‘कालिजको सिकार गर्न जान्थें’

ध्रुवकुुमार शाही नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष हुन् । वि.सं. २०२७ जेठ ११ गते बुबा चक्रबहादुर शाही र आमा चित्रकुमारी शाहीको कोखबाट मालारानीमा जन्मिएका उनी वि.सं. २०४५ सालदेखि राजनीतिमा प्रवेश गरे । विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका शाही आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनै शाहीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन्ः

मेरो जन्म एउटा समान्य किसान परिवारमा भयो । बाल्यकाल विशेष गरी पढाइमा नै बित्यो । म सानै उमेरदेखि पढ्न जान थालेको हुँ । मैले कक्षा एकदेखि तीनसम्म प्रावि राम्रीकाँडामा पढेको हुँ । सानो छँदा पढ्न भन्दा पनि बढी खेल्न मन लाग्थ्यो । मुवाँले मलाई पिट्दै विद्यालयसम्म पु¥याउन जानुहुन्थ्यो । पढाइ जस्तो अरु केही पनि ठूलो हुन्न राम्रोसँग पढ्नुपर्छ भनेर सम्झाउनु हुन्थ्यो । मैले विद्यालय जान्न भनेर जिद्दि गरे पनि उहाँको अगाडि केही लाग्दैनथ्यो । उहाँ घरको कामलाई छोडेर भए पनि मलाई विद्यालय पु¥याउनुहुन्थ्यो ।


