एकपटक अवसर दिनुस्ः रावत
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ कार्तिक ।
सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज रावतले मतदाताहरूसँग यसपटक आफूलाई अवसर दिन आग्रह गर्दै जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बराताल गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बिहीवार बड्डिचौरमा भएको भेलामा रावतले आफूले अवसर पाएमा मतदातालाई निराश नपार्ने बताएका हुन् । ‘मलाई राम्रोसँग थाहा छ यहाँका नागरिकले के चाहनुभएको छ’ रावतले भने, ‘मलाई मतदान गरी विजयी गराउनुभयो भने म उहाँहरूका ती सबै चाहनाहरू पूरा गर्न तयार छु । त्यसैले यहाँका सबै मतदाताहरूले यसपटक मलाई मतदान गरी उहाँहरूको अपेक्षा पूरा गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा मैले गरेको छु ।’
रावतले पश्चिम सुर्खेतको विकासका लागि पनि आफूले यसपटक जित्नैपर्ने दाबी गरे । यसअघि पटक–पटक अरुलाई जिताउँदा यो क्षेत्र विकासमा निकैपछि परेको भन्दै उनले अब पश्चिम सुर्खेतको विकासका लागि आफ्नो जीत अनिवार्य भएको बताए । ‘विगतमा तपाईंहरूले जिताएका प्रतिनिधिहरूले यहाँको विकासका लागि कति काम गरे त्यसको मूल्यांकन गर्नुस्’ रावतले मतदाताहरूसँग अनुरोध गरे, ‘अझ पनि उनीहरूलाई नै जिताउनुभयो यहाँका समस्या जस्ताको त्यस्तै रहनेछन् । त्यसैले अब यस क्षेत्रको नेतृत्व गर्ने अवसर मलाई दिनुस्, म समृद्ध क्षेत्र बनाएर दिनेछु ।’
भेलाबाट बराहताल गाउँस्तरीय निर्वाचन परिचालन कार्ययोजना निर्माण समेत गरिएको छ । प्रत्येक वडास्तरीय भेला तथा कार्यक्रम गर्ने, युवा र महिलाहरूलाई प्रचार–प्रसारमा परिचालन गर्ने तथा घरदैलो गर्ने लगायतका कार्यक्रम तयार पारिएको हो । भेलामा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिवालय सदस्य घनश्याम पाण्डे, नेता ताराकेशर गौतम, माओवादी केन्द्रका ईश्वरभक्त सुनार, भूमिसरा विक लगायतले सम्बोधन गरेका थिए ।
साझा बिसौनी संवाददाता ।