‘गाउँपालिकामा १५ र नगरपालिकामा २५ शैयाको अस्पताल’

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्य सुर्खेत क्षेत्र नं. २ का उम्मेदवार नवराज रावत र क्षेत्र नं. २ (ख) का उम्मेदवार विन्दमान विष्टले आफ्नो क्षेत्रभित्र पर्ने हरेक गाउँपालिकामा १५ र नगरपालिकामा २५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी प्रचारका क्रममा गाउँ पुगेका उनीहरूले आफूहरूले जितेको खण्डमा नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा सुविधायुक्त अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
रावतले विकासका दृष्टिले पछि परेको पश्चिम सुर्खेतका नागरिकले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउन नसकेको भन्दै उक्त समस्या समाधान गर्नु आफ्नो प्रमुख जिम्मेवारी हुने बताएका छन् । ‘स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको मौलिक अधिकार हो’ रावतले भने, ‘तर यहाँका नागरिकले अहिलेसम्म उक्त अधिकार उपयोग गर्न पाएका छैनन् । सामान्य बिरामीको औषधि उपचारका लागि पनि सदरमुकाम वा बाह्य जिल्ला जानुपर्ने बाध्यता छ । अब यसको अन्त्य हुनुपर्दछ ।’ स्थानीयस्तरबाटै सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने योजना अनुसार हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा १५ र नगरपालिकाको केन्द्रमा कम्तीमा २५ शैयाका अस्पताल सञ्चालन गर्ने योजना आफूले प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए । यसका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न उनले मतदाताहरूलाई आग्रह गरे ।
यस्तै प्रदेशसभा सदस्यका उम्मेदवार विन्दमान विष्टले पश्चिम सुर्खेतका नागरिकले भोगिरहेका हरेक समस्याको समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको भन्दै वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अनुरोध गरे । विष्टले विगतका प्रतिनिधिहरूको बेवास्ताकै कारण पश्चिम क्षेत्र विकासमा पछि परेको भन्दै अब त्यसक्षेत्रको विकास र समृद्धिको नेतृत्व गर्नका लागि आफूहरूलाई जिम्मेवारी सुम्पिन मतदातालाई अपिल गरे ।

प्रकाशित मितिः   २८ कार्तिक २०७४, मंगलवार १५:२४