरण

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघ नेपालको स्थापना दिवस सुर्खेतमा ज्येष्ठ नागरिकहरूसँग मनाइएको छ । आफ्नो २६ औं स्थापना दिवसको अवसरमा युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँग मनाएको हो ।
युवा संघ नेपालले ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण गर्नुका साथै वृद्धाश्रमको आजीवन सदस्यता पनि लिएको छ । ज्येष्ठ नागरिकहरूले बाटो देखाए अनुसार अघि बढ्न सकिएमात्र विकास सम्भव रहेको भन्दै आफूहरूको यस्तो क्रियाकलाप अरु संघ सङ्गठनले पनि सिक्नुपर्ने युवा संघ नेपाल सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाले बताए । उनले विभिन्न पार्टीसँग आस्था राख्ने धेरै सङ्गठनहरू रहने भएकाले त्यस्ता सङ्गठनहरूलाई पनि आफ्नो सङ्गठनको क्रियाकलापले सिकाइ गराउने बताए । फलफूल वितरण तथा आजीवन सदस्यता लिएको घोषणा गर्ने कार्यक्रममा प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले युवा संघ नेपालले गरेको काम अनुकरणीय रहेको बताए ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य तथा भेरी अञ्चल इन्चार्ज रविन्द्र लम्सालले मन्दिर गएर टीका लगाउँदैमा धर्म नकमाइने बताए । ज्येष्ठ नागरिक नै सबैभन्दा ठूला भगवान भएकाले उनीहरूको सेवामा लागेमा पूण्य प्राप्त गर्न सकिने लम्सालको भनाइ थियो । विगतमा ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिएर नेकपा एमालेले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण प्रष्ट भइसकेको पनि लम्सालले बताए ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:३७