अनुभूति हुनेगरी विकास हुन्छः थानी

साझा बिसौनी संवाददाता
सुर्खेत, २४ कार्तिक ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले कांग्रेसले अब हुने निर्वाचनमा आफू विजयी भएमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास गर्ने प्रतिबद्धता जनाएका छन् । सुर्खेत क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका थानीले शुक्रवार बेतानमा भएको चुनावीसभामा विकास निर्माणलाई कांग्रेसले जहिले पनि उच्च प्राथमिकतामा राखेको भन्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘विकास निर्माण गर्ने इच्छाशक्ति र सामथ्र्य अरुसँग छैन’ उनले भने, ‘जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासको काम कांग्रेसले नै गर्छ ।’ पछिल्लो समय बनेको वाम गठबन्धनप्रति कटाक्ष गर्दै नेता थानीले गठबन्धनकै भरमा चुनाव जित्ने आशमा मुख नमिठ्उन सुझाव
दिए । विगतका सबैखाले निरंकुशताको अन्त्य गर्दै मुलुक समृद्धितिर बढिरहेका बेला वाम गठबन्धनका नाममा अर्को निरंकुशता ल्याउने तयारी गरिएको आरोप पनि उनले लगाए ।
यस्तै सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले पनि आफूले सुरु गरेका विकास निर्माणका कामलाई तीव्रता र पूर्णता दिने जिम्मेवारी सुम्पन आग्रह गरेका छन् । यसैगरी पूर्वमन्त्री शिवराज जोशीले अबको चुनाव लोकतान्त्रिक शासन र एकदलीय कम्युनिष्ट शासन व्यवस्थाबीचको जनमत संग्रह भएको टिप्पणी गरे । ‘राजनीतिक स्थिरता भए मात्रै विकास हुने भए पञ्चायतकाल र राणाकालमा किन भएन ?’ वाम गठबन्धनप्रति संकेत गर्दै उनले भने, ‘विकास जहिलेसुकै लोकतान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ ।’
प्रदेशसभाका समानुपातिक उम्मेदवार यज्ञबहादुर बिसीले अहिलेको लडाईं लोकतन्त्रवादी र साम्यवादीबीचको लडाईं भन्दै जनताको अधिकार र विकासका लागि लोकतन्त्रवादीलाई चुन्न आव्हान गरे । पार्टी सचिव टोपबहादुर रावतले हालसम्मका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानका लागि पनि लोकतन्त्रवादीको जीत अपरिहार्य रहेको टिप्पणी गरे ।
बेतान–३ का पार्टी सभापति धनबहादुर सलामीको सभापतित्वमा भएको कार्यक्रममा, नेपाल महिला संघका केन्द्रीय कोषाध्यक्ष जानका सिंह, पूर्व पार्टी सचिव पदमदेव गिरीलगायतले भनाइ राखेका थिए ।

प्रकाशित मितिः   २५ कार्तिक २०७४, शनिबार १२:५८