‘लगानी नै सुरक्षित भएन’

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ कार्तिक ।
सुर्खेतका उद्योगी तथा व्यवसायीहरूले लगानीमैत्री वातावरण नभएको गुनासो गरेका छन् । चर्को ब्याजमा लिइएको ऋणबाट व्यवसायमा लगानी गर्दा त्यो सुरक्षित नभएको उनीहरूको पीडा छ । यहाँका व्यवसायीहरूले राज्यले नै अब लगानीमैत्री वातावरण बनाएर सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरे ।


जिल्लामा ठूलो व्यवसायमा लगानी गर्न तयार भए पनि सुरक्षाको प्रत्याभूति नहुँदा समस्या भएको उनीहरूले बताए । आफूहरू लगानी गर्न तयार रहेको भन्दै व्यवसायीहरूले सरकारले लगानीको सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ । सरकारले लगानी सुरक्षित हुने विश्वास नलिएका कारण नै व्यवसायमा लगानी भित्रिन नसकेको व्यवसायीहरू बताउँछन् । कमजोर सरकारी नीतिका कारण जिल्लामा ठूलो लगानी हुन नसकेको भन्दै उनीहरूले लगानी डुब्ने डरका कारण पनि आफूहरूले आँट नगरेको उनीहरूको भनाइ छ ।
कमजोर सरकारी नीतिका कारण व्यवसायीले व्यवसायमा पर्याप्त लगानी गर्ने वातावरण नभएको उनीहरूको गुनासो छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सञ्चालन गरिएका व्यवसायसमेत नाफामुखी नभएको उनीहरूले बताए । सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतको राजस्व परामर्श तथा व्यापार प्रबद्र्धन समितिले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले यस्तो गुनासो गरेका हुन् । सो अवसरमा डिलर तथा ठूला व्यवसाय सञ्चालनमा गरिएको लगानीसमेत नाफामुखी नहुँदा व्यवसाय धराशयी हुँदै गएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे ।
बारम्बार हुने बन्द, हड्ताल र चाडपर्व लगायतका कारणले व्यवसायमा गरिएको लगानी सुरक्षित नभएको सामसुङ मोबाइलको डिलरका सञ्चालक हरि विष्टले बताए । ‘चाडपर्वकै समयमा उत्पादक कम्पनीले सम्झौता मिच्दै सामान पठाउँछ ।’ उनले भने, ‘अफ सिजनमा माग भन्दा बढी सामग्री आउँदा मूल्यसमेत पाउँदैन् ।’ उत्पादक कम्पनीले
व्यापारीसँगको सामानलाई ख्याल नगरी हुने मूल्य घटबढका कारण व्यावसायबाट लाभ लिनसक्ने अवस्था नरहेको बताइएको छ । सरकारको नीति कमजोर हुँदा डिलरहरूको मनपरीमा मूल्य घटाउने, सम्झौता अनुसार काम नगर्दा व्यवसायिक लगानीमा थुप्रै चुनौती थपिएको उनले बताए ।
उनले बैंकहरूको व्यवसायिक लगानीमैत्री नीति नभएकाले पनी व्यवसायीले ऋणको भारी भोग्नु परेको बताए । चर्काे मूल्यमा लिइएको ऋण लगानी गर्न नपाउँदै बैंकले गर्ने ताकेताबाट व्यापारीहरूले हैरानी व्यहोर्नु परेको उनीहरू बताउँछन् । कार्यक्रममा बैंकर्स एशोसियशन सुर्खेतका अध्यक्ष पदम धानुकले बैंकहरूको निक्षेप बढेकाले व्याजदर पनि महँंगिदै गएको बताए । सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गत राजस्व परामर्श तथा व्यापार प्रबद्र्धन समितिको आयोजनामा भएको अन्तरक्रियामा उनले ऋण लगानीलाई सुरक्षित बनाउन नीति नियम अनुरूप आफ्ना गतिविधि सञ्चालन गरेको बताए । वित्तीय संघ÷संस्थाबाट लगानी भएको व्यवसायबाट लिइएको उद्यारोको ग्यारेन्टी बैंकले लिन नसक्ने उनको भनाइ छ ।
पछिल्लो समय राज्यको नीति मिचेरै कर छलि बढेको करदाता सेवा कार्यालयका कर अधिकृत यज्ञराज ढकालले बताए । पसल दर्ता नगरी सञ्चालन गर्ने, पाना नम्बर भएको बीलको प्रयोग नगर्ने जस्ता काम व्यापारीबाट हुने गरेको उनले बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका कार्याबहाक अध्यक्ष प्रकाश उप्रेतीले व्यवसायीका साझा मुद्दाबारे सरकारको नीति नै दोषी रहेको बताए । देशको झण्डै आधा अर्थतन्त्रलाई मजबुत बनाउने उद्योग र कलकारखानमा सरकारले लगानी संकुचित पार्दा व्यवसायीहरू सुरक्षित नभएको उनको भनाइ छ । यसका लागि उनले अब राज्यले नै लगानी सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः   २५ कार्तिक २०७४, शनिबार १३:००