‘विवाहको प्रस्ताव राख्नै दुई वर्ष लाग्यो’
थीरबहादुर शाही भारतीय सेनामा कार्यरत थिए । समय समयमा बिदा मिलाएर नेपाल आइरहने उनी असल जीवनसाथी भेटाएपछि विवाह गर्ने सोचमा थिए । उनी आफ्नी दिदी लक्ष्मी मल्ललाई भेट्न गइरहन्थे । दिदीलाई भेट्न जाँदा पहिलो पटक पवित्रालाई उनले देखे । ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो । पवित्रा उनको दिदीको असाध्यै मिल्ने र सँगै पढ्ने साथी थिइन् । पवित्राको आनीवानी, व्यवहार, मेहेनती र परिश्रमी स्वभावले शाहीलाई मोहित बनायो । पवित्रा त्यस समयमा सुर्खेतमा बसेर पढ्थिन् । बोडिङ्गमा पढाएर आफ्नो पढाइ खर्च जुटाउने गर्थिन् । पढाइप्रतिको त्यो लगाव र मेहेनती स्वभाव शाहीलाई मनप¥यो ।
त्यसपछि शाहीले पवित्रालाई चिठ्ठी लेख्न सुरु गरे । त्यस समयमा टेलिफोन, फेकबुक थिएन । शाहीको चिठ्ठीको जवाफ भने पवित्राले पठाइनन् । हप्तामा पवित्राको हातमा एउटा चिठ्ठी पुगेकै हुन्थ्यो । पछि–पछि पवित्राले पनि चिठ्ठीको उत्तर लेखेर पठाउन सुरु गरिन् । दुवैले एकअर्काेको बानी व्यवहार अलि–अलि भए पनि थाहा पाइसकेका थिए । दुवै जनाले चिठ्ठी आदान–प्रदान गरे पनि विहेको कुरा भने भएको थिएन । शाहीलाई प्रत्यक्ष रूपमा पवित्रालाई भेटेर बिहेको कुरा गर्न दुई वर्ष लाग्यो ।
पवित्रा पढाइमा धेरै मेहेनत गरेर पढिरहेकी थिइन् । पढाइ बाहेक उनलाई बाहिरी कुराको वास्ता थिएन । जसरी हुन्छ पढ्नुपर्छ भन्ने सोच थियो । उनको पढाइप्रतिको लगाव उनले गरेको मेहेनतले नै शाहीलाई प्रभावित बनाएको थियो । पवित्रालाई भेटेपछि शाहीलाई लाग्यो यत्तिको केटीलाई जीवनसाथी बनाएँ भने जीवनको बगैंचालाई सुन्दर बनाउन सकिन्छ । त्यसैले पनि पवित्रासँग बिहे गर्ने सोच बनाए । एकअर्काेमा चिठ्ठी आदान प्रदान मात्र भए पनि दुई वर्षपछि मात्र शाही पवित्राको घरमै गएर पवित्रासँग विहेको प्रस्ताव राखे ।
तर यता शाहीको घरमा भने घरपरिवार विरोधमा थिए । पवित्रा गिरीको छोरी अन्तरजातीय विवाह गर्न हुँदैन भन्ने पक्षमा शाहीको घरपरिवार थिए । त्यतिबेला घरको जागिरे छोरा थीरबहादुर नै थिए । छोराको विरोध गर्दा छोरा नै टाढा होला भन्ने डरले पनि घरपरिवारले पछि मात्र सहमति जनाए । त्यस समयमा शाहीको गाउँमा धेरै पढेलेखेकी बुहारी पवित्रा मात्र थिइन् । छोराको जागिर र पढेलेखेकी बुहारी भएकाले पनि उनीहरूको घरपरिवारले पवित्रालाई स्वीकार गरे । उनीहरूले २०५० सालमा विवाह गरे । विवाहपछि पवित्रालाई आफू बुहारी हुँ भन्ने अनुभव नै भएन । बिहेको हप्ता दिनमा नै उनी वीरेन्द्रनगर पढ्नको लागि फर्किन् । घरमा कहिले काहीं जाने आउने हुँदा घरपरिवार सबैको माया ममता पनि उनले पाइन् ।
पिता प्रताप गिरी र माता कौशीला गिरीको कोखबाट २०२९ सालमा दैलेखमा जन्मिएकी पवित्राको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा बिहान बेलुका बाख्रा चराउने र दिउसोमा स्कुल पढ्न जाँदैमा बित्यो । पवित्रा बाल्यकालदेखि नै कसैको दुःख देख्न नसक्ने, कसैलाई आपत विपत प¥यो भने पनि सहयोग गर्न पुगी हाल्ने, कसैलाई भेद्भाव नगर्ने स्वभावकी थिइन् । बाल्यकालदेखि नै समाज सेवा गर्ने उनको रुची थियो । दैलेख बजार नजिकै स्कुल भए पनि गाउँको स्कुलमा पढाइ राम्रो हुन्छ भनेर दैनिक डेढ घण्टाको बाटो हिँडेर स्कुल पढ्न जाने गर्थिन् । एसएलसी पास दैलेखबाट गरेकी पवित्राले एमएड पास भने सुर्खेत शिक्षा क्यापसबाट गरिन् । समाजसेवा गर्न मन पराउने पवित्रा अहिले आवाज संस्थामा आवद्ध छिन् । बिहानको समयमा उनी सुर्खेत शिक्षा क्यापसमा पनि अध्यापन गराउने गर्छिन् ।
