‘उद्योगमैत्री नीति अभाव’

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
औद्योगिक विकासका थुप्रै सम्भावना भए पनि उद्योगमैत्री नीतिको अभावका कारण सुर्खेतमा उद्योगधन्दा र कलकारखाना फस्टाउन नसकेको बताइएको छ । उद्योगलाई प्रोत्साहन तथा जगेर्ना गर्ने सरकारी नीति, प्रविधि, पूर्वाधारको अभावले उद्योग फस्टाउन नसकेको एक कार्यक्रमका सहभागीले बताएका हुन् ।
केन्द्रिकृत शासन व्यवस्था रहँदा निर्माण भएका नीतिहरूले सुर्खेतको औद्योगिक सम्भावनालाई सम्बोधन नगरेको उनीहरूले गुनासो गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्लास्थित उद्योगहरूको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियाका सहभागीहरूले उद्योगमैत्री नीति र कार्यक्रम बनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विगतमा शैक्षिक, पर्यटकीय र प्रशासनिक सहरका रूपमा सीमित बनेको वीरेन्द्रनगरलाई अब औद्योगिक सहरका रूपमा विकास गरिने बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले ६ नम्बर प्रदेशको निर्विकल्प राजधानीका रूपमा रहेको वीरेन्द्रनगरलाई प्रशासनिक केन्द्रका रूपमा मात्र सीमित नराखी औद्योगिक हवका रूपमा स्थापित गर्नुपर्ने बताए । वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिका लागि आवश्यक उपकरण जडानका लागि पहल गर्ने, औद्योगिक क्षेत्रको फोहोर संकलनका लागि नगरपालिकासँग समन्वय गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रकाशित मितिः   २८ कार्तिक २०७४, मंगलवार १५:२५