कुखुरा बोक्ने गाडीमा काठ तस्करी

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ कार्तिक ।
सुर्खेतमा कुखुरा ओसार्ने गाडीमा काठ तस्करी हुने गरेको रहस्य बाहिर आएको छ । कुखुरा र दाना ओसार्न प्रयोग हुने गाडीमा काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयले विशेष निगरानी बढाएको छ । सोहीक्रममा वन कार्यालयले दुई वटा कुखुरा बोक्ने जीपमा ल्याइएको सालको चिरान काठसहित पाँच जनालाई पक्राउ गरेको हो ।


कुखुरा र दाना ओसार्ने गाडीमा काठ तस्करी हुने गरेको गुनासो आएपछि वन कर्मचारीहरूले लामो समयदेखि निगरानी गर्दै आएका थिए । रातभर जाग्राम बसेका वन कर्मचारीहरूको टोलीले शनिवार बिहान ३ बजे काठसहित पाँच जनालाई पक्राउ गरेको हो । सबैको ध्यान निर्वाचनमा केन्द्रित भइरहेको मौकामा तस्करहरूले गाउँबाट वीरेन्द्रनगरमा काठ ओसार्न थालेका हुन् । लामो कसरतपछि कुखुरा ओसार्ने गाडीमा ठूलो मात्रामा चिरान काठसहित पाँच जनालाई समात्न सफल भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
‘तल चिरान काठ राखेर माथि कुखुरा र दानाले छोप्ने रहेछन्’ जिल्ला वन अधिकृत हेमराज विष्टले भने, ‘बाहिरबाट हेर्दा कुखुरा देखिने, कसैले शंका गर्ने ठाउँ पनि भएन । तर तस्करहरूले कुखुरा देखाएर काठ पो ओसार्ने रहेछन्, हामीले गस्ती बढाएपछि तस्करले नयाँ उपाय अपनाएछन् ।’ निरन्तरको प्रयासपछि शनिवार बिहान उनीहरूलाई पक्राउ गर्न सफल भएको उनको भनाइ छ । जिल्ला वन कार्यालयका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले वीरेन्द्रनगर भित्रिने नाका बाङ्गेसिमलबाट काठसहित उनीहरूलाई पक्राउ गरेका हुन् । काठसहित वीरेन्द्रनगर–२ का गणेश सुनार, डोलबहादुर सुनार, वीरेन्द्रनगर–१८ का अर्जुन बस्याल, बराहताल गाउँपालिका–८ का चन्दबहादुर थापा र दैलेखको गुराँस गाउँपालिका–४ का लालबहादुर बिकलाई पक्राउ गरिएको वन कार्यालयले
जानकारी दिएको छ । यस्तै काठ तस्करीमा प्रयोग गरिएका दुई वटा जीपलाई पनि नियन्त्रणमा लिइएको छ । गणेश र डोलबहादुर जीपका चलाक हुन् । अर्जुन र लालबहादुर जीपका सह–चालक भएको खुलेको जिल्ला वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार लु १ च ८३६२ र लु २ च ३४३ नम्बरका दुई वटा कुखुरा बोक्ने जीप काठ तस्करीमा प्रयोग गरिएको भेटिएपछि नियन्त्रणमा लिइएको हो । वन कार्यालयका अनुसार काठ तस्करीमा प्रयोग गरिएका जीप वीरेन्द्रनगर–६ मा रहेको पाण्डे एग्रोभेटका भएको खुलेको छ । ति जीपमा राखेर वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको चिरान काठ पनि बरामद गरिएको छ । बराहताल गाउँपालिकास्थित ओदालतालबाट काठ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । काठ तस्करी बारे थप अनुसन्धान थालिएको अधिकृत विष्टले बताए ।
रातभर जाग्राम बसेर एक सय २३ थान सालको चिरान काठ बरामद भएको वन कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई कानुनी कारबाहीका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको कार्यालयको भनाइ छ । निर्वाचनको मुखैमा काठ तस्करहरू सक्रिय हुन थालेको भन्दै कार्यालयले रात्री गस्ती बढाइएको उल्लेख गरेको छ । साना गाडीमा काठ तस्करी हुनेक्रम बढेपछि त्यसतर्फ बढी निगरानी बढाएको वन अधिकृत विष्टले बताए । वीरेन्द्रनगर भित्रिने सबै नाकामा गस्ती टोली रातको समयमा जाग्राम बस्दै आएको उनको भनाइ छ । वीरेन्द्रनगरमा पछिल्लो समय नयाँ घर निर्माणको क्रम बढेपछि काठ तस्करीहरू पनि सक्रिय बनेका छन् ।

प्रकाशित मितिः   २६ कार्तिक २०७४, आईतवार १६:२६