पूर्वाधार विकास र सुधारमा फड्को मार्दै क्षेत्रीय अस्पताल
साझा बिसौनी संवाददाता
सुर्खेत, २५ कार्तिक ।
सानो कटेरोमा मात्र सीमित । जताततै फोहोर र दुर्गन्ध । सेवा लिनसमेत बिरामीलाई झन्झट, भनेको बेलामा डाक्टर पनि नभेटिने । स्वास्थ्यकर्मीको रुखो व्यवहार, कुरुवालाई बस्ने ठाउँको अभाव, शौचालयको अवस्था बिजोग र सानो प्वालबाट हात छिराएर लाइनमा लागेर टिकट लिनुपर्ने बाध्यता । मध्यपश्चिम क्षेत्रीय अस्पतालको नाम सुन्नासाथ धेरैको मानसपटलमा आउने तस्विर हो यो ।
तर प्रदेश नम्बर ६ को एकमात्र ठूलो अस्पतालको रूपमा रहेको यो अस्पतालले विस्तारै आफ्नो पहिचान बदल्दै जान थालेको छ । कुनैबेला सर्वाधिक आलोचना भोगेको सुर्खेतमा रहेको क्षेत्रीय अस्पतालले अहिले भौतिक पूर्वाधारको विकास, विशेषज्ञ सेवाको सञ्चालन, आवश्यक उपकरणको व्यवस्थापन र प्रशासनिक सुधार गर्दै आफ्नो विगतको तस्विर बदलेको छ । पछिल्लो तीन वर्षको अवधिमा अस्पतालको भौतिक संरचनाको विकास भएको छ भने नाम अनुसारकै सेवासमेत उपलब्ध गराउन थालेको हो । हिजो आज यो अस्पतालले नाम अनुसारकै सेवा प्रवाह गरेर सुधारको अनुभूति दिलाउन थालेको छ ।
क्षेत्रीय अस्पताल भएर पनि जिल्ला अस्पताल सरहको सेवा दिन नसक्दा सर्वसाधारणमा यो अस्पतालप्रतिको विश्वास घटेको थियो । तर हिजोआज अस्पतालले भौतिक विकास प्रगति, विशेषज्ञ सेवा सुरु, उपकरणहरूको व्यवस्थापन, डाक्टरहरूको व्यवस्थापन, अस्पतालको फोहोर व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारमा सुधारको फड्को नै मारेको छ । यसले पनि अस्पतालले आफ्नो विगतलाई भुलाउने प्रयत्न गरेको छ । पछिल्लो तीन वर्षको अवधिमा अस्पताल विकास समितिमा आएपछि खम्बराज थानी नेतृत्वको टीमले अस्पतालको विकासमा उल्लेख्य प्रगति गरेको छ । यही समितिको कार्यकालमा नै अस्पतालले नयाँ भवनबाट सेवा प्रवाह गरेको छ । यस्तै अस्पताललाई साढे तीन सय शैयाको बनाउने प्रक्रियाले गति लिएको छ । यसको लागि भवन निर्माणका काम चलिरहेको छ भने करिब ६० प्रतिशत काम सकिएको अस्पताल विकास समितिले जनाएको छ ।
हाल अस्पतालले फोहोर व्यवस्थापनमा निकै प्रगति गरेको छ । अस्पतालमा पुग्ने बित्तिकै यसमा भएको प्रगतिलाई जो कोहीले अनुभूति गर्न सक्ने अवस्था बनेको छ । यस्तै अस्पतालमा आइसीयु र एनआईसीयु सेवा पनि सञ्चालनमा आएको छ । प्रसूति गृहलाई ४० शैयाको बनाइएको छ । यस्तै प्रतिक्षाल, गार्ड भवन, कर्मचारी आवास गृह र चिकित्सक भान्सा घर निर्माण भएका छन् । अस्पतालको नयाँ भवनमा जाने बाटो कालोपत्रे, नयाँ एम्बुलेन्सको व्यवस्थापन, वासिङ मेशिन जडान, फिस्टुला भवन निर्माण र पूरानो भवनको हातामा कालोपत्रेको काम सम्पन्न भएका छन् । यो कार्यले पनि अस्पतालको विकासमा फड्को मारेको देखिन्छ । अस्पतालले आउँदो मंसिर १ गतेबाट नै मृगौलाको डाइलासिस सेवा सुरु गर्न लागेको छ । सोही दिनबाट अक्सिजन उत्पादन आफै गर्ने र बिक्री पनि गर्ने तयारी अस्पतालले गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर डम्बर खड्काले भने, ‘पछिल्लो तीन वर्षमा हामीले धेरै फड्को मारेका छौं, अहिले जनशक्ति पनि व्यवस्थापन भएको छ । अब वीर अस्पतालमा उपलब्ध हुने सेवा हामी कहाँ पनि पाइनेछ, भौतिक विकास र सेवा विस्तारमा प्रगति भएको छ ।’ आकस्मिक कक्षमा अत्याधुनिक मेसिन जडान गरिएको भन्दै उनले अब अस्पतालमा आउने कसैले पनि गुनासो गर्ने ठाउँ नहुने बताए । अबको दुई वर्षभित्र साढे तीन सय शैयाको सेवा उपलब्ध हुने भन्दै उनले यसको काम तीव्र गतिमा भइरहेको जानकारी दिए । अस्पतालमा हुने लापरबाही र ढिलासुस्ती नियन्त्रणका लागि पनि आफूले प्रयास जारी रहेको उनको भनाइ छ । अस्पतालको वातावरणीय स्वरूपमा पनि परिवर्तन भएको छ । अस्पतालको हाताभित्र बगैंचाहरू निर्माण भएका छन् भने पार्किङस्थल समेत निर्माण गरिएको छ ।
तीन वर्षीय आफ्नो कार्यकाल सकिएपछि अस्पताल विकास समितिका पदाधिकारीहरूले आफ्नो समयमा भएका कामहरू सार्वजनिक गरेका हुन् । अस्पताल विकास समितिका अध्यक्ष खम्बराज थानीले भने, ‘हामी आउँदा अस्पताल कटेरोमा थियो, अहिले नयाँ भवनबाट सेवा दिन थालेको छ । अस्पतालको खातामा डेढ करोड मात्र थियो, हामीले ६ करोड जम्मा गरेर छोडेका छौं ।’ आफ्नो कार्यकालमा अस्पतालले आफ्नो आकार लिएको दाबी गर्दै उनले अब यसलाई यो प्रदेशकै केन्द्रीय अस्पतालको रूपमा विस्तार गर्नुपर्ने
बताए । त्यसका लागि अब आउने विकास समितिले ध्यान दिनुपर्ने उनको सुझाव छ । यस्तै अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले आफूहरूकै कार्यकालमा अस्पतालले विशेषज्ञ सेवा सुरु गर्न सफल भएको बताए । उनले भने, ‘अस्पतालले विकासमा फड्को मारेको छ, अबको दुई वर्षभित्र साढे तीन सय शैयाको हुनेछ । प्रदेशकै नमुना अस्पताल बनाउने खाका बनेको छ, यसका लागि सबैको सहयोग रहोस् ।’
साझा बिसौनी संवाददाता ।