‘विद्युत र सडक प्राथमिकतामा’

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
नेपाली कांग्रेसका नेता एवम् सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले विद्युतीकरण र सडक निर्माण आफ्नो प्राथमिकतामा रहने बताएका छन् । खड्काले आफू सांसद भएदेखि नै सुर्खेतको विकास निर्माणको काममा क्रियाशील रहेको बताउँदै आगामी दिनमा पनि थप क्रियाशील हुने प्रतिबद्धता जनाए ।
उनले कांग्रेसकै नेतृत्वमा संविधान बनेको र यसको कार्यान्वयनका लागि पनि निर्वाचनमा कांग्रेसलाई नै जिताउनुपर्ने उल्लेख गरे । उनले ग्रामीण क्षेत्रमा विद्युतीकरण र सडकलाई पनि प्राथमिकता दिइने जनाएका छन् । यसैगरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा आयोजित चुनावी भेलामा बोल्दै कांग्रेस सुर्खेतका सभापति एवम् क्षेत्र नं. २ (क) का उम्मेदवार कमलराज रेग्मीले सुर्खेतमा कांग्रेसले जनताले देखिने गरी विकास गरेको हुँदा यसपटकको निर्वाचनमा कांग्रेसलाई जिताउन आव्हान गरेका छन् । उनले कांग्रेसलाई विजयी गराए लोकतन्त्रको नै जीत हुने जनाए ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार हृदयराम थानीले जनताको विकासको सपना पूरा गर्ने सामथ्र्य नेपाली कांग्रेससँग मात्र भएको दावी गरेका छन् । चुनावी प्रचार अभियानका क्रममा मंगलवार पञ्चपुरी ११ तातापानीमा भएको चुनावीसभामा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थानीले पश्चिम सुर्खेतको पूर्ण विकासको चाहना कांग्रेसले मात्रै पूरा गर्ने भन्दै यस्तो दाबी गरे ।
कांग्रेसले जनतासामु गरेका विकासका वाचा पूरा गर्न हरसम्भव प्रयास गरेको जिकिर गर्दै नेता थानीले, आफूहरूले जिम्मेवारी पाए जनताले प्रत्यक्ष महसुस गर्ने गरी विकास निर्माण प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो चार वर्षमा सुर्खेतकै मुहार फेरिने गरी विकास निर्माणको काम तीव्र रूपमा भएको भन्दै उनले भेरी र कर्णालीको दोभारमा रहेका तातापानी र घाटगाउँलाई तीर्थस्थलका रूपमा विकास गर्ने बताए । यस्तै, सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले आप्mनो क्षेत्रमा सञ्चार प्रणालीमा सुधार हुँदै गएको भन्दै विकास निर्माणका कामले तीव्रता पाएको जिकिर गरे । राज्यमन्त्री विष्टले अघिल्लो चुनावका बेला तयार गरेको विकासका खाकाले मूर्तरूप पाउँदै गएको भन्दै फेरि जिम्मेवारी पाए थप विकासका काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   २९ कार्तिक २०७४, बुधबार १६:०२