सुर्खेतमा प्रदेश सरकारको तयारी

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ कार्तिक ।
मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोलमा व्यस्त रहेकै बेला सुर्खेतमा प्रदेश सरकारका लागि आवश्यक तयारी थालिएको छ । प्रदेश नम्बर ६ को प्रदेश संसद र मन्त्रालयका लागि चाहिने भवनहरूको खोजी सुरु भएको हो । आउँदो पुस पहिलो साताभित्र प्रदेश संसदको पहिलो बैठक बसाल्ने गरी वीरेन्द्रनगरमा संसद भवनमा आवश्यक संरचना निर्माण र मन्त्रालयका लागि सम्भावित भवनहरूको खोजीकार्य सुरु भएको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा प्रदेश सरकार अन्तर्गतका संरचनाहरूका लागि आवश्यक पर्ने भवनको खोजी सुरु गरेको हो । सरकारले आवश्यक व्यवस्थापन गर्न भनेपछि क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश संसद बस्ने भवनको टुङ्गो लगाएको हो । प्रदेश संसदका लागि वीरेन्द्रनगरमा रहेको शैक्षिक तालिम केन्द्रको भवनलाई प्रयोग गरिने भएको छ । शैक्षिक तालिम केन्द्रमा करिब दुई सय ५० जना अट्ने क्षमताको सुविधायुक्त सभाहल रहेको छ । यो प्रदेशमा प्रदेश संसदका लागि प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ जना सांसद चयन हुनेछन् । ४० जना सांसदका लागि बैठक बस्न यही हल नै उपयुक्त हुने निश्कर्षमा क्षेत्रीय प्रशासन कार्यालय पुगेको छ ।
भूकम्प प्रतिरोधी भवन, वरिपरी तारबार र सुरक्षाका लागि पर्खालसमेत भएकाले संसदका लागी यो भवनलाई उपयुक्त मानिएको हो । प्रदेश सरकारका लागि आवश्यक पर्ने भवनहरू खोजी गर्न गठित कार्यदलका सदस्य हितप्रसाद पौडेलले प्रदेश संसदका लागि शैक्षिक तालिम केन्द्रको भवन नै उपयुक्त भएको बताए । ‘एउटै कम्पाउण्डभित्र धेरै भवन छन्, तत्कालका लागि त्यही नै उपयुक्त छ’ उनले भने, ‘हामीले आवश्यक अध्ययन गरिसक्यौं, संसद बैठक बस्न हल एकदमै राम्रो छ । संसदीय दलका कार्यालय र सचिवालयका लागि पनि आवश्यक पर्ने थप भवनहरू छन्, सुरक्षाको हिसाबले पनि तालिम केन्द्रलाई नै उपयुक्त ठानेका छौं ।’ क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृतसमेत रहेका पौडेलले संसदको पहिलो बैठक बसाल्ने गरी तयारी थालिएको जनाए । संसदको पहिलो बैठक बस्न अब एक महिना भन्दा धेरै समय नरहेको भन्दै उनले आफूहरू संसद भवनलाई आवश्यक सिंगार र सजावटमा जुटेको बताए । उनले भन, ‘सभाहलमा माइक, कुर्ची र टेबलहरू मिलाउने तयारीमा छौं, सभामुख बस्नेस्थल पनि निर्माण हुनेछ । संसदहरू निर्वाचित भएर नआउँदै हामीले सबै काम सक्नेछौं, यो प्रदेशका सांसदलाई संसद भवनमा स्वागत गर्न हामी तयारी अवस्थामा छौं ।’ प्रदेश सरकारका लागि आवश्यक भवनहरू खोजी गर्न क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्वमा सहरी विकास तथा भवन निर्माण डिभिजन, जिल्ला प्राविधिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका र जिल्ला समन्वय समिति रहेको कार्यदल गठन भएको छ । यही कार्यदलले लामो अध्ययनपछि शैक्षिक तालिम केन्द्रका भवनलाई नै प्रदेश संसदको रूपमा प्रयोग गर्ने निश्कर्ष निकालेको हो ।
यस्तै प्रदेशमा रहने मन्त्रालयका लागि पनि भवनहरूको खोजी सुरु भएको छ । कार्यदलले हाल वीरेन्द्रनगरमा रहेका मध्यपश्चिमका क्षेत्रीयस्तरका कार्यालय भवनलाई नै मन्त्रालय र विभागका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । क्षेत्रीय निर्देशनालयका कार्यालय रहेका भवनमा नै अब मन्त्रालय रहने क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत पौडेलले जानकारी दिए । ‘नयाँ संरचना अनुसार अब क्षेत्रीय निर्देशनालयहरू रहदैनन्, ती कार्यालय रहेका थुप्रै भवन छन् । अब तिनै भवनमा मन्त्रालय बस्नेछन्, मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि पनि कार्यालय हेरिसकेका छौं ।’ वीरेन्द्रनगरमा थुप्रै सरकारी भवन रहेकाले पनि कार्यालय र आवासका लागि प्रदेश ६ मा कुनै समस्या नहुने पौडेलको भनाइ छ । आफूहरूले प्रदेश सरकारका लागि आवश्यक पर्ने भौतिक संरचनाहरूको खोजी गरिसकेको भन्दै उनले अब आन्तरिक व्यवस्थानमा जुटेको जानकारी दिए ।
देशका अन्य प्रदेशमा अहिले पनि प्रदेशको केन्द्र कहाँ रहने भन्ने विषयमा टुङ्गो लागि सकेको अवस्था छैन । तर जनताले गरेको आन्दोलनको बलमा सबैभन्दा पछाडि घोषणा गरिएको प्रदेश नम्बर ६ मा भने प्रदेश सरकारका लागि आवश्यक तयारी थालिसकिएको छ । प्रदेश निर्वाचन हुन केही साता बाँकी रहेपनि सुर्खेतमा प्रदेश संसद र सरकार लागि आवश्यक पूर्वाधार व्यवस्थापनको काम सुरु भएको हो ।
तत्कालका लागि यी भवनहरूको प्रयोग हुने भए पनि प्रदेश सकारले भविस्यमा अलगै भवनहरू निर्माण गर्न सक्नेछ । यो प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा पहिलो चरण अन्तर्गत मंसिर १० गते तथा सुर्खेत, दैलेख र सल्यान गरी तीन जिल्लामा भने मंसिर २१ गते निर्वाचनको मिति तय भएको छ ।

 

प्रकाशित मितिः   २७ कार्तिक २०७४, सोमबार १६:४८