विद्यालयमा पढ्ने मेरो सबै साथीहरू म भन्दा ठूला थिए । सबैभन्दा सानो भनेको म नै थिएँ । म अलि चकचके र चञ्चले स्वभावको थिएँ । तीन कक्षा पढ्ने बेलासम्म त विद्यालय नजिकै थियो । धेरै समय विद्यालयमा नै बित्ने गथ्र्यो । तीन कक्षा उत्तीर्ण भएपछि अर्को विद्यालयमा पढ्नुपर्ने भयो । घरदेखि विद्यालय पुग्न करिब एक घण्टा समय लाग्ने गथ्र्यो । पछि मुवाँले मलाई पु¥याउन जानु परेन । साथीहरू धेरै हुन्थे । पढाइभन्दा पनि खेल्नेतिर मन जाने । सबै साथीहरूले खेल्ने रमाउने थिए । म पनि उनीहरूसँगै खेल्न थालेपछि समय गएको पत्तै हुन्थेन । बाटोमा कहिले काहीं तास खेलेर समय बिताउने गथ्र्यौं । अनि साँझ परेपछि घर फर्किने । हामी विद्यालय नगएर बाटोमा खेलेको घरमा थाहा पाइहाल्नु हुन्थ्यो । अनि मुवाले पिट्नुहुन्थ्यो । दुई÷चार दिन घरको डरले खेल्न छाड्थ्यौं । तर खेल्न नै बढी मन लागिरहने बानी कहाँबाट परिवर्तन हुन्थ्यो र, फेरि दुई चार दिनपछि साथीहरू मिलेर खेलिहाल्थ्यौं । अहिले सम्झंदा पनि रमाइलो लाग्छ । पिटाइ खाइन्छ भन्ने थाहा पाएर पनि साथीहरूको साथ र खेल्न भने बाल्यकालमा कहिले पनि छोडिएन ।
अहिलेको जस्तो हात हातमा फोन रेडियोको जमाना त्यसबेलामा थिएन । गाउँमा केही मान्छेहरूको मात्र घरमा रेडियोहरू हुने गर्थे । हाम्रो घरमा बुबाले रेडियो किनेर ल्याउनुभएको थियो । म लोक संस्कृति कार्यक्रमको पारखी थिएँ । लोक गीत खुब मनपथ्र्यो मलाई । त्यसबेलामा रेडियो नेपालमा आउने लोक गीतका कार्यक्रम नछुटाइ पढ्ने गर्थे । प्रतिभाको साँझ, रोधिघर, चौतारी भन्ने कार्यक्रमको म नियमित स्रोता नै थिए । मैले एक दिन रेडियो नेपालबाट बज्ने सांगीतिक कार्यक्रममा बाटो छ भिरालो सानु….बोल गीत बजाइदिनु भनेर अनुरोध पत्र लेखेर पठाएँ । कार्यक्रम आउने दिन म वनमा गएको रहेछु । रेडियोमा मेरो नाम आएछ । मेरो अनुरोधको गीत पनि बजेछ । आफन्त छिमेकी सबैले सुनेछन् । विहान त मलाई खोज्न भनेर घरभरी मान्छे जम्मा भएका । पहिले त मैले केही गल्ती गरेछुकी भनेर डर लागेको थियो । पछि कुरा बुझ्दै जाँदा रेडियोमा मेरो नाम सुनेर कसरी पठाएको भनेर सोध्न आएका रहेछन् । मलाई उनीहरूले कति पैसा दिएर नाम पढ्न लगाइस्समेत पनि भने । त्यसपछि अरुले पनि लेखेर पठाउन थाले । त्यसबेलामा सबैभन्दा जान्ने म मात्र हुँ कि भन्ने लागेको थियो ।
म ८ वर्ष हुँदा बुबाको मृत्यु भयो । घरमा मुवा, बहिनी र म मात्र भयौं । बुबालाई गुमाउँदाको पीडा अहिले सम्झिदा पनि कहालिलागेर आउँछ । बुबा बिरामी भइरहनुहुन्थ्यो । कक्षा आठसम्म म मालारानी पढेपछि सहारे पढ्न गएँ । बिदाको समयमा घर जान्थें । त्यहाँ आफन्तको घरमा बस्ने भएको कारणले परिवारसँग अलग भएर बसेको जस्तो महसुस भएन् । साथीहरू धेरै हुन्थे । रमाइलो हुन्थ्यो । सहारेमा कहिले काहीं साथीहरू मिलेर रमाइलो गर्न भेरीको किनारातिर जान्थ्यौं । पौडी पनि खेल्न गइन्थ्यो । कहिले काहीं रमाइलोको लागि साथीहरूसँग गाउँघरमा काँक्रा, अमिलो पनि चोरियो । हुन त आ–आफ्ना घरहरूमा पनि काँक्रा, अमिलो हुन्थ्यो । तर खै किन छिमेकीहरूको काँक्रा, अमिलो चोर्न खुब रमाइलो लागिहाल्थ्यो । गाउँघरमा पूजा, विवाह, सांस्कृतिक कार्यक्रमहरू हुँदा म अघि सरेर गइहाल्थें । मलाई नाँचगान भनेपछि खुब मनपथ्र्यो । प्रायः म त्यस्तो कार्यक्रमहरूमा सहभागी भइरहन्थें । म सानैदेखि सेवाको भाव राख्थें । कसैलाई सहयोग गर्नुप¥यो भने अघि नै सर्थें । मैले घरको काम पनि सानैदेखि सबै गर्थें । अहिले पनि म घर भित्रको काम गर्छु । मलाई घरभित्रको काम गर्न सबै आउँछ । पहिले मुवालाई सघाउन खाना पकाउने, गाइगोठालो जाने गर्थें । घाँस दाउरा गर्ने पनि गरियो ।
मेरो पढाइ ठीकै थियो । बाल्यकालमा पढ्न भन्दा पनि खेल्न मन लाग्ने । पढेर डाक्टर, पाइलट बन्छु भनेर अहिलेका बालबालिका भन्छन् । तर त्यसबेलामा यस्तो ठूला सपना भने थिएन । बुबाआमाको लागि विद्यालय गएको जस्तै हुन्थ्यो । मैले पढाइको महŒव एसएलसीमा पुरकममा परेपछि मात्र थाहा पाए । एसएलसीभन्दा अघि कहिले पनि मैले कक्षामा फेल हुनु परेको थिएन । एक्कासी एसएलसीमा एक विषय लागेर पुरकमा परेरपछि म छाङ्गाबाट खसेको जस्तै भए । बल्ल राम्रोसँग पढ्नुपर्ने रहेछ भन्ने दिमागको घैंटोमा घाम लाग्यो । अब त फेल भएँ भने मेरो लाज हुन्छ भन्ने कुराले धेरै पीडा भयो । त्यसपछि मैले राम्रोसँग पढें । मैले १५ वर्षको उमेरमा एसएलसी दिएको थिएँ । एसएलसी दिनेमा पनि सबैभन्दा सानो विद्यार्थी म नै थिएँ । अरु त विवाह गरिसकेका छोराछोरी भएका थिए । राजनीतिको बारेमा ९÷१० कक्षा पढ्ने बेला केही बुझ्न पाएको थिएँ । शिक्षकहरू राजनीतिक दलहरूको संगठनमा भएको कारणले मैले केही बुझ्ने मौका पाएको थिएँ । तर पछि गएर राजनीति नै गर्छु भन्ने चाहिँ सोचेको थिएन । मैले राजनीति कलेज पढ्न थालेपछि विद्यार्थी राजनीतिमा सुरु गरेको हुँ । विद्यालयमा पढ्दा खेलकुदका कार्यक्रमहरू भाग लिने गथ्र्यौं ।
म सानो छँदा आफन्तहरूसँग जंगलमा कालिजको सिकार गर्न जान्थें । खुबै रहर लाग्थ्यो, शिकार गर्न जाँदा । हुन त शिकार गर्न सक्दैन्थे । म उहाँहरूको साथी बनेर रमाइलोको लागि जाने गथें । सहारेमा हुँदा जंगलतिर धेरै नै गयौं कालिजको सिकार गर्न । अहिले सम्झदा पनि रमाइलो लागेर आउँछ । सिकार त सिक्न सकिएन् तर पनि सिकार गर्न जाने भनेर जंगल भने
गइयो । म १६ वर्षको उमेरमा शिक्षक भए । घर नजिकै सल्यानको सीमाना पथ्र्यो । सल्यानमा पर्ने एउटा विद्यालयमा शिक्षक भएर केही समयपछि पढाएँ । पछि कलेज पढ्न नेपालगञ्ज गएँ । मेरो राजनीतिक यात्रा पनि त्यहींबाट सुरु भयो । वि.सं. २०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल छैठौंको सदस्य भएर विद्यार्थी राजनीति सुरु गरें । २०४८ सालपछि पार्टीकै सदस्यभएर राजनीति सुरु गरें । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन मालारानी गाविसको अध्यक्षमा निर्वाचित भएको थिएँ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७४, सोमबार १५:५३