मत बदर हुने खतरा कायमै

डिलप्रसाद शर्मा
सुर्खेत, २८ कार्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन आउन अब २२ दिनमात्र बाँकी छन् । सुर्खेत लगायत यस क्षेत्रका मतदाता आफ्नो नेता चुन्न दिन गनेर बसेका छन् । दल र तिनका उम्मेदवारहरू भोट माग्दै घरदैलो गर्नमै व्यस्त छन् । तर अधिकांश मतदाता भने मत कसरी दिने भन्ने अन्यौलमै छन् । कारण जिल्लाका अधिकांश मतदातालाई भोट खसाल्ने तरिकाबारे जानकारी नै छैन ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतले मतदाता शिक्षाका लागि स्वयम् सेवकहरू खटाएको छ । तर ती स्वयम् सेवकहरू पर्याप्त छैनन् । निर्वाचनको दिन नजिकिदैं गर्दा बहुसंख्यक मतदातालाई भोट खसाल्ने तरिका थाहा छैन । अब बाँकी रहेको करिब तीन साताभित्र मतदाता शिक्षाका लागि खटिएका स्वयम् सेवकले प्रभावकारी रूपमा काम गर्न नसके ठूलो संख्यामा मत बदर हुने खतरा छ । एउटा मतदाताले एकै पटकमा तीन वटा मतपत्रमा चार वटा छाप लगाउनुपर्ने हुन्छ । तर प्रभावकारी रूपमा मतदाता शिक्षा नहुँदा यसपटक मत बदर हुने खतरा बढेको हो ।
यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएका थिए । यसपटक पनि बदर मतको संख्या घटाउन चुनौतीपूर्ण बनेको छ । विगतको निर्वाचन भन्दा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मतदान प्रक्रिया झण्झटिलो भएकाले पनि मत बदर हुने खतरा कायमै छ । स्थानीय तहको निर्वाचनमा सुर्खेतमा पाँच प्रतिशत मत बदर भएको थियो । सदरमुकाम र सुगम स्थानमा मतदाताका लागि अभिमुखीकरण र गोष्ठीहरू हुने गरेका छन् । ग्रामीण क्षेत्रमा भने मतदाता शिक्षा पुग्नै सक्दैन । यसले पनि भोट खसाल्ने तरिका थाहा नै नपाएर मतदाताको हातमा मतपत्र पुग्छ । जसको परिणाम मत बदर हुने गरेको हो ।
सुर्खेतमा मतदाताको संख्या दुई लाख चार हजार पाँच सय ७७ रहेको छ । जसका लागि मतदाता शिक्षा प्रदान गर्न जम्मा दुई सय ६३ जना स्वयम् सेवक परिचालन गरिएको छ । यो संख्या हेर्दा एक जना स्वयम् सेवकले करिब एक हजार मतदातालाई भोट हाल्न सिकाउनुपर्ने अवस्था छ । तर अब बाँकी रहेको अवधिमा सबै मतदातालाई घरदैलोमै पुगेर शिक्षा दिनसक्ने अवस्था देखिदैंन । यसकारण पनि यो निर्वाचनमा मत बदर हुने संख्या बढ्ने आशंका बढ्दै गएको छ । राजनीतिक दलहरूले पनि केवल मत मागेका छन् । तर उनीहरूले मतदातालाई कसरी भोट हाल्ने भन्ने बारेमा कुनै जानकारी र शिक्षा दिएका छैनन् । यसकारण पनि जिल्लामा मतदाता शिक्षा कमजोर रहेको छ । मतदाताले पनि भोट हाल्न कसैले नसिकाएको गुनासो गरिरहेका छन् ।
यद्यपि जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षालाई प्रभावकारी बनाउने प्रयास जारी रहेको जनाएको छ । कार्यालयले यसपटकको निर्वाचनमा बदर मतको संख्या घटाउन अभिमुखीकरण, प्रशिक्षण एवम् नमूना मतदान लगायतका कार्यक्रम गर्ने योजना रहेको जानकारी दिएको छ । निर्वाचनको मुखैमा हुने मतदाता शिक्षा प्रभावकारी नदेखिएपछि निर्वाचन कार्यालयले चुनाव आउन तीन हप्ता अगाबै मतदाता शिक्षा तीव्र पारिएको दाबी गरेको छ । प्रतिनिधिसभाका दुई र प्रदेशसभामा चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई सय ६३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन लक्षित गरी सञ्चालन गरिने मतदाता शिक्षा अनुगमन नहुँदा प्रभावकारी नभएको निर्वाचन अधिकारी सुनिता थापाले बताइन् । उनले प्रतिनिधि र प्रदेशको प्रत्यक्षतर्फ एउटै मतपत्रमा एउटा छाप लगाएका मतदाताले समानुपातिक मतपत्रमा झुक्किन सक्ने बताइन् ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ हरियो मतपत्रमा प्रयोग गर्नुपर्नेछ भने प्रदेशसभाका लागि कालो रंगको मतपत्र प्रयोग गर्नुपर्नेछ । यस्तै समानुपातिकतर्फ एउटै मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्नुपर्नेछ । ‘समानुपातिक मतपत्रमा प्रतिनिधिसभामा मतपत्रको माथिल्लो भाग र प्रदेशसभाका लागि तल्लो भागमा रहेका उम्मेदवारको चिन्हमा मतदान गर्नुपर्ने हुन्छ । उनले भनिन्, ‘प्रत्यक्षमा भन्दा समानुपातिक–तर्फको मत बढी बदर हुन्छ की भन्ने डर छ ।’ मतदाता शिक्षालाई प्रभावकारी बनाएर मत बदर न्यून गर्न निर्वाचन कार्यालयले कुनै कसुर बाँकी नराख्ने उनको भनाइ छ । मतदाता शिक्षा सम्बन्धी अनुगमन एवम् निरीक्षणका लागि स्थानीय तहमा जनप्रतिनिधिसँग सहकार्य गरिएको छ । ६ नम्बर प्रदेशका १० जिल्ला मध्ये दोस्रोे चरणमा सल्यान, दैलेख र सुर्खेतमा निर्वाचन हुँदैछ । सुर्खेतमा ६ जना सांसदका लागि विभिन्न राजनीतिक दलहरूबाट ५९ जना उम्मेदवारी चुनावी मैदानमा छन् ।
यसैबीच स्थानीय निर्वाचनपछि जिल्लामा झण्डै २० हजार मतदाता बढेका छन् । स्थानीय तहको निर्वाचन पश्चात् जिल्ला निर्वाचन कार्यालले गरेको मतदाता संकलनबाट २० हजार एक सय ७७ जना मतदाता थपिएका हुन् । स्थानीय तहको निर्वाचनमा एक लाख ८४ हजार चार सय मतदाता रहेका सुर्खेतमा हाल दुई लाख चार हजार पाँच सय ७७ मतदाता रहेका छन् । जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ को (क) मा ४४ हजार तीन सय ४७ मतदाता रहेका छन् । यस्तै (ख) मा ५७ हजार दुई सय ९० जना मतदाता रहेका छन् । जसअनुसार निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख एक हजार ६ सय ३७ मतदाता छन् । यस्तै निर्वाचन क्षेत्र २ को (क) मा ५६ हजार दुई सय ६७ जना मतदाता छन् । प्रदेश (ख) मा ४६ हजार ६ सय ७३ जना मतदाता छन् ।