सडक सञ्जालले जोड्ने प्रतिबद्धता

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले मंगलवार पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा चुनावीसभा सम्पन्न गरेको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनलाई विजयी बनाउन अनुरोध गर्दै गठबन्धनले पश्चिम सुर्खेतको विकासका लागि गठबन्धनको जीत आवश्यकता पर्ने दाबी गरेको छ ।
चुनावीसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेद्वार नवराज रावतले आफूले चुनाव जितेका एक वर्षभित्रै सदरमुकामसम्म पुग्ने सडकको विकास र विस्तार गर्ने बताएका छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार बिन्दमान विष्टले स्थायी सरकार निर्माणका लागि वाम गठबन्धनको जीत आवश्यकता रहेको औंल्याउँदै आफूले जितेमा पश्चिम सुर्खेतको गुटुलाई आधुनिक अवधारणमा विकास गर्ने प्रतिबद्धता जनाए ।
सभामा माओवादी केन्द्रका सचिवालय सदस्य पुष्पा घर्ती, केन्द्रीय सदस्य नरबहादुर विष्ट, नेकपा एमालेका जिल्ला सचिव मोहन बडुवाल, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पञ्चा सिंह लगायतले विकास र समृद्धिका लागि वाम गठबन्धनको जीत आवश्यकता रहेको भन्दै वाम गठबन्धनका उम्मेदवारलाई दुई तिहाइ बहुमतले विजयी गराउन आग्रह गरेका थिए ।
यसैगरी चिङ्गाड गाउँपालिका वडा नं. २ रानीबासमा वाम गठबन्धनका अगुवा कार्यकर्ताहरूको संयुक्त वडा भेला सम्पन्न भएको छ । भेलामा संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटी चिङ्गाडका संयोजक हर्कबहादुर रानाले देशको समृद्धि र विकासका लागि वाम गठबन्धन गरिएको बताए । रानाले वाम गठबन्धनलाई जिताउने जिम्मेवारी अगुवा कार्यकर्तामा आएको भन्दै सक्रिय भएर लाग्न आग्रह गरे । माओवादी केन्द्र नेता समर विकले वाम गठनबन्धनले जिते मात्रै सबैको उन्नति हुने बताए । भेलामा नेकपा एमाले र माओवादी केन्द्रका एक सय ५० जना अगुवा कार्यकर्ताहरूको सहभागिता थियो । नेकपा वडा अध्यक्ष मानबहादुर खत्रीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २९ कार्तिक २०७४, बुधबार १६:०१