सुर्खेतलाई राजधानी बनाउने एजेण्डा हाम्रो होः कँडेल
साझा बिसौनी संवाददाता
सुर्खेत, २४ कार्तिक ।
सुर्खेत निर्वाचन क्षेत्रनम्बर दुई अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार यामलाल कँडेलले सुर्खेतलाई प्रदेश नं. ६ को राजधानी बनाउने एजेण्डा नै नेकपा एमाले र माओवादी केन्द्रको भएको बताउँदै त्यसलाई साकार बनाउनका लागि साथ दिन सबैसँग आग्रह गरेका छन् । उनले आफूहरूसँग सुर्खेतसहित प्रदेश नं. ६ लाई नै समृद्ध र सम्पन्न बनाउने कार्ययोजना भएकाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएर उक्त योजना कार्यान्वयन गर्ने अवसर प्रदान गर्न मतदातासँग आग्रह गरेका हुन् ।
उनले विकसित प्रदेश निर्माणका लागि आफूहरूलाई भोट दिन अनुरोध गरे । आफू लगायत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले वीरेन्द्रनगरलाई सुन्दर र विकसित प्रादेशिक राजधानी बनाउने गरी काम गर्ने पनि उनले बताए । कतिपय दलले निर्वाचनलाई नै केन्द्रित गरी गाउँघर डुल्ने र आश्वासन बाँड्ने गरेकोप्रति लक्षित गर्दै कँडेलले आफूहरूले एक वर्षअघि नै प्रदेशको विकासका लागि स्पष्ट खाका सार्वजनिक गरिसकेको बताए । अब त्यही खाका अनुसार काम गर्नेगरी आफूहरूलाई मौका दिन कँडेलले अनुरोध गरे ।
प्रदेशनम्बर ६ को पहिलो मुख्यमन्त्रीको प्रमुख दावेदारको रूपमासमेत हेरिएका कँडेलले सम्भावना नै सम्भावना भएको यस प्रदेशलाई पाँच वर्षभित्र विकसित र अरु प्रदेशभन्दा धनी प्रदेश बनाउने बताए । अहिले आफूले घोषणापत्रमार्फत् सार्वजनिक गरेका योजनाहरू पाँच वर्षभित्रै जनताले हिसाब–किताब गर्नेगरी पूरा गर्ने दृढतासमेत कँडेलले व्यक्त गरे । पूर्व पर्यटनमन्त्रीसमेत रहेका उनले अब नेपालका स्थानिय, प्रदेश र केन्द्रीय सरकार कम्युनिष्टकै बन्ने बताए । त्यसका लागि वाम गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचनमार्फत् विजयी गराउन उनले मतदातासँग अपिल गरे । कँडेलले अहिले दुईवटा पार्टीको गठबन्धन भए पनि निर्वाचनपछि पार्टी नै एउटा बन्ने भएकाले ढुक्कसँग मतदान गर्न आव्हान गरे । उनले विगतमा आफूले निर्वाचन जित्दा पनि र पराजय व्यहोर्दा पनि नियमित जनताकै माझमा रहेको र आगामी दिनमासमेत सेवा गर्ने मौका दिन आग्रह गरे ।
साझा बिसौनी संवाददाता ।