‘करनीति व्यवहारिक बनाऊ’
सुर्खेत, १ मंसिर ।
छैठौं राष्ट्रिय कर दिवस सुर्खेतमा पनि मनाइएको छ । दिवसको अवसरमा शुक्रवार सुर्खेतको वीरेन्द्रनगर आयोजित कार्यक्रमका सहभागीले सजिलो, स्पष्ट र व्यवहारिक कर नीति बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालयको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा प्रभातफेरीपछि भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाहीले अस्पष्ट, अव्यवहारिक र अप्ठ्यारा करनीतिलाई तुरुन्त हटाउनुपर्ने माग गरे । वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष मोति कँडेलले आगामी दिनमा धेरैजसो कर स्थानीय निकायले संकलन गर्ने उल्लेख गर्दै त्यसबारे आवश्यक नीति र कानुन बनिरहेको जानकारी दिए ।
यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रकाश उप्रेतीले कर शिक्षाबारे जान्न र बुझ्नका लागि व्यापारी आफैले अग्रसरता देखाउनुपर्नेमा जोड दिए । करदाता सेवा कार्यालयका कर अधिकृत यज्ञ ढकालले करदाताहरू कर शिक्षाबाट टाढै रहन खोज्ने गरेका कारण करदाता शिक्षाको अवस्था कमजोर रहेको भन्दै कर शिक्षाबारे करदाता आफै जानकार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले घरधनीबाट असल्नुपर्ने घरवहाल कर पनि घरभाडामा बस्ने व्यापारीले तिर्नु परिरहेको गुनासो गरेपछि कर अधिकृत ढकालले भाडा तिर्दा कर कट्टि गरेर मात्र तिर्न सुझाव दिए ।
प्रकाशित मितिः २ मंसिर २०७४, शनिबार १४:०७
साझा बिसौनी ।