आठबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो
सुर्खेत, २३ कार्तिक । (साबिस)
संविधानले प्रदान गरेका शैक्षिक हकलाई कार्यान्वयन गराउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) सुर्खेतले बिहीवार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । नेपालको संविधानमा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएका हकहरूको कार्यान्वयन हुन नसकेको भन्दै अखिल क्रान्तिकारीले यथाशीघ्र कार्यान्वयनका लागि पहल चाल्न ज्ञापनपत्रमार्फत् आग्रह गरेको छ ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश जिसीद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा स्थानीय तह र प्रदेशमार्फत् सिंहदरबारको
अधिकार गाउँगाउँमा पुगेको महसुस गराउनका लागि संविधानले प्रदान गरेका मौलिक हकहरूको कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख गरिएको छ । ज्ञापनपत्रमार्फत् संविधानमा व्यवस्था भए अनुसार आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा पनि निःशुल्क गरिनुपर्ने, संगठन र शिक्षा विभागबीच भएको सहमति अनुसार २० प्रतिशत छात्रवृत्ति ग्यारेन्टी गरिनुुपर्ने, निजी शैक्षिक संस्थाहरूमा शुल्क बृद्धिको सम्बन्धमा अनुगमन गरी उचित व्यवस्थापन गर्नुपर्ने माग राखिएको छ । त्यस्तै, बाढीबाट क्षतिग्रस्त भएका शिक्षण संस्थाहरूको अवस्था बुझी पुनर्निर्माण गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमार्फत राखिएको छ ।
साझा बिसौनी संवाददाता ।