बिहानीको समय पवित्रा आफ्नो काममा व्यस्त हुर्छिन् । शाही भने घरको सबै काम गर्छन् । यो जोडी एकआपसमा जसले जे काम देख्यो त्यो काम गरिहाल्छन् । शाहीले घरमा माछा पालन, कुखुरा, मौरीपालन र फूलबारी बनाएका छन् । बिहान र साँझको समय शाही आफ्नै घरको काममा व्यस्त हुने गर्छन् । पवित्रा भने आफ्नो अफिसको काममा व्यस्त हुर्छिन् । दुवै जना आ–आफ्नो काममा व्यस्त भए पनि हरेक काम गर्दा एकआपसमा सल्लाह भने गर्ने गर्छन् ।
पिता टेकबहादुर शाही र माता भुवनसरी शाहीको कोखबाट २०२९ सालमा सुर्खेत लेखगाउँमा जन्मिएका थिरबहादुर शाहीको बाल्यकाल कष्टकर थियो । घरको आर्थिक अवस्था सामान्य नै थियो । चार घण्टाको बाटो हिँडेर स्कुल पढ्न जानुपथ्र्यो । बिहान बेलुका घरको काम गर्नुपथ्र्यो । बचेको समयमा मात्र पढ्न पाइथ्यो । शाही कक्षा नौमा पढ्दै थिए । इण्डियन आर्मी हुनका लागि उनी भारत गए । बीचमा उनको पढाइ रोकियो । २०४६ सालमा इण्डियन आर्मीमा भर्ती भए । आर्मी भित्रबाट नै उनले कक्षा १२ पास गरे ।
बाल्यकालमा उनलाई समाज सेवामा लाग्ने इच्छा भए पनि समाज सेवा पनि पैसा भए मात्र हुने रै’छ भन्ने लाग्ने गथ्र्यो । बिहेपछि शाहीलाई पनि पवित्रा जस्तै समाज सेवामा लाग्नुपर्छ भन्ने लाग्यो । बिहेपछि पवित्रा पनि शाहीसँगै भारतमा डेढ वर्ष बसिन् । भारतमा बस्दा भारतका विभिन्न ठाउँमा सँगसँगै घुमे । शाही आर्मीबाट अवकाशमा निस्केपछि सुर्खेतमा होटेल सञ्चालन पनि गरे । सबै कामको अनुभव बटुलेका शाही अहिले स्थानीय तहबाट जननिवार्चित प्रतिनिधि हुन् । उनको समाजसेवा गर्ने बाल्यकालको सपना अहिले पूरा भएको छ ।
यो जोडीले जीवनमा धेरै संघर्ष, मेहेनत र परिश्रम गरेरका कारण सफल भएका छन् । उनीहरू भन्छन्, ‘मान्छेको जीवन भगवान्ले दिएको बगैंचा हो त्यसलाई कसरी गोडमेल गर्ने भन्ने कुरा स्वयम् व्यक्तिमा भरपर्ने कुरा हो हामीले त्यो बगैंचालाई गोडमेल गर्न मेहेनत र परिश्रम ग¥यौं र जीवनलाई सुन्दर बगैंचा बनायौ ।’ जीवनमा दुःख सबैसँग हुन्छ त्यो दुःखलाई मेहेनत र परिश्रममा परिनत गर्न नसके जीवन सफल हुन नसक्ने यो जोडीको भनाइ छ । उनीहरू एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । शाहीलाई पवित्राको समाजवसेवा गर्ने, आफ्नो सानो सहयोगमा अरुको खुशी देख्ने स्वभाव र साधा जीवन उच्च विचार मनपर्ने गर्छ । पवित्रालाई लाउन खानाको शोख भन्दा पनि दुखी, असाय, अशक्तलाई सहयोग गर्न पाएको भए हुन्थ्यो भन्ने लाग्ने गर्छ । उनलाई आफूले राम्रो लगाउने भन्नेतिर ध्यान जाँदैन । पवित्रालाई पहिले लगाउने कपडादेखि काटा, टिकुली समेत शाहीले नै किनेर ल्याइ दिने गर्थे । पवित्रा भन्छिन्, ‘पहिले त उहाँले मलाई कपडा मात्र होइन सबै चिज किनेर ल्याइ दिनु हुन्थ्यो अहिले अलि व्यस्त भएका कारण म आफै किन्छु ।’
पवित्रालाई शाहीको घरको सबै काम मिलेर गर्ने, जे काम गरे पनि मनदेखि नै गर्ने बानी मनपर्ने गर्छ । बाहिरी भन्दा घरको काममा बढी समय दिने, कसैले गल्ती भयो है भनेर भन्यो भने त्यसको महसुस गर्ने बानी मनपर्ने गर्छ । उनले भनिन्, ‘घरको काम श्रीमतीले गर्नुपर्छ भन्ने स्वभाव उहाँमा छैन, सबै काम मिलेरै गछौं ।’
उनीहरू जीवनसाथीलाई दुःख सुखको साथीको रूपमा बुझ्छन् । जीवनसाथी भइसकेपछि एकअर्काेको सुख दुःखमा हात नछोड्ने र साथ दिने साथी हुनुपर्छ । यो जोडी पनि दुवैको हात समाएरै एकअर्काेको साथ र सहयोगमा नै सफल जोडी बनेका छन् । उनीहरूलाई लाग्ने गर्छ एकअर्काेबीचमा विश्वास, समmभदारी र शंका नभएमा दाम्पत्य जीवन सफल बनाउन सकिन्छ । एक रथका दुई प्राङ्गा भने जस्तै यो जोडी पनि एकअर्काेको सहारा र साथ सहयोगमा नै समाजमा सफल जोडीको रूपमा स्थापित भएका छन् । दुवै जना समाजसेवामा जुटेका र आफ्नो भन्दा समाज परिवर्तन गर्नुपर्छ भन्ने सोच र भावना भएका यो जोडीलाई समाजले पनि सफल जोडीको रूपमा लिने गर्छ ।
साझा बिसौनी संवाददाता ।