खेलकुद विकासका लागि साझा प्रतिबद्धता

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
सुर्खेतस्थित खेलकुदसँग सम्बन्धित सरोकारवाला र सञ्चारकर्मीहरूले जिल्लाको खेलकुद विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च सुर्खेत शाखाले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको खेलकुदको विकासमा सरोकारवाला र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका उपाध्यक्ष जनक रावलले सञ्चार क्षेत्रको सहयोगविना खेलकुदको विकास र विस्तार हुन नसक्ने भन्दै सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । उनले जिल्लामा हुने खेल गतिविधिलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेर खेलाडीहरूलाई हौसला प्रदान गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गरे । खेलकुदप्रति नागरिकहरूलाई आकर्षित गर्नका लागि पनि सञ्चारमाध्यमको महŒवपूर्ण भूमिका रहने भन्दै उनले खेल सरोकारवाला र सञ्चारकर्मीको सहकार्यमा जिल्लाको खेलकुद क्षेत्रको विकास हुनसक्ने धारणा राखे ।
कराँते खेलका प्रशिक्षक प्रदिप राईले जिल्लामा हुने खेल गतिविधिका साथै खेलाडीहरूले प्राप्त गरेका उपलब्धिहरूलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताए । यसले आम नागरिकमा खेलकुदप्रति सकारात्मक सूचना प्रवाह हुने उनको भनाइ थियो । जिल्ला व्याटमिन्टन संघका अध्यक्ष छविलाल शाहीले अनेक चुनौतीका बाबजुद पनि जिल्लामा खेल गतिविधिहरू सञ्चालन भइरहेको बताए । एमएनएस हेल्थ एण्ड फिटनेस सुर्खेतका सञ्चालक हरि विष्टले खेलकुदको विकासमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने गरी कलम चलाइ दिन सञ्चारकर्मीहरूसँग अनुरोध गरे । नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले खेलकुदको विकासका लागि सञ्चारकर्मीहरूको तर्फबाट हुनसक्ने सहयोग र समन्वय सधैं रहने भन्दै भौतिक पूर्वाधार विकास र उत्कृष्ट खेलाडी उत्पादन गर्नेतर्फ सम्बन्धी खेल सरोकारवालाहरूले ध्यान दिनुपर्ने सुझाव दिए । नेपाल खेलकुद पत्रकार मञ्च सुर्खेतका अध्यक्ष भानुभक्त अधिकारीले मञ्चले जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै खेलाडीहरूका लागि पुरस्कार समेत प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मितिः   २८ कार्तिक २०७४, मंगलवार १५:२६