जनप्रतिनिधि आएपछि सेवा प्रवाहमा सुधार

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
कुनै कामका लागि नगरपालिकामा गयो, कर्मचारी नभेटिने । कर्मचारी भेटियो, काम समयमा नहुने । सेवाग्राहीले सधैं कुनै न कुनै झण्झट भोग्नुपर्ने । नागरिकले यस्ता कयौं समस्या बेहोर्दै आएका थिए । वीरेन्द्रनगर नगरपालिकाको काम कारबाही लथालिंग जस्तै थियो । तर, पछिल्लो समयमा राज्यको पुनर्संरचना अनुसार स्थानीय तहमा सरकार (जनप्रतिनिधि) आएपछि सेवा प्रवाह प्रभावकारी भएको पाइएको छ ।


नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको कामप्रति भएको सर्वेक्षण अनुसार वीरेन्द्रनगर नगरपालिकाले प्रदान गर्ने सेवा विगतको भन्दा सुधारिएको पाइएको छ । नगरपालिकाले विगतको तुलनामा उत्कृष्ट सेवा प्रवाह गरेको सर्वेक्षणले देखाएको छ । नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्रका चार सय ४० जना सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा सर्वेक्षण गरेको थियो । गरिएको अध्ययन अनुसार ३२ जनाबाट मात्रै नगरपालिकाको सेवाप्रति गुनासो आएको बताइएको छ । नगरपालिकाबाट सेवा लिएका नागरिकमध्ये तीन सय १९ जनाले स्तरीय सेवा पाएको बताएका छन् । यसले जनप्रतिनिधि आएपछि स्थानीय सरकारको सेवा प्रवाहमा सुधार भएको देखाउँछ ।
संविधानले प्रत्यायोजन गरेको अधिकार अनुसार सबै खालका सिफारिस, विगतमा नगरपालिकाद्वारा प्रदान गरिदैं आएको अधिकांश सेवा वीरेन्द्रनगरका १६ वटा वडाबाट प्रवाह गरेको बताइएको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि ‘एक वडा, एक बैंक’ नीति लागू गरेको छ । जसले गर्दा सबै वडाका ज्येष्ठ नागरिकले बैंकबाट सहज र सुलभ रूपमा सेवा पाएको वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर हमालले बताए । वडास्तरमा हुने विकास निर्माणका काममा हुने अनियमितता, भ्रष्टाचार न्यूनीकरण गर्न वडापालिकालाई अनुगमन, निरीक्षण गर्ने जिम्मेवारी दिइएको बताइएको छ । नगरपालिकाले कृषि, घरेलु तथा साना उद्योग लगायतका विषयगत कार्यालयबाट समेत सेवा प्रवाह गर्दै आएको छ । जसले गर्दा नगरबासीले विगतमा जस्तो झण्झट भोग्नुपरेको छैन ।
विगतको तुलनामा जनप्रतिनिधि आएदेखि नगरपालिकाको वडा तहबाटै सेवा प्रभावकारी बनाइएको अधिकृत हमालले बताए । उनले आवश्यक कर्मचारी अभाव, दक्षताको कमी, सीप विकास सम्बन्धी तालिमको अभाव नगरपालिकाका लागि चुनौती भएको बताएका छन् । विभिन्न चुनौती भए पनि प्रथम नगरसभाबाट पारित भएको बजेट समयमा खर्च गरिसक्ने बताइएको छ । असारको अन्तिममा आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले हालसम्म करिब २५ प्रतिशत
कार्यान्वयनमा आइसकेको बताएको छ । नगरको विकासका लागि यस आर्थिक वर्षमा ६५ करोड ५४ लाख तीन हजार रूपैयाँ विनियोजन गरिएको थियो ।
कार्यक्रमको जवाफदेही वक्ता नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वडा तहका समस्या समाधानका लागि आवश्यक कदम चालिने बताए । उनले नगरको बढ्दो अव्यवस्थित सहरीकरण मुख्य चुनौती भएको भन्दै कानुन विरोधी गतिविधि नगर्न उनले सचेत गराए ।
आ.व. २०७३÷०७४ को सामाजिक परीक्षण तथा २०७४÷०७५ को प्रथम सार्वजनिक सुनुवाइमा नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले नगरबाट प्रवाह हुने सेवालाई सुशासन र जवाफदेही बनाउन जनप्रतिनिधि प्रतिबद्ध रहेको बताइन् । स्थानीय सरकारलाई राज्यले समयमा काम, कर्तव्य नतोक्दा विगतमा समस्या भएको उनले बताइन् । संविधानले परिकल्पना गरेको ‘घर–घरमा सिहंदरबार’ लाई जनताले आभास हुने गरी नगरपालिकाले गतिविधि अगाडी बढाउने उनको भनाइ थियो । सार्वजनिक सुनुवाइमा नगरपालिकास्थित विषयगत कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   २८ कार्तिक २०७४, मंगलवार १५:३०