हतियार बुझाउन प्रशासनको आग्रह

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ कार्तिक ।
निर्वाचनको मिति नजिकिदैं गर्दा प्रशासनले हतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कानुन अनुसार अनुमति लिएर हतियार राखेका व्यक्तहरूलाई तत्काल आफूसँग भएको हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो ।
निर्वाचनको सुरक्षामा चुनौती हुनसक्ने भन्दै प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । प्रशासनले बिहीवार सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत प्रयोजनका लागि कानुन बमोजिम राखिएका हतियार निर्वाचन अवधिभरका लागि बुझाउन भनेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै बन्दुक र पेस्तोल जस्ता हातहतियार यही कार्तिक मसान्तभित्र बुझाउन निर्देशन दिएको छ ।
चुनावी सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरूसँग रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले बताए । सुरक्षाको काममा खटिएका सुरक्षाकर्मीहरूले कानून बमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि व्यक्तिले विष्फोटक पदार्थ, रसायनिक तथा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक र पेस्तोल जस्ता हातहतियार प्रयोग गर्न निषेध गरिएको प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७४, शुक्रबार १५:१३